धरानमा घुम्ती फोटो काठमाण्डौं

धरान । उपमहानगरपालिकामा विभिन्न कामले त्यसैपनि सेवाग्राहीहरुको घुइचो हुन्छ । सबैलाई आफ्नो काम सिध्याएर फर्कने हतारो हुन्छ । तर मंगलबार भने धरान १२ स्थित उपहानगरपालिका कार्यालय प्रवेश गर्दादेखि नै सेवाग्राहीहरु निक्कैबेर अलमलिए । उनीहरु अल्मलिनुको कारण काम ढिलाई भएर होइन ।
गेट प्रवेश गरेदेखि नै सेवाग्राहीहरुको नजर कार्यालय प्रांगणमा टागिएको तस्बिरहरुमा अडिन्थ्यो । उनीहरु आफ्नो कामलाई एकछिन थाती राखेर ती फोटो कथामा अल्मलिन्थे । श्यामश्वेत फोटोदेखि रंगीन फोटो कथामा उनीहरु रमाउथे । काठमाण्डौंको फोटो सर्कल र स्थानीय धराने फोटोग्राफी टिमले तीन दिने घुम्ती फोटो काठमाण्डौं नाम दिएको फोटो प्रर्दशनी मंगलबारदेखि धरान उपमहानगरपालिका प्रांगणमा शुरु गरेको थियो ।
कार्यालय पुग्ने बाटो छेउको बगैचा बारेको बासको भाटामा लस्करै श्यामश्वेत फोटोहरु थिए । यस्तै, प्रांगणमा वरको रुखमा पनि रंगीन फोटोहरु झुण्ड्याइएको थियो । कतिपय कार्यालयको बाहिरी भित्तोमा फोटो कथा टागिएको थियो । फोटो प्रर्दशनीको फरक शैलीले पनि मानिसहरु अचम्मित हुदै हेर्थे । ‘फोटोहरु धेरै राम्रो लाग्यो, मन छुने खालको पनि रहेछ कति फोटो’–कामको सिलसिलामा उपमहानगरपालिका पुगेका भरत सुब्बाले भने–‘पदमसुन्दर लावतीलाई नजिकबाट चिन्छु, उनको फोटोहरु हेरेर भावुक पनि बनायो ।’
गत बर्ष नेपालमा पहिलो पटक अन्र्तराष्ट्रिय फोटो महोत्सव फोटो काठमाण्डौं ०७२ आयोजना भएको थियो । त्यही महोत्सवको घुम्ती संस्करणअन्र्तगत धरानमा तीन दिने प्रर्दशनी भएको हो । आयोजक संस्था फोटो सर्कलका सह संस्थापक भुषण शिल्पकारका अनुसार पोखरा, विरगंज र गोरखामा प्रर्दशनी भइसकेको छ । फोग्राफीप्रति अभिरुचि जगाउन तथा व्यावसायिकरण गराउने उद्देश्यले घुम्ती फोटो कामाण्डौं शुरुवात गरिएको हो । ‘व्यावसायिक र फोटोग्राफीमा रुचि राख्ने फोटोग्राफर र उनीहरुको कामलाई अन्र्तराष्ट्रियस्तरमा परिचित गराउने महोत्सवको उद्देश्य थियो, फोटोग्राफी सम्बन्धी विश्वभर चलिरहेको शैलीलाई नेपाली माझमा देखाउनु पनि हो’–शिल्पकारले भने ।
तीन दिने प्रर्दशनी धरान उपमहानगरपालिकाको परिसर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल कलेज गेट बाहिर शिव मार्गमा रहेको छ । प्रर्दशनीमा नेपाल र विदेशका चर्चित फोटोग्राफरहरुले खिचेका विभिन्न ७ वटा विधाको फोटो कथाहरु छन् । प्रर्दशनीमा नेपालका अग्रणी फोटो पत्रकार विकास रौनियारले सन् १९९० को दशकमा खिचेको राजनैतिक, सामाजिक फोटो श्रृंखला, सुरेन्द्र लावतीले आफ्ना दिवंगत पिता पदमसुन्दर लावतीप्रति समर्पित फोटो श्रृंखला, नेपालको फोटो स्टुडियोको इतिहास र फिनिश फोटोग्राफर टुओमो मन्निनेन्लेले सन् १९९० को दशकमा खिचेको नेपाली व्यावसायीहरुको सामुहिक फोटोहरुको रोचक श्रृंखला समेटिएको छ । यस्तै, किशोर शर्माको राउटेहरुबारे अभिलेखात्मक फोटा श्रृंखला र प्रसित स्थापितको नेपाल–भारतबीच विवादित भुमी सुस्ताबारेको फोटो कथा पनि हेर्न पाइन्छ । आयोजकले मंगलबार बेलुकी भानुचौकमा फोटो स्टोरी शो गर्यो भने बुधबार बीपी प्रतिष्ठान अघिको सुन्दर बजारमा फोटो स्टोरी शो गर्ने जनाएको छ ।
यसैगरि, फोटोग्राफीमा रुचि राख्ने युवाहरुलाई विभिन्न ज्ञान दिलाउने उद्देश्यले फोटो सर्कल र धराने फोटोग्राफ्रीले आइतबारदेखि ५ दिने आधारभुत फोटोग्राफी कार्यशाला पनि आयोजना गरिरहेको छ । कार्यशालामा दर्जन युवाहरु सहभागी छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे