सिटी सफारी पक्राउ, दर्ता गरेर मात्रै सडकमा ल्याउने

धरान । दर्ता विना गैरकानुनीरुपमा सञ्चालनमा आएको ई रिक्सा सिटी सफारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि कानुनी दायरामा आउने भएको छ । दर्ता विना सडकमा जथाभावी चलेपनि ट्राफिक, प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै चर्को आलोचना भइरहदा शुक्रबार प्रहरीले सफारी नियन्त्रण गरेको थियो ।
ट्राफिक र प्रहरी मिलेर दर्ता विना चलेको सफारी धमाधम नियन्त्रण लिन थालेपछि सर्वपक्षीय बैठकमा सफारीलाई दर्ता गरेर मात्रै सडकमा गुडाउन दिने सहमति भएको हो । सर्वपक्षीय छलफलमा प्रहरीले नियन्त्रणमा लिएको सफारीलाई घर लैजान दिने र यातायात व्यवस्था कार्यालयमा दर्ता भएर नम्बर प्लेट नआउदासम्म सफारी सडकमा ननिकाल्ने सहमति भएको छ । यातायातमा दर्ताको लागि धरान उपमहानगरपालिकाले आइतबारदेखि दर्ता सिफारिश गरिदिने पनि सहमति भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
डिएसपी खतिवडाका अनुसार सफारीको ब्याट्री २४ घण्टामा एक पटक चार्ज गर्नै पर्ने भएको र प्रहरी कार्यालयमा चार्ज गर्ने व्यावस्था गर्न सम्भव नभएकोले दर्ता नभईञ्जेल सडकमा ननिकाल्ने सर्तमा नियन्त्रणमा लिएको सफारीलाई छाडिएको हो । ‘चौबिस घण्टामा एक पटक चार्ज नगरे ब्याट्री बिग्रने भएकोले यातायातमा दर्ता गर्न जाने दिन मात्रै सडकमा निकाल्ने सर्तमा छोडिएको हो’–उनले भने । आइतबारदेखि धरान उपमहानगरपालिकाले दर्ता सिफारिश प्रक्रिया थाल्ने उनले बताए ।
यसअघि भने उपमहानगरपालिकोले यो बर्ष ७० वटा मात्रै सिटी सफारीलाई दर्ता सिफारिश गर्ने निर्णय गरेको थियो । तर, सडकमा भने ७ सय भन्दा धेरै सफारी दर्ता विना सञ्चालनमा आएको थियो । सफारीले ट्राफिक जाम बढाउनुका साथै दर्ता नहुदा नम्बर प्लेट नभएको र दुर्घटना विमा पनि नभएकोले यात्रुसमेत जोखिममा थिए । गैरकानुनीरुपमा चलिरहे पनि ट्राफिक, प्रहरी प्रशासन मुकदर्शक बनेको थियो । सफारी बिक्रेता, व्यावसायी र चालक मजदुरहरुले दर्ता गरेर मात्रै सडकमा निकाल्न र ८ सय ९ वटा भन्दा धेरै संख्या बढ्न नदिन सहमति जनाएका छन् ।
केही साताअघि उपमहानगरपालिकाले सफारी व्यवस्थित गर्न दर्ता आह्वान गर्दा ७ सय ९ वटा पुगेको थियो । ‘जम्मा ८ सय ९ वटा सफारी हुन्छ, हामी त्यो भन्दा बढी हुन दिन्नौं । बिक्रेता, व्यावसायी, चालक मजदुर पनि सहमत छौं’–बिक्रेत सुम्निमा ट्रेडर्सका अशोक राईले भने–‘अहिले सडकमा गुडिरहेकोलाई मात्रै सिफारिश दिने भनेपछि थप नयाँ सफारी धरानमा भित्रिन पाउदैन, नम्बर प्लेट बिना चल्दैन ।’दर्ता प्रक्रियामा गएपछि दुर्घटना विमा हुने, सवारी नम्बर प्लेट पाउने भएकोले सफारीलाई पनि सहज हुने भन्दै सिटी सफारी संघ धरानका अध्यक्ष सुर्दशन श्रेष्ठले खुशी व्यक्त गरे ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे