वनमन्त्रीको आडमा माओवादी नेताद्धारा वनको जग्गा अतिक्रमण

धरान । एक उद्योगले अतिक्रमण गरी भोगचलन गरिरहेको सामुदायिक वनको जग्गामा एमाओवादी र नेकपा–माओवादीका नेताहरुले पुनः अतिक्रमण गरेर घर–टहरा बनाएका छन् । धरान १५, महादेवचोकस्थित हिमाली डिष्टिलरी उद्योग प्रालिले उपभोग गरिरहेको जग्गामा एमाओवादीका नेता मुक्साहाङ मेन्याङ्बो र नेकपा–माओवादीका नेता शिशिर राईलगायतले घरटहरा बनाएपछि वन समुहले विरोध जनाएको छ ।
आफ्नै पार्टीका नेता वनमन्त्री भएको आडमा एमाओवादी नेताहरुले गैरकानुनीरुपमा जग्गा अतिक्रमण गरेको वन समुहको आरोप छ । बाँझगरा वन उपभोक्ता समुहले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला वन कार्यालय, वन उपभोक्ता महासंघलगायतमा निवेदन दिएर भत्काउने तयारी गरेको छ । समुहले प्रशासनसँग सुरक्षाको मागसमेत गरेको छ । वन समुहबाट विरोध हुन थालेपछि भने माओवादी नेताहरुले समुहका पदाधिकारी, जिल्ला वनलाई बस्न पाउनुपर्ने भन्दै चर्को दबाब दिइरहेका छन् ।
वन समुहका अनुसार उद्योगले वन क्षेत्रको करिब साढे ५ कट्ठा जग्गा अतिक्रमण गरी भोगचलन गरिरहेको छ । लाहुरे रम उत्पादन गर्ने यो उद्योग ०४७ सालमा स्थापना भएको थियो । राजश्व छलीको मुद्दा परेपछि उद्योग लामो समयदेखि बन्द अवस्थामा छ । उद्योगबाट वनको जग्गा फिर्ता गराउने पहल भइरहदा माओवादी नेताहरुबाटै अतिक्रमण भएपछि उपभोक्ता समुहमा तीब्र असन्तुष्टी र आक्रोश छ । माओवादी शान्ति प्रक्रियामा आएपछि बन्द उद्योगमा एक दशकअघि माओवादीको वाईसिएलले क्याम्प खडा गरेको थियो भने पछिल्लो समय एमाओवादी नेता मुक्साहाङ, नेकपा–माओवादीका कोचिला बिशेष कमिटि सदस्य शिशिरसहित ५ परिवार बस्दै आएका छन् । कर फछ्यौट गरेर मुद्दा किनारा लगाइसकेको हुनाले उद्योग पुनः सञ्चालनमा आउने भएपछि ती परिवार उद्योगले भोगचलन गरिरहेको वनको खाली जग्गामा घरटहरा बनाई सर्न लागेको हो ।
‘उद्योग खुल्दा नै वनको खाली जग्गा पनि कम्पाउण्ड वाल लगाएको रहेछ, ०६२/०६३ मा वन हस्तान्तरण हुदा मात्रै थाह भयो । राजश्व विभागले उद्योग सिलबन्दी गरेकोले कम्पाउण्ड वाल भत्काउन सकेको थिएनौं’–बाँझगरा वन समुहका अध्यक्ष राजन योञ्जनले भने–‘अहिले एमाओवादी नेताहरुबाटै फे िअतिक्रमण शुरु भयो । जुनै पार्टीको नेता भएपनि वनको जग्गा अतिक्रमण गर्न पाइदैन, हामी यसको विरोधमा छौं ।’ जिल्ला प्रशासन, वन कार्यालयमा डेलिगेशन गएको थाह पाएपछि एमाओवादी नेताले ‘सरकारसँग हामी लड्छौं, वन समिति चुप लागिदिनुस’भन्दै दबाब दिएको अध्यक्ष योञ्जनले बताए । समुहका सहसचिव कुमार भारतीका अनुसार एमाओवादी नेताहरुले अतिक्रमण गरेको थाह पाएपछि रुष्ट बनेको अन्य राजनैतिक दलले खाली नगराएर आफुहरु पनि बस्ती बसाउने भन्दै चर्को दबाब आइरहेको छ ।
नेताहरुले खाली जग्गामा जस्तापाता प्रयोग गरी एउटा घर ठड्याई सकेका छन् भने अन्य ५ वटा टहरा निर्माणको क्रममा छन् । उद्योगको पुर्वपटिको कम्पाउण्ड भत्काएर गेट बनाएको छ भने गिटी विछ्याएर बाटो पनि बनाएको छ । जस्ता बारेर ठडिएको घरमा विजुलीसमेत जडान भइसकेको छ । ज्योति लिम्बुको नाममा चैत २ गते विजुलीको मिटर जडान भएको देखिन्छ । ज्योति एमाओवादी नेता मुक्साहाङकी श्रीमति हुन् । मुक्साहाङ गएको संविधानसभा निर्वाचनमा एमोओवादीबाट सुनसरी क्षेत्र नम्बर १ मा पराजित भएका थिए ।

एमाओवादी नेता मुक्साहाङले उद्योगसँगको सहमतिमा बसेको जिकिर गर्दै जग्गा कस्को हो भन्ने आफुलाई थाह नभएको बताए । पार्टीका नेता वनमन्त्री भएको आडमा टहरा बनाएको आरोपलाई गलत भन्दै उनले भुकम्प आएको बेला उद्योगको भवन भत्कने डरले खाली जग्गामा टहरा बनाएको बताए । नेकपा–माओवादीका नेता शिशिरले सरकारी जग्गा वनकै मिलेमतोमा उद्योगले उपभोग गर्दा कसैले विरोध नगरेको तर आफुहरुले भुमिहिनलाई उपलब्ध गराउदा भने विरोध भएकोमा आक्रोश पोखे । ‘हामी त कोठा लिएर सरिहाल्छौं, भुमिहिन मान्छेलाई दिदा के अपराध भयो ?’–उनले भने–‘हामीले सुकुम्बासी दर्ता गरिसकेका छांै, खानेपानी र विजुली आइसकेको छ । कस्ले हटाउछ ?’
उद्योगका प्रबन्ध निर्देशक रोमन कार्कीले केही सार्वजनिक जग्गा परेको स्वीकार गर्दै उद्योगले कसैलाई पनि घरटहरा बनाएर बस्ने अनुमति नदिएको र त्यसरी बस्न नपाउने बताए । जिल्ला वन अधिकृत राजेन्द्र निरौलाले सरकारको निर्णयविना वा धनीपुर्जाविना कसैले पनि ऐलनी, वनको जग्गा उपभोग गर्न नपाइने बताए । ‘पहिला उद्योगले अतिक्रमण गरेको रहेछ, अहिले माओवादी कार्यकर्ताहरुले घरटहरा बनाउन थालेका रहेछन् । यस्तो कसैलाई गर्न छुट हुदैन’–डिओफो निरौलाले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे