सुधारिएको चुलाको तालिम


धरान । परम्परागत चुलोबाट अत्यधिक धुवा निस्केर स्वास्थ्यमा पनि असर पुग्ने भएकोले त्यसबाट मुक्ति दिलाउन धरान २६ विष्णुपादुकाका स्थानीयलाई सुधारिएको चुला तालिम सञ्चालन गरिएको छ ।
धरान उपमहानगरपालिकाको सहयोग तथा नारी स्वतन्त्र मञ्चको आयोजनामा तीन दिने तालिम शुरु भएको हो । तालिममा स्थानीय २१ जनाको सहभागीता रहेको छ । तालिमको सोमबार एक कार्यक्रमबीच धरान उपमहानगरका वरिष्ठ लेखा परीक्षण अधिकृत रमेश कुमार शाहले उद्घाटन गरेका थिए । तालिममा गोपाल श्रेष्ठ र रनमाया तामाङ प्रशिक्षककोरुपमा रहेका छन् । दुवै प्रशिक्षक वनस्पति(बिक्रेट) कोइला र कम्पोष्ट मलका विज्ञ पनि मानिन्छन् ।
स्थानीय एवं वडा नागरिक मञ्चकी अध्यक्ष रुविना राईले गाउँघरमा ग्याँस नपाउने भएकोले सुधारिएको चुलाबाट गाउँलेहरुलाई धेरै फाइदा पुग्ने बताइन् । दाउरा पनि कम खपत हुने र स्वास्थ्यमा पनि फाइदा पुग्ने उनले बताइन् । सामाजिक परिचालक भक्त राईका अनुसार गाउँमा सुधारिएकोले चुला अभियान चलिरहेकोले धुवामुक्त चुलाको तालिम आवश्यक भएको बताए । स्थानीयको आवश्यकता अनुसार तालिम पाएकोमा पनि उनले खुशी व्यक्त गरे ।
लेखा परीषण अधिकृत शाहले वडास्तरबाट छनौट भई आएका योजनाहरुलाई आवश्यकताअनुसार प्राथमिकता दिएर उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने गरेको बताए । स्थानीयको आवश्यकताबारे उपमहानगरपालिका अनभिज्ञ हुने भएकोले स्थानीयस्तरबाट समन्वय हुन जरुरी रहेको उनले बताए । साथै, उनले सुधारिएको चुला गाउँघरको लागि ज्यादै उपयोगी भएकोले सरकारले सहयोग गर्नुपर्ने पनि धारणा राखे । आयोजक संस्थाकी अध्यक्ष एसा सुनुवारले उपयोगी चुला भएकोले तालिम आयोजना गरेको बताइन् । सहभागीहरुलाई तीन दिनसम्म व्यावहारिक ज्ञान पनि दिलाइने उनले बताइन् ।
प्रशिक्षक गोपाल श्रेष्ठका अनुसार दाउरा कम खपत हुने र धुवा पनि ननिस्कने भएकोले सुधारिएको चुलाले स्वास्थ्यमा असर पुग्दैन । खाना पनि साधारण चुला भन्दा छिटो पाक्छ भने चुला बंकर जस्तो हुने भएकोले आगो बाहिर ननिस्कने र पोल्ने डर पनि हुदैन । ‘शुरुमा बनाउन केही खर्च हुन्छ, तर पछि यसले धेरै फाइदा हुन्छ । धुवा धेरै निस्कदैन, आगोले पोल्ने डर पनि हुदैन । दाउरा कम लाग्छ, खाना छिटो पाक्छ’–उनले भने । पहाडी क्षेत्रमा यो चुलाप्रति धेरै आकर्षण बढ्दै गइरहेको उनले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे