सुनसरी उवा संघको निर्वाचन: कांग्रेस कि एमालेको जित ?



धरान । उद्योगी, व्यावसायीहरुको हकहित र व्यावसायिक सुरक्षाको दायित्व बोकेको सुनसरी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि आज(सोमबार) निर्वाचन हुदैछ । उद्योगी, व्यावसायीहरुको नेतृत्व चयन भएपनि राजनीतिक पार्टीहरुसमेत खुलेरै पक्ष–विपक्षमा लविङ गरिरहेकोले वाणिज्य संघको निर्वाचनले बैशाखमा जिल्लाको वातावरण झनै तातिएको छ ।
चुनावी दौडमा रहेका उम्मेद्वारहरु आइतबार रातीसम्म मतदाता व्यावासायीहरुको माझमा घरदैलो गरिरहेका थिए । मतदातालाई आफ्नो पक्षमा ल्याउन उनीहरु हरसम्भव प्रयास र उपाय अपनाइरहेको छ । आगामी प्रदेश र स्थानीय निकायको निर्वाचनमा वाणिज्य संघको भुमिका तथा सहयोग महत्वपुर्ण हुने निष्कर्ष निकाल्दै राजनीतिक दल पनि आफ्नो पार्टीको उम्मेद्वार जिताउन दौडधुपमा छ ।
नयाँ नेतृत्व चयनको लागि सोमबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म धरानमा मतदान हुनेछ । संघका अध्यक्ष पदमा वर्तमान प्रथम उपाध्यक्ष कृष्णकुमार अग्रवाल र पुर्व उद्योग सचिव राजेन्द्र शाह चुनावी दौडमा छन् । अध्यक्षका प्रत्यासी अग्रवाल कर तथा राजश्व विज्ञकोरुपमा परिचित व्यावसायी हुन् । राजश्व परामर्श समितिका संयोजक रहेका उनी यसअघि संघमा कोषाध्यक्ष पनि भइसकेका थिए । संघको आन्तरिक व्यवस्थापन सुदृढ भएको उल्लेख गर्दै अग्रवालले त्यसलाई निरन्तरता दिन, वदलिदो परिस्थितिमा भ्याटमा परिवर्तन गर्नुपर्ने आवश्यकता भएकोले व्यावसायीहरुलाइ सक्षम बनाएर सरकारसँग सहकार्य गर्न आफुले उम्मेद्वारी दिएको बताए । धरानको औद्योगिक विकासको एजेण्डा पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
अर्का प्रत्यासी शाह भने चौथो पटक अध्यक्ष पदमा उम्मेद्वारी दिएका व्यक्ति हुन् । यसअघि उनी अशोक ताम्रकार, मोहनकाजी शाक्य र सरोज श्रेष्ठसँग तीन पटक अध्यक्ष पदमा पराजित भएका थिए । उनी व्यावसायिक सुरक्षाको ग्यारेण्टी गर्न, धरानलाई पर्यटकीय हब बनाउन साथै पर्यटकीय करिडोर निर्माणको लागि पर्यटन गुरुयोजना बनाउने आफ्नो एजेण्डा रहेको बताउछन् । व्यावसायीलाई राज्यले थोपरेको कर, चन्दा आतंकबाट पनि मुक्त गर्ने योजना आफुसँग भएको उनको दाबी छ ।
अग्रवाललाई समर्थन जनाएको नेकपा एमालेका नेता, कार्यकर्ताहरु उनको लागि खुलेरै भोट मागिरहेका छन् भने शाहलाई नेपाली कांग्रेसको साथ छ । एमाओवादीले पनि शाहलाई सघाउने एक नेताले बताए । सदस्यमा उम्मेद्वारी दिएका पार्टीका ४ जनालाई समेट्नु पर्ने एमाओवादीका सर्त छ । तीन बर्षे कार्यकाल रहेको संघलाई नेपाल उद्योग वाणिज्य महासंघले क वर्गको संघ घोषणा गरेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका कतिपय उद्योगहरु यस संघका आवद्ध भएकोले पनि यसको नेतृत्व लिन होडबाजी चलेको हो ।

                             चार सदस्य मात्र निर्विरोध

अध्यक्ष बाहेक संघका १७ जना सदस्य पदमा मतदान पुर्व ४ जना मात्रै निर्विरोध चयन भएका छन् । उद्योगतर्फका महिला सदस्यमा विमला श्रेष्ठ, एशोसिएटतर्फको २ जना सदस्यमा अनिल अग्रवाल र सञ्जय अटल निर्विरोध निर्वाचित भइसकेका छन् भने वस्तुगत संघतर्फको सदस्यमा दिपक श्रेष्ठ पनि निर्विरोध चयन भइसकेका छन ।
वाणिज्यतर्फको ८ जना सदस्य पदमा २२ जनाको उम्मेद्वारी परेको छ भने वाणिज्यकै १ जना महिला सदस्यमा ४ जनाको उम्मेद्वारी परेको छ । यस्तै, उद्योगतर्फको ४ जना सदस्य पदमा १० जनाको उम्मेद्वारी परेको छ । संघमा कुल १ हजार २ सय ९६ जना मतदाता सदस्य छन् । ती मध्ये वाणिज्यतर्फ ८ सय ९१, उद्योगतर्फ ३ सय ६५, एशोसिएटतर्फ २८ र वस्तुगततर्फ १२ सदस्य संख्या छन् । संघमा अध्यक्षसहित १८ जना निर्वाचित हुनेछन् भने ४ जना सदस्य मनोनित हुनेछन् । साथै, सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे