कसैको पनि दबाबमा नपर्न एआइजी शर्माको निर्देशन

धरान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) विज्ञानराज शर्माले अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा कसैको पनि दबाब वा हस्तक्षेपमा रहेर काम नगर्न मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
कोशी अञ्चल प्रहरी कार्यालयले आइतबार धरानमा आयोजित अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिक र प्रहरीको भुमिका अन्र्तक्रियामा सर्वसाधारण नागरिकहरुले प्रहरीमा राजनैतिक दबाब र हस्तक्षेप हुने गरेको टिप्पणी गरेपछि एआईजी शर्माले यस्तो निर्देशन दिएका हुन् । प्रहरीले कुनै पनि घटनाको अनुसन्धान गरिरहदा राजनैतिक दलका नेताको फोन आउने गरेको स्वीकार गर्दै उनले यसलाई स्वभाविकरुपमा लिन नागरिकसँग आग्रह गर्दै दबाब र प्रभावमा नपर्न मातहतका अधिकृतहरुलाई निर्देशन दिए । ‘राजनीतिक दलबाट फोन आउछ तर प्रहरीले दृढतापुर्वक कानुनको पालना गराउनुपर्छ । कसैको फोन आउदा हुन्छ, भईहाल्छ नि भन्नुभो भने तपाई फस्नु भयो, तर हुदैन कानुनअनुसार मैले त्यसो गर्न मिल्दैन भन्नु भो भने तपाई बच्नुहुन्छ’–एआइजी शर्माले उपस्थित प्रहरी अधिकृतहरुलाई भने–‘दबाब त्याग्नुस्, त्यसको कानुनीरुपमा प्रतिकार गर्नुस् र कानुन वमोजिम कारबाही अघि बढाउनुस् ।’
अन्र्तक्रियामा सर्वसाधारणबाट प्रहरी आचरणप्रति बढी गुनासो व्यक्त भएपछि एआइजी शर्माले ०४६ सालपछि प्रहरी संगठनमा धेरै परिवर्तन भइसकेकोले हिजोको चस्मा लगाएर नहेरिदिन आग्रह पनि गरे । प्रहरीमा कमी कमजोरी रहेको तर सिमित प्रहरीबाट भएको गल्तीलाई पुरै संगठनलाई नै त्यही नजरले नहेर्न पनि उनको आग्रह थियो । ‘प्रहरी संगठनमा ७२ हजार छौं, कमीकमजोरी छन् सबैमा हुन्छ तर २, ४ जनाको गल्तीलाई संगठनकै वदनाम गर्नुहुन्न । जसले गल्ती गरेको छ, ति प्रहरीलाई कारबाही हुन्छ र भएको पनि छ’–उनले भने–‘प्रहरीको मोरल जति बढाउनुहुन्छ, समाज त्यति नै सुरक्षित रहन्छ । तपाईहरुको स्याबास हाम्रो लागि रामवाण हो ।’
प्रहरी संगठनमा सक्षम अधिकृतहरु रहेको उल्लेख गर्दै उनले नागरिकको साथ पाएमा ठुल्ठुला अपराधको सफल अनुसन्धान गर्नसक्ने दाबी गरे । समाजले सही, सत्य सुचना दिए प्रहरीले सुरक्षा दिने उनको भनाई थियो । साथै उनले सन्तानलाई सही बाटोमा हिडाउन सानैदेखि अभिभावकले बिशेष ध्यान दिन पनि आग्रह गरेका थिए ।
कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी पवनप्रसाद खरेलले सहजीकरण गरेको कार्यक्रममा दर्जन बढी सर्वसाधारण नागरिकहरुले सुझावसँगै प्रहरीको आचरणप्रति गम्भीर आरोपहरुसमेत लगाएका थिए । व्यावसायी मोहनकाजी शाक्यले प्रहरी राजनीतिबाट टाढा रहन सुझाव दिदै चेकजाँचको नाममा राजमार्गमा व्यावसायीलाई धेरै दुःख दिने गरेको गुनासो गरे । कसैले चोरी गरको सुन बिक्री गरेको वयानकै आधारमा पर्याप्त अनुसन्धान नगरी प्रहरीले व्यावसायीलाई पक्राउ गरेर अर्को जिल्ला पठाउने कार्य बन्द गर्न पनि उनको आग्रह थियो । प्रहरी कमिशनको लोभमा विभिन्न हतकण्डा अपनाउने गरेको उल्लेख गर्दै उनले प्रहरीलाई निगरानी गर्न पनि संगठनले कमिटि बनाउनुपर्ने बताए ।
वडा नागरिक मञ्च धरान ६ का संयोजक रमेश राईले लागुऔषध नियन्त्रणको लागि बोर्डर सिल गर्नुपर्ने सुझाउदै विकास, निर्माणमा प्रहरीले सहयोगी भुमिका खेल्नुपर्ने बताए । एमाले नेता मुरारी सुवेदीले पनि प्रहरीमा गोपनियता नरहने हुदा नागरिक सुचना प्रदायक व्यक्ति बन्न नसकेको बताए । प्रहरी संगठनभित्रैबाट अपराध र अपराधीको बारेमा सुचना कस्ले दियो भनेर बाहिरिने र असुरक्षा हुने गरेको उनको भनाई थियो । राष्ट्रिय यातायात व्यावसायी महासंघ कोशी अञ्चल अध्यक्ष कृष्ण सुवेदीले सवारी दुर्घटनाको अनुसन्धान गर्ने जिम्मा ट्राफिक प्रहरीलाई दिनुपर्ने बताए भने पुर्वप्रहरी संगठनका जुद्ध लोहनीले पुर्व प्रहरीहरुसँग पनि अपराध नियन्त्रण तथा अनुसन्धानमा समन्वय गर्न आग्रह गरे । नेपाली कांग्रेसका पुर्वसभापति घनश्याम आचार्यले अपराध कर्ममा रहेका कार्यकर्ताहरुको पक्षपोषण नगर्ने भनेर राजनैतिक दलले प्रतिवद्धता नजनाएसम्म सक्षम प्रहरीले पनि काम गर्न नसक्ने बताए । पुर्वप्रहरी राजु श्रेष्ठले अपराध अनुसन्धान गर्ने मुद्दा शाखाका प्रहरी कर्मचारीहरुलाई कानुनी ज्ञान दिलाएर दक्ष बनाउनुपर्ने खाचो रहेको औल्याए ।
अन्र्तक्रियामा उठेको सवालमा जवाफ दिने क्रममा सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले पनि जिल्लामा राजनैतिक दबाबमा परेर प्रहरीले काम नगर्ने जिकिर गरे । प्रहरीबाट गलत काम भए तत्काल आफुलाई जानकारी दिन आग्रह गर्दै उनले गल्ती गर्नेलाई विभागीय कारबाही हुने बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले समाजबाट नैतिकता हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै हरेक नागरिकले असल भुमिका निर्वाह गर्ने अपेक्षा लिएर नै राज्यले नागरिकताको प्रमाणपत्र दिएको बताए । समाज राजनीतिक आस्थाको आधारमा विभाजित हुदा प्रहरी, प्रशासनलाई पनि काम गर्न गाह्रो हुने उनको भनाई थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे