फुटसलमा साकेला(फोटोफिचर)
धरान । फुटसलमा फुटबल खेल्न युवाहरु तम्तयार भएर उभिएका थिए । रेफ्रीले सिटि फुक्ला र खेल शुरु गरौला भनेर उनीहरु मैदानमा प्रतिक्षारत थिए । तर, रेफ्रीले सिटि फुकेनन् । त्यहाँ त ढोल र झ्याम्टा पो बज्न थाल्यो । अनि, फुटसलको बीचमा वल राखेर गोलाकार भई युवाहरु साकेला पो नाच्न थाले ।
धरान १५ स्थित बिग फुट फुटसलमा युवाहरु दिनहुँ फुटवल खेलेर रमाउछन् । तर, आइतबार भने त्यहाँ फुटसल मात्रै खेलिएन, किरात राई जातिको साकेला पनि नाचियो । ढोल र झ्याम्टाको तालमा युवा, खेलाडीहरु पनि उफ्रिउफ्रि साकेला नाचे । ‘सोई ढोले सोइ, किरात राज्य खोइ ?’ साकेला नाच्दै गर्दा उनीहरु गीतमा यो नारा पनि घन्काए ।
किरात राईहरु यतिबेला आफ्नो चाड साकेला उभौलीमा रमाइरहेका छन् । किरात राई बाहुल्य क्षेत्रमा बैशाख पुर्णेदेखि १५ दिनसम्म ढोल र झ्याम्टा बजिरहन्छ । किरात राई यायोक्खाको नेतृत्वमा साकेला उभौली मनाइरहदा किरात राज्य प्राप्तिको लागि प्रचारात्मक अभियानले पनि निरन्तरता पाइरहेको छ । अभियानअन्र्तगत आइतबार धरानमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता आयोजना भएको हो । तर, खेलाडीहरुले फुटसल मात्रै खेलेनन्, साकेला पनि नाचे । आइतबार ६ वटा खेल हुदाँसम्म बिग फुट फुटसलमा ढोल र झ्याम्टा बजिरह्यो ।
यायोक्खा सुनसरीका उपाध्यक्ष वलराम राईले रचनात्मकरुपमा किरात राज्य प्राप्तीको अभियानलाई अघि बढाउने क्रममा यायोक्खा र उसका भातृ संगठनहरु लागिपरेको बताए । खेलेर, लेखेर, गाएर, नाचेर सबैले आ आफ्नो तरिकाबाट अधिकार प्राप्ती लागि किरात राज्य स्थापना गराउन सक्रिय हुनुपर्ने उनले बताए । यायोक्खाका जिल्ला सहसचिव राजेन्द्र राईले थप प्रष्ट्याउदै भने–‘छैटौं राष्ट्रिय सम्मेलनबाट यायोक्खाले किरात राज्यको अवधारणा अघि सारेको थियो, त्यसैअनुसार साकेला उभौलीलाई साँस्कृतिक उत्सवसँगै किरात राज्य प्राप्ती अभियानसँग जोडेका हौं ।’ पहिचानको आधारमा संघीय प्रदेश बनाउदा किरात स्वायत्त राज्य हुनुपर्ने उनले बताए ।

Comments
Post a Comment