धरानमा काठको बाकस(फोटोफिचर)

धरान । नेपाल सरकारको सचिव हुन चन्द्रकुमार घिमिरे, जो अहिले प्रधानमन्त्री कार्यालयमा छन् । प्रशासनिक निकायको उपल्लो तहमा रहेका तिनै घिमिरे गृहनगर धरान आइपुग्दा भने कवि चन्द्र घिमिरे मात्रै हुन्छन् । उनी धरानमा आउदा विकास र योजनाको कुरा हुदैन । साहित्यिक जमघट हुन्छ र उनका कविता, कृतिबारे तातो बहस चल्छ ।
साहित्यिक समाजले कविकोरुपमा स्वीकार गरेकोमा उनी आफै गर्व पनि गर्छन् । तरपनि, कवि चन्द्र घिमिरेलाई सचिव चन्द्रकुमार घिमिरेको व्यक्तित्वले निक्कै पिरोल्दो रहेछ । ‘म जहाँ छु, त्यहाँ दुई वटा समस्या झेलिरहेको छु । ब्युरोक्रेसीले कविता लेख्दै हिड्ने हो र, कविता सुनाउदै हिड्ने हो र भन्छ । म एउटा चेनमा छु, पुर्ण स्वतन्त्रता छैन’–कवि घिमिरले भने–‘अर्को समस्या चाहि नेपाली साहित्य समाजबाट छ, जहाँ ब्युरोक्रेटले पनि कविता लेख्छ र ? कविता त हामीले लेख्ने हो भन्छ । घरभित्र चेन छ, बाहिर जुन समाजमा जानुपर्ने हो, त्यहाँ प्रश्न छ । यी दुई जटिलताको बीचमा छु, त्यसबाट उम्किएर म लेख्ने गर्छु ।’
करिब तीन बर्षअघि ‘डन्ट टच मि ओ कविता’ कृतिमार्फत साहित्यमा पुनरागमन जनाएका घिमिरे अहिले ‘काठको बाकस’ संग्रह लिएर आएका छन् । सोमबार महेन्द्र बुहुमुखी क्याम्पसमा आयोजित नयाँ कृतिको चर्चा कार्यक्रममा उनको व्यक्तिगत र प्रशासनिक जीवनबारेमा पनि धेरै प्रश्न तेर्सियो । ‘डन्ट टच मि ओ कविता’ प्रकाशन गर्नुअघि उनी करिब दुई दशक साहित्यबाट गुमनाम बनेका थिए । कार्यक्रममा कवि सुदिप पाख्रिनसँगको संवादको क्रममा उनले पुनरागमन जनाउदा आफु निक्कै डराएको भएपनि साहित्य समाजले स्वीकार गरिदिएकोमा भने खुशी जनाए । ‘म कम ब्याक हुदा डराएको थिए, मैले कही स्थान पाउछु र भन्ने थियो । तर ठाउँ पाए । साहित्य समाजले अन्याय गरेको रहेनछ भन्ने अनुभुति भयो’–सन्तोष व्यक्त गर्दै उनले भने ।
यद्यपी, आफुले जीवनको दुई दशक साहित्य लेखनबाट टाढिएर आफैमाथि क्रुरतारुपमा प्रस्तुत हुनु गल्ती भएको भन्दै उनी आत्मालोचना गर्छन् । त्यो समय गुमाउन नहुने निष्कर्षमा पुगेका उनी डन्ट टच मि ओ कविता संग्रह लिएर आउदा कसै कसैले अर्को किताब आउदैन भनेर आलोचना पनि गरे । ‘तर, अर्को नयाँ कृति पनि आयो, अझै २ वटा आउने तयारीमा छ’–कवि घिमिरेले भने । कुनै समय रमेश केसी, टंक घिमिरे, नविन सुब्बालगायतसँग मिलेर अर्को जमातमा सक्रिय उनी समयले निर्ममतापुर्वक एक्लाएको बताए । ‘हामी बस्ने होइन, उभिने जस्तो लाग्थ्यो । हिड्ने होइन दौडने जस्तो लाग्थ्यो । तर समय निर्मम हुदो रहेछ । टंक जीलाई गुमायौं, रमेश जी विरामी हुनु भयो, नविन फिल्म तिर लाग्यो । म आफै पनि लामो समय आफैमाथि क्रुरतारुपमा प्रस्तुत भए’–उनले भने ।
कवि घिमिरेलाई आलोचकहरु आफ्नो रचनामा समस्यालाई उठान गरेपनि समाधान नदिने कवि भन्छन् । उनी पनि यो आरोप स्वीकार गर्दै समाधान दिने व्यक्ति कवि नहुने जिकिर गर्छन् । ‘समाधान दिएको भए त म पक्का जागिरे हुन्थे । कवि चन्द्र घिमिरे भएकोले कहाँ समस्या छ, त्यसलाई खोतल्छु । समाधान चाहि सचिव चन्द्रकुमार घिमिरेले दिनुपर्छ, जो प्रशासनिक निकायमा छ’–उनले भने । बाल्यकालको केही समय देहातमा बिताएकोले आफ्नो रचनामा तराई, मधेश र देहातको प्रसंग आउने गरेको कवि घिमिरेले बताए । मधेश राजनीतिक बिषय भएकोले लेख्ने कि नलेख्ने द्धिविधा हुने गरेपछि आफ्नै समाज भएकोले लेख्नुपर्ने उनको मत छ । ‘वालापनको नोस्टाल्जियाले सताउछ, मैले देहातमा केही समय बिताएको थिए । त्यसैले देहात, मधेशलाई मबाट अलग गर्न सक्दिन । त्यो छुटाएभने वालापन छुटिन्छ’–उनले भने–‘मधेशभन्दा सदुर देहात हो, त्यो हाम्रै समाज हो । लेख्नुपर्छ । मेरो लेखनमा मधेश आउछ ।’
उनको नयाँ कृति काठको बाकसबारे समाचोलक सुवासचन्द्र न्यौपानेले कवि घिमिरे मोहन कोइरालाको बाटोमा हिड्न खोजेको धारणा राखे । यद्यपी, उनका रचना प्रयोगवादी नभएको र शब्दको श्रृंखला पनि नभएको टिप्पणी गरे । कृतिमा पाठकले बुझ्ने खालको विम्ब र शब्द नभएको न्यौपानेको भनाई थियो । अर्का, समाचोलक दिपक न्यौपानेले कवि घिमिरेको शैली अरुसँग नमिल्दो पुच्छर टाउके शैली भएको बताए । घिमिरेका कवितामा विचार, भाव र कलाको सम्मिश्रण हुने चर्चा गर्दै न्यौपानेले कविताको अन्तमा विचार बसिदिने भएकोले २ पटक नपढी कविता बुझ्न नसिकने धारणा राखे । ‘कवितामा विचार हुनुपर्छ भन्ने मान्यता भएकोले उहाँको कविता एकैचोटी बुझिदैन, तर छुर्पी विस्तारै मिठो भएजस्तै पछि कविता पनि विस्तारै बुझिन्छ’–न्यौपानेले भने–‘उहाँको धार आलोचनात्मक यथार्थवादी छ, समाजिक राजनीतिक विसंगति केलाउनुहुन्छ, आलोचनाको तहमा उभिएर समाज र जनजीवनलाई हेर्नुभएको छ । हरेक कवितामा अनुभूति र आख्यानिकरण छ ।’










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे