चिण्डो गजुर भएको यायोक्खा भवन उद्घाटन(फोटोफिचर)

धरान । किरात राई यायोक्खाले पहिचानलाई झल्काउने गरि आफ्नो भवनको शिरमा गजुरकोरुपमा चिण्डो(वावु) राख्ने अभियान शुरु गरेको छ । यायोक्खाको भवनहरुमा एकरुपता ल्याउने उद्देश्यले पनि शुरु भएको अभियान धरान १७ स्थित किराया प्रारम्भिक कार्यसमितिले पहिलो पटक कार्यान्वयनमा ल्याएको छ ।
चिण्डो गजुर भएको प्राकस १७ को भवन यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बुधबार एक समारोहबीच उद्घाटन गरेका थिए । यायोक्खाका अनुसार गाइघाटमा सम्पन्न केन्द्रीय सभाले आफ्नो भवनमाथि गजुरकोरुपमा चिण्डो(वावु) राख्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न केन्द्रीय समितिले मातहतको समितिहरुलाई निर्देशन दिएको थियो । ‘चिण्डो किरात पुर्खाहरुले चलाएको महत्वपुर्ण साँस्कृतिक सामग्री हो, यो सबै शुभ वा अशुभ कार्य, सँस्कारहरुमा अनिवार्य छ’–यायोक्खाका केन्द्रीय सहकोषाध्यक्ष सदर राईले भने–‘त्यसैको सम्मान स्वरुप गजुर राख्ने निर्णय भएको हो, केन्द्रीय सभाको निर्णय कार्यान्वयन गर्ने प्राकस, धरान १७ पहिलो भएको छ ।’
प्रारम्भिक कार्य समितिको नवनिर्मित भवन तीन तले रहेको छ । भवन निर्माणको लागि इन्द्रबहादुर राईले १ कट्टा, आधिबहादुर राईले एक धुर र पुत्रीमाया राईले आधा धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सोही जग्गामा २९ लाख ९० हजार ८ सय २७ रुपैया खर्चेर भवन र चिण्डो निर्माण गरिएको प्राकसका कोषाध्यक्ष जागिरमान राईले जानकारी दिए । उनका अनुसार वडा १७ मा आर्थिक संकलन गरेर भवन निर्माण गरिएको हो । समितिलाई अझै डेढ लाख रुपैया ऋण छ । भवन बनाउन ५ सय देखि सबैभन्दा बढी १ लाख ३७ हजार रुपैयासम्म आर्थिक सहयोग भएको थियो । सबैभन्दा बढी सहयोग प्राकस अध्यक्ष वलराम राईले गरेका थिए ।
भवनको गजुरकोरुपमा निर्माण भएको चिण्डो बेससहित १६ फिट अग्लो छ । यो धरान(पानवारी)का युवा मुर्तिकार जीवन पौडेलको नेतृत्वमा मोरङ वयरवनका चतुर राजवंशी र इटहरीका शशी किरणले बनाएका हुन् । भवनको शिरानमा चिण्डोसँगै सुम्निमा, पारुहाङ र यलम्बरको मुर्ति पनि राखिएको छ । यी सबै फाइबरबाट निर्माण गरिएको मुर्तिकार पौडेलले जानकारी दिए । चिण्डोको बेसमा किराती सँस्कृति तथा पुख्यौली सामग्रीहरु कुँदिएका छन् । त्यसभित्र किरात सँस्कारअनुसार तीन ढुंगे चुलो पनि राखिएको छ ।
भवन तथा चिण्डो(वावु) उद्घाटन समारोहलाई सम्बोधन गर्दै यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले किरात स्वायत्त राज्य प्राप्तीको लागि संघर्ष समिति बनिसकेको उल्लेख गर्दै जिल्लास्तरमा पनि संघर्ष समिति बनाएर आन्दोलन गर्ने बताए । उनले बैशाख भित्रै जिल्लामा संघर्ष समिति गठन गर्न पनि निर्देशन दिए । प्राकस अध्यक्ष वलराम राईको अध्यक्षतामा भएको कार्यक्रममा धरान १७ का ८० बर्ष माथिका १४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । कार्यक्रम समापन पछि साकेला नृृत्य पनि प्रस्तुत गरिएको थियो ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे