विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउन युनिभर्सल आइकोन


धरान । एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुको खाली समय सदुपयोग गर्ने र उनीहरुमा रहेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले युनिभर्सल आइकोन २०१६ आयोजना हुने भएको छ । एक दशकअघिदेखि अनौपचारिक शिक्षामा सेवा दिदै आएको धरान ९, पुतलीलाइनस्थित टप युनिभर्सल एकेडेमी प्रालिले आइकोन आयोजना गर्न लागेको हो ।
एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुमा भएको गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउने एवं व्यावहारिक ज्ञानको प्रशिक्षण दिलाउन आइकोन गराउन लागेको जानकारी दिएको छ । आइकोन अन्र्तगत विद्यार्र्थीहरुबीच प्रतियोगितात्मक एकल गायन र एकल नृत्य आयोजना हुनेछ । जसमा फारम भरेका सहभागीहरुमध्ये दुवै विधामा १५/ १५ जनाको दरले ३० जना प्रतियोगी विद्यार्थीहरु अडिशनबाट छनौट गरिने एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्रीले जानकारी दिए ।
छनौट भएका प्रतियोगी विद्यार्थीहरुलाई मात्र २ हजार रुपैया शुल्क लिएर १५ दिनसम्म व्यावहारिक ज्ञानको प्रशिक्षण दिलाइने उनले बताए । ‘यो हामीले नाफा कमाउने उद्देश्यले आयोजना गर्न लागेको होइन, पढाईबाहेक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराएर व्यक्तित्व विकासमा मद्दत पुगोस् भन्ने मात्रै उद्देश्य हो’–प्रबन्ध निर्देशक लकान्द्रीले भने–‘एसएलसी दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग पनि हुन्छ, आइकोन उनीहरुको प्रतिभा देखाउने माध्यम पनि बन्छ ।’ उनका अनुसार आइकोनलाई आगामी बर्षमा पनि निरन्तरता दिइनेछ । आइकोनमा टप युनिभर्सलबाहेक एसएलसी दिएर बसेका अन्य शैक्षिक संस्थाका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । अन्य संस्थाका सञ्चालक र विद्यार्थीहरुले पनि आइकोनप्रति निक्कै चासो दिएको उनले बताए ।
जेठ ३ गतेसम्म फारम भर्ने समयतालिका रहेको आइकोनको जेठ ४ गते अडिशन हुने आयोजकले जनाएको छ । छनौट भएका ३० जना प्रतियोगीहरुलाई जेठ ५ गतेदेखि २० गतेसम्म प्रशिक्षण दिइने र जेठ २२ गते फाइनल प्रस्तुती गराउने एकेडेमीका को–अर्डिनेटर हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार अडिशनबाट छनौटमा नपरेका विद्यार्थीहरुलाई पनि निःशुल्क शैक्षिक परामर्श तालिम, व्यक्तित्व विकास, हाईकिङ, पर्यटकीय स्थानको भ्रमण, ट्राफिक जनचेतनालगायत गतिविधिहरुमा सहभागी गराइनेछ । ‘यो आइकोन विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्य हो, तर पनि थप प्रोत्साहन दिलाउन प्रथम हुनेलाई नगद १० हजारसहित ट्रफी र शैक्षिक छात्रवृत्ति दिइनेछ भने दोस्रो हुनेलाई नगद ५ हजार र ट्रफी दिन्छौं’–भण्डारीले भने ।
आयोजकले दिएको जानकारी अनुसार गायनतर्फ नाद सरगम संगीत विद्यालयका संस्थापक विनायक राईले प्रशिक्षण दिलाउनेछन् भने नृत्यतर्फ हाम्रो डान्स सेन्टरका दिवस श्रेष्ठले प्रशिक्षण दिनेछन् । यस्तै, प्रशिक्षार्थीहरुलाई जेठ ८ गते भानुचौकमा ट्राफिक जनचेतना, जेठ ११ गते वाबु(चिण्डे) डाँडामा हाइकिङ, जेठ १५ गते म्याराथुन र जेठ १८ गते पर्यटकीयस्थल भेडेटार, नाम्जेको भ्रमणमा लगिनेछ । ती कार्यक्रमहरुमा छनौट भएका प्रतियोगिबाहेक फारम भर्ने सबै विद्यार्थीहरुलाई सहभागी गराइने एकेडेमीले जनाएको छ । टप युनिभर्सल ०६१ सालमा स्थापना भएको थियो भने ०७० देखि कम्पनीअन्र्तगत प्रालिमा दर्ता भएको छ । यसले शिक्षण सहयोगीकोरुपमा ब्रिजकोर्ष, नर्सिङ तयारी कक्षा, प्लस टु पछि मेडिकल तथा इञ्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे