सोइ ढोले सोइ, किरात राज्य खोइ.....?

धरान । प्रकृति पुजक किरात राईहरुको चाड साकेला उभौली(बैशाखे पुर्णिमा) शनिबारदेखि शुरु हुदा ढोल र झ्याम्टाको तालमा किरात बाहुल्य क्षेत्रमा गुञ्जिनेछ । अनि, सबैले गाउनेछन्,
सोई ढोले सोई, 
किरात राज्य खोई ? .....
नयाँ अन्नवाली लगाउने बेला प्रकृतिक प्रकोप नहोस, अन्नबाली सप्रियोस भने जिमी भुमि, हावा पानी जस्ता प्रकृतिको पुजा गरी धुमधामसँग १५ दिन साकेला नाच्ने चलन छ । तर, पछिल्लो बर्षहरुमा भने राईहरुले पहिचान र अधिकारको लागि किरात राज्य खोइ भन्दै साकेला नाचिरहेका छन् । शनिबारदेखि १५ दिनसम्म साकेला उभौली कार्यक्रमबारे जानकारी दिदै किरात राई यायोक्खा सुनसरीले यसपाली पनि प्रत्येक साकेला सिलीमा किरात स्वायत्त राज्यको आवाज घन्काउने घोषणा गरेको छ ।
‘नयाँ संविधान आयो, तर किरात स्वायत्त राज्य प्राप्ती भएको छैन । त्यसैले हाम्रो साँस्कृतिक चाड भएर पनि साकेला बिशेष ठाउँहरुमा प्रर्दशन गछौं र हरेक चाल, भाकाहरुमा किरात स्वायत्त राज्यको आवाज उठाउछौं’–यायोक्खाका सचिव हिन्दुहाङ राईले भने । उनका अनुसार बिशेष स्थानहरुमा साकेला नाचेर पहिचान र अधिकारको सन्देश बाडिनेछ भने जेठ २२ गते समापनमा विभिन्न जातिय संघसंस्थालाई आमन्त्रण गरेर खुल्ला बहस गरिनेछ । यायोकखाले ०५७ सालदेखि सँस्थागतरुपमा बृषमान जसरानी राई सकेला सिली प्रतियोगिताको शुरुवात गरेको थियो । त्यसयता गत साल मात्रै भुकम्पले जनधनको क्षति भएर देश शोकमा डुबेको भन्दै यायोक्खाले सार्वजनिकरुपमा सकेला नाचेको थिएन ।
यायोक्खाका अध्यक्ष कमला राईले साकेलामा किरात राज्यको आवाज उठ्नुलाई साँस्कृतिक अभियानको साथमा यायोक्खाले राजनीतिक अभियान पनि थालेको बताइन् । किरातीहरुको सृष्टि हुदादेखि नै किरात राज्य रहेको र त्यही गुमेको पहिचान फर्काउन अभियानमा होमिएको उनको भनाई थियो । ‘किरातीहरुको सृष्टि भएदेखि नै किरात राज्य थियो, पृथ्वीनारायण शाहले एकीकरण गर्दा पनि वल्लो किरात, पल्लो किरात, माझ किरात थियो । त्यही गुमेको पहिचान फर्काउने अभियानमा सकेला नाच्दैछोै’–उनले भनिन् ।
यायोक्खा प्रचार प्रसार समितिका अनुसार जेठ ८ गते विजयपुरस्थित हाङ बुद्धिकर्ण रायको दरबार क्षेत्रमा पुजा गरेर साकेला सिली शुरुवात हुनेछ । जेठ ९ गते धरानको भानुचौकमा, जेठ १३ गते बराहक्षेत्रको चतरामा, जेठ १४ गते इटहरीमा, जेठ १८ गते इनरुवा र जेठ २२ गते धरान १७ स्थित साकेला साँस्कतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनीसगै यो बर्षको साकेला समापन गरिने यायोक्खाले जनाएको छ । त्यसबाहेक जेठ ८ देखि २२ गतेसम्म १५ दिन विभिन्न प्राकसहरुले साकेला नाचेर ढोल झ्याम्टाको ताल गुञ्जाइरहेछ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे