अमाह सिमसारमा पुग्दा....(फोटोफिचर)

राती पानी परेकोले अरुबेला भन्दा सितल थियो । लामो खडेरी र गर्मीबाट हैरान थियौं, थोरै भएपनि राहत मिल्यो । बैशाख २४ गते शुक्रबार केही ढिला गरि ओछ्यान छोडे । मोवाइल बज्यो । भरौलबाट अमाहा वन समुहका अध्यक्ष भोजराज रिली घलेले बिहानै निम्ता दिए,–‘सिमसार उद्घाटनको अवसरमा लागेको तीन दिने मेलाको आज समापन छ । उद्घाटनमा बोलाउन सकिएन, जसरी भएपनि आइदिनुस् है ।’ अर्पझटको निम्ता । मैले ‘हुन्छ’ नै भन्न सकिन । ‘सक्दो आउने प्रयास गर्छु’ भने ।
धरानदेखि भरौल करिब १० किलोमिटर दक्षिण पर्छ । बीचमा चारकोसे जंगल । बाटो ग्राभेल मात्र छ । यातायातको सहज सुविधा छैन । त्यहाँसम्म कसरी पुग्ने ? मलाई समस्या थियो । सविता जीसँग सल्लाह गरे । मेला लाग्दैछ भनेर धरानमा माइकिङ गरेको उनलाई थाह थियो । दुवै जाने भइयो । नवराज सालाको मोटरबाइक माग्यौ । खाना खाइसकेर मध्याह्न हुईकियौं, भरौलतिर ।
भरौल जाने दुईटा बाटो छ । हामी कुम्भीआहाल हुदै जंगल छिर्यौं । बिहान मोवाइलमा कुरा हुदा अध्यक्ष घलेबाट त्यही बाटो आउने सुझाव थियो । चारपांग्रे सवारी गुड्ने बाटो छ । तर, जंगलबीचमा हामी दुई मात्रै मोटरसाइकलमा थियौं । यो बाटो चल्तीको होइन । अघिल्लो दिनको बर्षाले गर्दा बाटोको धुलो नउड्ने । मध्याह्न घाम चर्किए पनि जंगलभित्र सितल । चराचुरुङ्गीको आवाज आइरहने । भरौलबाट धरान फर्कदा एक पटक मात्र यो जंगलको बाटो हिडेको । मनभित्र कता कता डर पनि । बाइकमा जंगल सफारीको अनुभव ।
जंगल कटेपछि बाटोले सर्दु खोला पुर्यायो । पारीपटि मानव वस्ती । हामी भने वारी किनारै किनार दक्षिण लाग्यौं । सालको एकनासको लाथ्राहरुको घना जंगल । त्यसअघि हरियो ठुलो मैदान । गाईबस्तु चर्दै गरेको । आहा, मन त्यसै रमायो । घाम चरक्क थियो । मन थामिएन । बाइक रोक्यौ । पालैपिलो दुवै जनाले फोटो खिच्यौं । बाटोमा थुप्रै गाउँलेहरु मेला जादै गरेका थिए । फोटो खिचेको देखेर उनीहरुले जिस्काए, ‘उता गाईवस्तुको पनि फोटो खिचौं है ।’ हामी हाँस्यौं ।
मेलाको अग्लो पिङ, नाउ वरैबाट देखियो । खोलामा परपम्परागत लिंगे पिङगे पिङमा केटाकेटीहरु रमाइरहेका । मान्छेको ओहोरदोहोर बाक्लो थियो । पाल टागेर राखिएको खेलौना, श्रृंगारको पसल । खानेकुराको पसल । ठुलो भोल्युममा गीत घन्किरहेको । पुग्नेबित्तिकै सविता जीले पान बनाउन लगाइन् । मोवाइल लागेन, म अमाहा वन समुहका अध्यक्षलाई खोज्न हिडे । बल्ल भेट भो । त्यतिबेलासम्म म पान चपाउन थालिसकेको थिएँ । मेला एकछिन घुम्यौं, ठ्याक्कै गाउँघरमा लाग्ने साप्ताहिक हाटबजारको झल्को थियो ।
जैविक विविधता जोगाउने र ग्रामिण पर्यटन विकास गराउने उद्देश्यले अमाहा सिमसार संरक्षणमा स्थानीयबासी जुटेका रहेछन् । अमाहा पोखरीको ऐतिहासिक र धार्मिक महत्व छ । तर, दशक अघि सर्दु खोलाको बाढीपछि पुरिएर यो पोखरी लोप हुदै लगेको थियो । अहिले अमाहा वन समुहको नेतृत्वमा पोखरीलाई पुर्नजीवन दिइएको रहेछ । स्थानीयबासी सिमसार संरक्षणमा जुटेका छन् । अमाहा सिमसारको उद्घाटन बैशाख २२ गते भयो । त्यसैको अवसरमा ३ दिने मेला पनि आयोजना गरिएको थियो । सिमसारको प्रचारप्रसार गर्नु र आन्तरिक पर्यटकलाई आकर्षित गर्नु मेलाको उद्देश्य ।
