मृगौला रोग पीडितलाई हङकङ र बहराईनबाट लाखौं सहयोग

धरान । दुवै मृगौला बिग्रिएर उपचाररत धरान ८ की प्रिति बिकलाई देश विदेशबाट उपचारको निम्ति आर्थिक सहयोग जुटेको छ । आर्थिक अभावले उपचार गराउन समस्या भएपछि विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट सहयोग आउन थालेपछि प्रितिका अभिभावकमा पनि छोरी बाँच्छ भन्ने आशा पलाएको छ ।
प्रितिको उपचारको लागि धरान ८ हङकङ समाजले ६ लाख २ हजार रुपैया पठाएको छ । हङकङमा रहेका धरान वडा नम्बर ८ का युवाहरुले आर्थिक संकलन गरी सो रकम पठाइदिएका हुन् । समाजका धरान प्रतिनिधि किरण भुजेलले उक्त रकम शनिबार एक कार्यक्रममा प्रितिकी आमा प्रर्मिलालाई हस्तान्तरण गरेका थिए । देश विदेशबाट विभिन्न असहाय व्यक्तिको लागि व्यक्तिगत र संस्थागत सहयोग रकम हुदै आएको छ । त्यसमध्येमा यो रकम हाल सम्मकै धेरै हो । रकम हस्तान्तरण गर्दै प्रतिनिधि किरण भुजेलले दुःख गरेर कमाएको रकमको केही प्रतिशत धरानको विकास र धरानेहरुको लागि सहयोग गरेर उदाहरणीय कार्य गरेको बताए । ‘धरानको खेलकुद, समाजिक र विकास निर्माणमा धरान ८ हङकङको सहयोग उदाहरणीय छ, यस्तो कामको अरुले पनि अनुशरण गर्नुपर्छ’–उनले भने–‘तर, सहयोगको सदुपयोग चाहि हुनुपर्छ ।’
यसैगरी, बहराईन एकता समाजले पनि ८५ हजार ४ सय रुपैया आर्थिक सहयोग पठाइदिएको छ । बहराइनमा रहेका मनोजकुमार राईकी श्रीमति धरान ८ की कल्पना राईमार्फत सो रकम पनि हस्तान्तरण गरिएको थियो । बहराईनमा कार्यरत नेपालीहरुबाट सहयोग संकलन गरिएको कल्पनाले जानकारी दिइन् । प्रितिको उपचारका लागि हालसम्म करिब ११ लाख रुपैया आर्थिक सहयोग जुटिसकेको अभिभावकले जानकारी दिएका छन् । उनको उपचारमा १३ लाख बढी खर्च लाग्ने अस्पतालले जानकारी दिएका छन् ।
कक्षा १२ अध्ययन गरिरहेकी प्रितिको हाल भक्तपुरस्थित मृगौला प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । उनको हरेक साता २ पटक डायलोसिस गराउन ठुलो रकम खर्च हुदै आएको छ । निम्न आर्थिक अवस्था भएको कारण अभिभावकले उनको उपचार गराउन सक्ने अवस्था थिएन । आमा प्रर्मिला नेपाल परिवार नियोजन संघ सुनसरीमा कार्यालय सहायकको रुपमा कार्यरत छिन् भने बुबा घर मिस्त्रीको रुपमा काम गर्छन । प्रितिलाई आफ्नो घरमा राखेर पढाउदै आएका नेपाली कांग्रेसका स्थानीय नेता धनबहादुर राईले आर्थिक सहयोगको पहल गरेका थिए । प्रितिको डेढ महिनापछि मृगौला प्रत्योपरण हुदैछ । उनलाई हजुरआमाले मृगौला दिने भएकी छिन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे