भर्जिन गोर्खाज ट्रेल(फोटोफिचर)
‘भाञ्जा, भर्जिन ट्रयाक छ, जानुपर्छ है कन्या भिर ।’ करिब एक महिनाअघि भुपु ब्रिटिश लाहुरे मामा(रमेश राई)को आग्रह थियो । घुमफिर गर्न रुचाउछु । उनको आग्रह सहर्ष स्वीकारे । त्यसपछि मामा दुई पटक कन्या भिर उक्लिसकेछन् । मेरो समय नै मिलेन । कन्या भिर धरानदेखि पश्चिम उत्तरमा अवस्थित महाभारत पर्वत श्रृंखला हो । हतपत्त कोही पनि नहिडेको भिर । त्यही भएर नाम कन्या भिर भएको रे । सैनिक भवनमा भेट हुदा रमेश मामाले यसै भनेका थिए । पदमार्गको नाम पनि त्यतिबेलै सुनाएका, गोर्खाज ट्रेल ।
भुपु लाहुरे मामाहरुसँग चैत २० गते शनिबार पदयात्रा(गोर्खाज ट्रेल) जाने मौका मिल्यो । त्यतिबेला भने रमेश मामा छुटे । भञ्ज्याङमा ल्याण्ड रोभरबाट उत्रिएर शिक्षक ओम सुच्चा राईको घरमा छिर्यौं । उनले घरमै सामान्य होटल चलाएका छन् । ओम सरले आँगनबाटै देखाइदिए, ‘तपाईहरुले ऊ त्यो डाँडा चढ्नुपर्ने ।’ भञ्ज्याङबाट ठ्याक्कै उत्तरपटि अग्लो डाँडा रहेछ । हाम्रो गन्तव्य भने झण्डी डाँडा थियो । कन्या भिर(डाँडा) उक्लिएर अझै उता जानुपर्ने । भञ्ज्याङबाट झण्डी डाडा नदेखिने । टोली नेता गजेन्द्र इस्पो दाईले त्यसो भन्दा मन रोमाञ्चित भयो ।
धरानलाई लाहुरेको शहर भनिन्छ । आधुनिक अनि सुन्दर धरानको निर्माणमा लाहुरेहरुको योगदान छ । आवासिय भिषाले अधिकांश भुपु लाहुरेहरु बेलायत भासिदा अचेल लाहुरेको संख्या घटेको छ । तर, केही लाहुरेहरु छन्, जो बेलायतको भौतिक सुखलाई माया मारेका छन् । तिनै अगुवा भुपु लाहुरेहरु हाल धरान २६, विष्णुपादुकास्थित माछामारा डाँडालाई पर्यटकीयस्थल बनाउदैछन् । त्यहाँ ब्रिटिश गोर्खा स्मृति पार्क बन्दैछ । यो पार्क गोर्खाहरुको इतिहास अध्ययन थलो र पर्यटकीय केन्द्र बन्ने आशा छ । ०६५ सालदेखि निर्माण शुरु भएको । बाह्र बिघा क्षेत्रफल । पार्क बनिसकेकै छैन । त्यहाँ घुम्न जाने क्रम भने शुरु भइसक्यो । भञ्ज्याङमा खुलेका होटल, पसलहरुलाई फाइदा हुन थालिसक्यो । ‘पार्क बनेपछि बाटो बन्यो । खानेपानी आयो, मान्छेहरुको आउ जाउ हुन थाल्यो’–ओम सर जस्तै अरु पनि खुशी छन् । अचेल गाउँघर, डाँडापाखा तिर घुम्न जाने चलन पनि बढ्दैछ । गाउँलेहरु पनि पर्यटनलाई विस्तारै बुझदैछन् । पार्क निर्माण समितिले चैत २० मा पर्यटन विकासको लागि पदयात्रा कार्यक्रम आयोजना गरेको थियो ।
टोली नेता गजेन्द्र इस्पोसँगै भुपु लाहुरेहरु सिंहबहादुर लिम्बु, टिकमणी राई, टिकासिं लिम्बु, बाबुराम लिम्बु थिए । लाहुरे परिवारबाट सुवित्रा राई, चन्द्रमाया लिम्बु र देविका राई । कियाचु पुर्नजीवन केन्द्रका विजय लिम्बु, एक्स्ट्रीम धरानका दाई देवेन्द्र लिम्बु पनि थिए । विष्णुपादुका गाविसका पुर्वअध्यक्ष मणीराम राई र स्थानीय युवा कृषक पदम लिम्बु पनि पादयात्रामा मिसिए । झण्डै दुई दर्जनको संख्यामा ५ जना पत्रकार थियौं । ओम सरको घर(होटल)को थुक्पा साह्रै मिठो । पानी, स्याउ, जुस झोलामा समेटेर भञ्ज्याङबाट बाटो तताउदा बिहानको साढे ७ बजिसकेको थियो ।
पत्रकार साथी भोजराज श्रेष्ठ झण्डी डाँडा गइसकेका थिए । सबैले उनलाई पछ्याउन थाल्यौं । कोका खोलामा पानी छैन । ढुंगा टेक्दै पार गर्यौं । अनि, चढ्यौं छुमालाको उकालो । कोही अघि भए, कोही पछि । म र साथी दिनेश गजमेर भिडियो, फोटो खिच्दै हिड्यौं । छुमाला जति उक्लिदै गयो, त्यति नै भञ्ज्याङ, माछामारा डाँडा, भालढुंगा गाउँ अनि धरान, चारकोसे जंगलको फराकिलो दृष्य देखिने । मजाले हेर्यौं । धरानबाट नजिकै भएर पनि पहिलो पटक हिड्दै गरेको ठाउँ । विल्कुल ग्रामिण परिवेश । बुबा जन्मेको पहाड गाउँ भोजपुरको याङपाङ र मावला साम्पाङ जादाको स्मृति गरायो । कोही आँगनमा काठ दाउरा मिलाउदै गरेका । कोही भिरालो जमिनमा हलो जोत्दै, कोही मकै छर्दै गरेका भेटिए । मणीराम दाई र पदम लिम्बुलाई सबैले भन्थे, ‘पल्टनै लिएर हिड्नु भाछ, ठुलै पार्टी छ कि ?’ हामी भन्थ्यौं, ‘होइन माथी डाँडासम्म घुम्न निस्केका ।’ गाउँलेहरु अचम्म मान्थे ।
पुर्व गाविस अध्यक्ष मणीराम दाईका अनुसार माछामारामा गोर्खा स्मृति पार्क बन्न थालेपछि स्थानीयको घडेरी जोगाउनै हम्मे छ । जग्गा व्यापारीहरुले माछामारा डाँडा, भञ्ज्याङ छेउछाउ धेरै जग्गा किनिसकेका छन् । केही दाम पाउनासाथ स्थानीय गाउले पनि बिक्री गरिहाल्ने । भविष्यमा पछुताउनु पर्छ । हामी सबै चिन्तित बन्यौं । जग्गा व्यापारीहरुले डाँडापाखा, खोलाको बगर जतै पनि पैसा खन्याएकै छन् । राम्रो उब्जाउ हुने खेती पनि प्लटिङले बिगारेको छ । विष्णुपादुकामा जग्गा व्यापारी घुसे पनि प्लटिङ चै शुरु गरिहालेको रहेनछ ।
युवा कृषक पदम लिम्बुका अनुसार विष्णुपादुकामा पहिला अदुवा र अकबरे खुर्सानी अत्यधिक उत्पादन हुने सुनाए । अचेल भने प्रायः सबैले अम्रिसो खेती गर्छन् । अदुवा खेती कम भएको छ । अम्रिसो कुचो बनाएर बिक्री हुने । खसी बाख्रालाई घाँस पनि हुने । अम्रिसो र बाख्रा पालन निक्कै फष्टाएको पदमले सुनाए । उनले भनेजस्तै डाडैभरि अम्रिसो थियो । उनी आफै भने भञ्ज्याङ पर्तिर कुखुरापालन गरेर बसेका छन् ।
देवीथानसम्म छुमालाको उकालो समान्य हो । त्यहाँबाट भोजराज जीले निक्कै गाह्रो ठाडो उकालो चढाए । ‘डेजर्ट हो डेजर्ट’ भन्दै अघि लाग्थे । झाडीलाई पन्छाउदै, विरुवा समातेर उक्लिदै हामी भोजराजलाई पछ्याउथ्यौं । धन्न, ओम सरले बासको लठी दिएका थिए । मनमनै धन्यवाद थिए । गोरेटो नै नभएको उकालोमा र फर्कदा पनि ओरालोमा सहारा भयो । रमेश मामाले भनेको साच्चै हो रहेछ, त्यो भिरमा कोही नहिडेकै हो । उकालोमा थाक्यौं, पसिनाले पनि निथु्रक्क भिज्यौ । सुख्खा भिरमा पनि कति राम्रो वन फुल । क्यामेरामा कैद गरे । डाँडामा उक्लिदा कम्ता राहत भएन । सबैजना डाँडामाथि थुपारिएको ढुंगामा निक्कैबेर सुस्तायौं । चिसो हावाले सितल अनुभुति भयो । पानी पियौं, स्याउ टोक्यौं । विजय दाईको जिपिएसमा भञ्ज्याङबाट कन्या डाँडा ४.४ किलोमिटर दुरी देखायो । उचाई साढे ५ सय ।
त्यो उकालो चढ्न महिला टोलीलाई गाह्रो हुन्थ्यो । पुर्वगाविस अध्यक्ष मणिराम दाईले घुमाउरो तर सजिलो बाटोबाट ल्याउने भए । कन्या डाँडामा उक्लिएपछि मात्रै देखियो, हाम्रो गन्तव्य झण्डी डाँडा । कन्या डाँडाबाट २.६८ किलोमिटर पर । धरान २५ मा अवस्थित यो डाँडाको उचाई समुन्द्री सतहदेखि १५१९ मिटर रहेछ । यसको उचाई पर्यटकीयस्थल भेडेटार भन्दा पनि बढी । भेडेटारको उचाई १५२० मिटर हो । झण्डी डाँडा पुग्ने कि नपुग्ने थकाई मरुञ्जेल सल्लाह गर्यौं । त्यहाँ झण्डा राख्ने भनेर बोकेका थियौं । पुग्नै पर्ने भयो । कन्या डाँडा उक्लदा जस्तो गाह्रो भएन । अधिकांश तेस्रो र थोरै उकालो । बाटोमा थुप्रै गुराँसको रुख । तर, एक दुई ठाउँमा मात्रै फुलेको । ‘अलि ढिलो गरि आयौ, फागुन अन्तिमतिरै आएको भए ढपक्क गुराँस फुलेको हुन्थ्यो ।’ भञ्ज्याङका पदम जीले यसो भन्दा मन चुकचुकायो ।
झण्डी डाँडाको शिरमा पुग्यौं । अग्लो डाँडामा उभिएर चारैतिर हेर्दा बेग्लै आनन्द । ब्रिटिश गोर्खा स्मति र्पाकको झण्डा राखियो । महिला टोली त्यहाँसम्म आइपुग्दैनन् भन्ने हाम्रो आकलन गलत सावित भयो । ठमठमी हिडेर तीनै जना आइपुग्नुभो । ताली बजाएर स्वागत गर्दै हौसला बढाईदियौं । तपाईहरु साह्रै आँटिलो भन्दै प्रसंसा गर्यौं । कसैको हातमा गुराँसको फुल । कसैले सुनाखरीको बोट उखेलेका । डाँडामा आधा घण्टा बढी समय बिताउने क्रममा झण्डी डाँडाको इतिहास खोतल्यौं ।
मणीराम दाईले भनेअनुसार धरानमा ब्रिटिश क्याम्पस रहदा यहाँ गोराहरु आएर फलामको पिलर गाडेर झण्डा राखेका थिए । तलब दिएर स्थानीय २ जना हेरालु पनि राखेका थिए । डाँडामा झण्डा फर्फराएको टाढैबाट देखिने । सबैले झण्डी डाँडा भन्न थाले । पदयात्रा गर्दै गोराहरु भेडेटार हुदै त्यहाँसम्म पुग्थे रे । वाइनाकुलरले चारैतिर नियाल्थे रे । खै के अनुसन्धान पनि गर्थे रे । आकाश खुल्दा यो डाँडाबाट सगरमाथा, मकालु हिमश्रृंखला प्रष्टै देखिन्छ । तराईसँगै सोलु, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङको संगम सिलीचुङ पनि देखिने । ‘झण्डी डाँडाको साइनो धरानमा ब्रिटिश क्याम्प हुदाको ब्रिटिश गोर्खासँग छ । त्यतिबेला गोराहरु सागुरी गढीमा बेस क्याम्प बनाएर यहाँसम्म पदयात्रा आउथे रे’–गजेन्द्र इस्पो दाईले अझ प्रष्ट्याए–‘त्यही टे«ललाई पुर्नजीवित गर्न यो पदमार्ग पहिल्याएका हौं ।’
मणीराम दाईले एउटा अनौठो किंवदन्ती पनि सुनाए । यो डाँडा आसपासमा सोक्पा(वन झाँक्री) बस्छ भन्ने विश्वासले खोज, अनुसन्धान गर्न देश, विदेशबाट मान्छेहरु आउथे । गोठाला आएका कतिपय गाउलेलाई सोक्पाले लैजान्थ्यो, केही समयपछि घर फर्कदा मानसिकरुपमा कमजोर हुन्थे । सोक्पालाई कसै कसैले मात्रै देख्न सक्ने । सोक्पाले पानीमा टेक्दा पाइला उल्टो देखिने हुन्छ रे । यो क्षेत्रमा जैविक विविधताले पनि भरिपुर्ण रहेछ । गुराँस, चिराइतो, पाखनबेत, झ्याउ, सिस्नोको तीन प्रजाति प्रशस्त्रै भेटिने । देवेन्द्र थेगिम दाईले झोलामा सिउरेर बोक्न मिल्ने सानो साउण्ड बक्स, तर चर्को आवाज दिने । गीत बज्यो, अग्रज पत्रकार एवं लेखक भवानी दाई कम्मर मर्काउदै नाच्न थाले । एकछिन रमाइलो भो ।
फर्कदा तामाङ गाउँ वंशिला हुदै ओरालो झर्यौं । चिटिक्कको घरहरु भएको वंशिला गाउँ । माथिबाट सुन्दर देखिने । धरान पृष्ठभुमिमा । सिंहबहादुर मामा र म फोटो खिच्दै हिड्यौं । सबै त्यसरी नै अलमलिए । समुह छिन्नभिन्न भयो । कोही हिडेको हिड्यै भए । महिला टोलीसँग गजेन्द्र दाईहरु अर्कै रुटबाट झरेछन् । त्यो रुटमा सीता पोखरी, गौधारा शंखधारा, पौराणिक महत्वको विष्णुपादुका मन्दिर पर्दो रहेछ । पुनः भञ्ज्याङस्थित ओम सरकोमा सबै भेला भयांै । हामीले करिब १७ किलोमिटर हिडेछौं । भोकले ओइलाएका थियौं, पेटमा खाना पुगेपछि तंग्रियौं ।
यात्रा कठिन भए पनि रमाइलो भयो । यो पदमार्गलाई उचित प्रर्वद्धन गर्नसके ग्रामिण पर्यटनलाई टेवा पुग्छ । गोर्खा स्मृति पार्क घुम्न आउने पर्यटकलाई गोर्खाज ट्रेलमा लैजान सकिन्छ । पर्यटकहरु ग्रामिण परिवेश, प्रकृतिक सौन्दर्यमा रमाउछन् । भञ्ज्याङबाट २ किलोमिटर उत्तरमा धार्मिक महत्व बोकेको विष्णुपादुका मन्दिर छ । गोर्खा स्मृति पार्कका परिकल्पनाकार रमेश मामासँग त झण्डी डाँडाबाट भेडेटार पुर्वको टाकुरे डाँडासम्म पदयात्राको रुट बनाउने योजना छ । ‘यो टे«ल पुरा भयो भने धरान र आसपासको क्षेत्रमा पर्यटन विकासको ढोका खुल्छ’–रमेश मामा यसो भन्छन् ।
..................................................................................................................................................................
गजेन्द्र इस्पो, सल्लाहकार ब्रिटिश गोर्खा स्मृति पार्क
: यो रुट धरानमा ब्रिटिश क्याम्प रहदा गोराहरुले खुब प्रयोगमा ल्याएको हो । धरानबाट क्याम्प सरेपछि ओझेलमा पर्यो । गोर्खा सैनिकसँग पनि जोडिएकोले त्यही पदमार्गलाई पुर्नजीवीत गरेर गोर्खाज टे«ल(पदयात्रा) बनाएका छौं । प्रयोगमा आयो भने तराईतिरबाट आएका पर्यटकलाई यो रुटमा ल्याउन सक्छौं । माछामारा डाँडामा पार्क बनाउदैछौं । यो सबै पर्यटन विकासकै लागि हो । हामीलाई नाफा होला भन्ने आशाले गरेको होइनौं । पार्क घुम्न आउनेलाई झण्डी डाँडासम्म पदयात्रामा लैजाने योजना हो । तराई र पहाडको संगमस्थल सुन्दर ठाउँ छ । हामीले पदमार्ग पहिल्यायौं, अब उपमहानगरपालिका, पर्यटनसम्बद्ध संघसंस्थाहरुसँग रुटलाई विकास र प्रर्वद्धन गर्न सहकार्य गछौं ।.........................................................................................................................................
मणिराम राई, पुर्व गाविस अध्यक्ष
: यो ठाउँ जैविक विविधताको खानी छ । प्रकृतिक सुन्दरता छ । जडीबुटी प्रशस्तै भेटिन्छ । विष्णुपादुका मन्दिर, सिता पोखरी, गौधारा, सुलिकोट पनि यही आसपास क्षेत्रमा छ । वडा २५ मा यातायातको साह्रै असुविधा छ । विकास गर्न सकियो भने महत्वपुर्ण पर्यटकीय ठाउँ बन्छ । विष्णुपादुका क्षेत्रलाई एकीकृतरुपमा पर्यटन प्रर्वद्धन गर्नसके धेरै राम्रो ।.................................................................................................................................................
Comments
Post a Comment