नेतृत्व सही व्यक्तिको हातमा पुग्यो भने सकरात्मक परिवर्तन गर्नसक्छ । इच्छा शक्ति, दुरदर्शी योजना र सामुहिक भावना हुनुपर्छ । अमाहा वन समुहका अध्यक्ष घलेसँगको भेटमा यही महसुस भयो । उनी झण्डै २१ बर्ष विदेशमा विताए । सन् २०१३ मा घर फर्किएपछि गाउँमै छन् । अमाहा वन समुहको अध्यक्ष भएपछि सिमसार संरक्षण र पर्या पर्यटन विकासलाई प्राथमिकता दिए । उनीसँग मेला र सिमसार क्षेत्र घुम्यौं । उनका योजनाहरु सुन्दा सबै क्षेत्रका नेतृत्वकर्तामा यस्तै दुरदृष्टि भइदिए भन्ने लाग्यो । अमाहा वन क्षेत्रको २ सय ३ हेक्टरमध्ये ५२ हेक्टर सिमसार खण्ड छ । त्यसमध्ये डेढ हेक्टरमा अमाहा पोखरी बनाइएको छ । जलाधार क्षेत्र भएकोले पानी प्रशस्तै बग्छ ।
घेले नेतृत्वमा आएपछि समुहले खेर गइरहेको पानीलाई जोगाउने र अमाहा पोखरीलाई पुर्नजीवन दिने योजना बनायो । पोखरी तयार गर्न एक महिना १३ दिन लाग्यो । समुहका सदस्यहरुले श्रमदान गरे । कुल २६ लाख ८९ हजार १ सय १० रुपैया खर्च भयो । त्यसमा सरकारको लगानी भनेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्र्तगत जिल्ला वन कार्यालय सिमसार व्यवस्थापनको २ लाख रुपैया मात्रै हो । वन समुहले आफ्नो कोषबाट ३ लाख ९० हजार ६ सय लगानी गर्यो भने बाँकी सबै पैसा समुहको पदाधिकारी र स्थानीयबासीको ऋण छ । राम्रो कामको लागि समुहलाई सबैले पत्याए, साथ दिए ।
डेढ हेक्टरको पोखरीमा अहिले २ वटा बोटिङको व्यवस्था छ । यी बोट भारतको उडिसाबाट समुहले मगाइएको । पोखरीमा बोटिङ गर्यौं । बोटिङ गर्नेहरुको घुइचो थियो । वरीपरी हरियो घना जंगल । प्रकृतिले त्यसै लोभ्याउछ । बोटिङ्ग गर्दाको मज्जै बेग्लै । पोखरी बनेपछि चराचुरङ्गीहरु बाक्लै गरि आउन थालेको छ । पोखरीको बीचमा पाना(लव) आकारको टापु बनाइएको छ । टापुमा एउटा ठुलो सालको रुख । रुखको फेदमा अमाहा जलदेवीको थान राखिएको छ । त्यहाँसम्म पुग्न बाँसको अस्थायी पुल छ । जलदेवीलाई कागजको घोडेफुल र बैगुन चढाउने प्रचलन रहेछ । सविताले घोडेफुल चढाइन् । यहाँ पुजाआजा गर्दा मनोकांक्षा पुरा हुने स्थानीयको विश्वास छ ।
अमाहा पोखरीबारे अनेक किंवदन्तीहरु छन् । उहिल्यै मान्छेले माटो बोकेर हात्तिलाई कुल्चन लगाएर ड्याम तयार गरी अमाहा पोखरी बनाएको रे । पोखरीमा जुरो भएको, रंगीविरंगी सर्प पनि देखिने, सुनको लोटा, थाल बोटुका देखिने र पुनः लोप हुने गथ्र्यो रे । यहाँ पुजा गर्दा मनोकामना पुरा हुन्छ । काम बनेपछि भाकल पुरा नगर्दा अनिष्ट हुन्छ रे । ‘अमाहा पोखरीमा जुठो हात धुने मान्छेहरु पछि रगत छादेर मर्थे’–भेटमा स्थानीय शिरबहादुर गुरुङले यसो भने ।
पोखरीको साइडमा डुल्दै थियौं । कुमारखत वन समुहका अध्यक्ष रामकुमार चौधरीको टोलीसँग जम्का भेट भो । कुमारखत वन समुह पनि सिमसार संरक्षणमा जुटेको रहेछ । त्यहाँ अमाहा भन्दा झन् ठुलो ताल छ रे । चौधरीले अमाहा र कुमारखत सिमसारबीचमा साइक्लिङ ट्रयाक बनाउने योजना सुनाए । दुवै वन समुहबीचमा ४ किलोमिटर दुरी छ । धरानमा साइक्लिङप्रति रुचि राख्ने युवाहरु धेरै छन् । यो ट्रयाक बन्यो भने जंगल सफारी गर्न युवाहरु आकर्षित हुन्छन् । हामी सबै उत्साहीत भयौं । अमाहाका अध्यक्ष घले त अझ इटहरीको ताल तलैयासम्मै साइक्लिङको सिमसार करिडोर बनाउने पक्षमा छन् । पोखरीमा माछा पालन गर्ने र पर्यटकलाई फिसिङको व्यावस्था गर्ने योजना छ ।
घुमघाम र बोटिङ सकेर चौरमा सुस्तायौं । सविताले भक्का, आलुचप, प्याजी र ढुंग्री ल्याइन् । स्वाद मान्दै खायौं र गफियौं । समुहले सिमसार संरक्षण र पर्यटन विकासको लागि गुरुयोजना बनाएको छ । अमाहा पोखरी र आसपासको वनक्षेत्रमा चिम्पाङ्जी, सालक, गोही र डल्फिनलगायत जीवजन्तुको मुर्ति राख्ने तयारी छ । ड्राइ पिकनिक स्पट बन्दैछ । समुहको १० हेक्टरमा बोटानिकल गार्डेनको पनि योजना छ । जल देवीथान रहेको पाना आकारको टापुलाई पनि फुल रोपेर चिटिक्क सिंगारिनेछ । पोखरी वरीपरी फुल रोपेर बगैचा बनाइने र बस्ने फलैचा बनाइनेछ । अर्को, सानो सुकुना पोखरी छ । तातो, मन तातो र चिसो पानी हुने यो पोखरीको बिशेषता हो । सुकुना पोखरी र सर्दु खोलाले पुरेको आले चौरीस्थित पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउने समुहको योजना छ ।
========================================================================

                                                           भोजराज रिली घले, 
                                             अध्यक्ष अमाहा सामुदायिक वन समुह
ः अमाहा वनमा जलाधार क्षेत्र छ । यहाँको पानी बगेर त्यसै खेर गइरहेको थियो । यसलाई सदुपयोग गर्न र पर्यटन विकास गर्न गुरुयोजना नै बनाएक छौं । वनको घाँस दाउरा, लकडीमा मात्रै भर नपरौं, जलाधार क्षेत्रलाई सदुपयोग गरेर आन्तरिक पर्यटक भित्र्याउ भन्ने हाम्रो प्रयास हो । पर्यटन विकास भयो भने वन समुह र गाउँलेको आयस्रोत पनि बढ्छ । यो सिमसारले भरौलको पहिचान गराउछ भन्ने आशा छ । पर्यटकहरु घुम्न आउछन्, यहाँ आर्थिक गतिविधि बढ्छ, गाउँमा पर्यटक आउन थालेपछि सरसफाईमा ध्यान पुग्छ ।
अमाहा पोखरीको बीचमा झोलुङ्गे पुल बनाउछौं । पोखरी वरीपरी ४ फुट दुरीमा बार लगाएर फुल रोप्छौं र गार्डेन बनाउछौं । बाहिर बस्ने फलैचा हुन्छ । बोटानिकल गार्डेन र वनसम्बन्धि लाइब्रेरी बनाउने योजना छ । तातो, मन तातो र चिसो पानी हुने सुकुना पोखरीलाई व्यवस्थित गछौं । आले चौरीमा ८ सय मिटर लम्बाई र ४ सय मिटर चौडाईको पोखरी पुरिएको छ, त्यसलाई पुर्नजीवन दिन्छौं । सर्दु खोलबाट खतरा छ, तटबन्ध बनाउन आवश्यक छ । सरकारी निकायमा पत्राचार गरेका छौं, सहयोगको आशा छ ।
==============================================================
                                                 शिरबहादुर गुरुङ, स्थानीय वृद्ध
ः पहिला अमाहा पोखरीबाट भरौलबासीलाई सिचाईको व्यावस्था थियो । सर्दु खोलाले सबै बिगारो । पोखरी त विलाइसकेको थियो । अहिले भोजराज वन अध्यक्ष बनेपछि सिमसार बनाउने योजना ल्याए । धेरै राम्रो काम भएको छ । अमाहा पोखरीको हाम्रो लागि धार्मिक महत्व पनि छ । यसले पुर्नजीवन पाउदा धेरै खुशी छौं । भरौलको पर्यटनको चर्चा सबैतिर फैलिएको छ । सबै मिलेर अझै विकास गर्नुपर्छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे