खडेरीमा पनि धमाधम धारा वितरण गर्दै संस्थान


धरान । सुख्खा याममा धारामा पानी नआएर धरान उपमहानगरबासीहरु हैरान छन् । पानी वितरणको जिम्मा लिएको खानेपानी संस्थान भने पानीको स्रोत बढाउनतिर नभई ग्राहक संख्या बढाउने ध्याउन्नमा छ । विगतमा सुख्खा याम लागेपछि उपभोक्तालाई पर्याप्त पानी वितरण गर्न नसकिने भन्दै संस्थानले नै तीन महिना धारा वितरणमा रोक लगाउथ्यो । तर, यो बर्ष भने सुख्खा याममा पनि धमाधम धारा वितरण गर्दै संस्थानले ग्राहक संख्या बढाइरहेको छ ।
साविकको उपभोक्ताको घरमा नै पर्याप्त पानी नपुगिरहेको बेला ग्राहक संख्या बढाएर संस्थानले पानी संकटलाई झनै बढाई रहेको छ । पहिला संस्थानले खडेरीको कारण पानीको स्रोत सुक्ने हुदा चैत, बैशाख र जेठमा धारा जडान गर्दैनथ्यो । ‘पहिला संस्थानले सुख्खा याममा ग्राहक बन्न पाइदैनथ्यो, अहिले ग्राहकलाई पानी पुगोस् कि नपुगोस्, ग्राहक बढाएको बढाएकै गर्दैछ’–खानेपानीका जानकार एक स्रोतले भन्यो–‘पानीको स्रोत बढाउन ध्यानै छैन, ग्राहक बढाउने र आम्दानी गर्नेतिर मात्रै संस्थान लाग्यो ।’
सुख्खा याममा पानी नपुगिरहेको बेला पनि ग्राहक संख्या बढाउनुमा संस्थान र धरानमा सञ्चालित खानेपानी आयोजनाबीचको द्धन्द रहेको जानकारहरु बताउछन् । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा धरानमा खानेपानी आयोजना शुरु भएपछि संस्थान र आयोजना ल्याउन पहल गर्ने उपमहानगरपालिकाबीच द्धन्द्ध चर्किएको थियो । आयोजना सञ्चालनमा आएपछि सन् २०१७ देखि धरानबाट संस्थानको शाखा हट्ने निश्चित छ । त्यही भएर पनि संस्थान पानीको स्रोत खोजी गर्नु संस्थानको प्राथमिकतामा परेको छैन । आयोजना सञ्चालनको लागि नेपाल सरकारले गठन गरेको बोर्डले म्याचिङ फण्डको लागि सुकुम्बासी बस्तीमा धारा वितरण गर्न भन्दै अग्रिम शुल्क संकलन गर्न थालेपछि द्धन्द झनै चुलिएको थियो । आयोजना र बोर्डलाई असहयोग गर्ने उद्देश्यले अहिले सुख्खा मौसममा पनि संस्थानले धमाधम ग्राहक बढाउन लागेको हो । विगतमा उपमहानगरपालिकाको सिफारिश विना धारा जडान नगर्ने संस्थान अहिले भने आफुखुशी धारा जडान गरिरहेको छ ।
‘पहिला उपमहानगरपालिकाको सिफारिश विना जडान हुदैनथ्यो,आयोजना शुरु भएपछि दरार आएकोले असहयोग गर्ने नियतले ग्राहक संख्या धमाधम दिन थालेपछि बोर्डमा पनि कुरा उठ्यो’–कार्यकारी अधिकृत एवं बोर्ड अध्यक्ष टिकादत्त राईले भने–‘बोर्डले म्याचिङ फण्डको लागि सुकुम्बासी वस्तीमा धारा जडानको लागि संकलन गर्न थाल्यौ, त्यसैबेलादेखि संस्थानले पनि धमाधम ग्राहक बढाउन थाल्यो ।’ पानीको स्रोत नबढी ग्राहक संख्या मात्रै बढ्दा सर्वसाधारण उपभोक्तालाई मार पर्ने भएपनि यसबारेमा उपभोक्ताबाट नै आवाज उठ्नुपर्ने उनले बताए । विद्युत प्राधिकारणले अहिले पनि उपमहानगरपालिकाको सिफारिशमा मात्रै विजुली जडान गर्ने गरेको उनले खुलाए । पहिला नयाँ घर निर्माण सम्पन्न भएको सिफारिश पछि मात्रै संस्थानले धारा जडान गथ्र्यो ।
संस्थान भने सुख्खा सिजनमा रोकेर ग्राहक वितरण खुलेपछि ह्वात्तै चाप बढ्ने हुदा केन्द्रीय कार्यालयको निर्देशन वमोजिम बाह्रै महिना खुला गरेको बताउछ । ग्राहक आफै नै ‘धारामा जति पानी आउछ, खान्छु’ भन्दै निवेदन हाल्न आउने गरेकोले कार्यालयले रोक्न नसकेको निमित्त प्रमुख दिनेश चिमोरियाले बताए । ‘सुख्खा याममा ग्राहकलाई रोकेर के गर्नु ? असार, साउन लागेपछि निवेदनको थुप्रो आउछ । त्यसैले केन्द्रीय कार्यालयले नै नरोक्नु भनेकोले वितरण गरेको हो’–उनले भने–‘धारा जोड्न उपमहानगरपालिकाको सिफारिश चाहिन्छ भन्ने छैन, घरको नक्सा पास भएको हो कि होइन भन्ने हेर्ने हो । पहिलो चरणको निर्माण सम्पन्न भएको कागजात हेरेर जडान गरिदिन्छौं ।’
उपभोक्ताबाट मासिक लाखौं रुपैया शुल्कवापत असुल गरेपनि पानीको स्रोत बढाउन योजना नल्याएको भन्दै संस्थानको आलोचना हुदै आएको छ । सर्दु र खर्दु खोलाको स्रोतले नपुगेपछि संस्थानले चारकोसे जंगल क्षेत्रको भुमिगत पानी आपुर्ति गर्छ । त्यति गर्दा पनि संस्थानले माग वमोजिम आफ्नो उपभोक्ता(ग्राहक)लाई खानेपानी वितरण गर्न सकेको छैन । ग्राहक संख्या बढेसँगै पानीको माग पनि वृद्धि भइरहेको छ । संस्थानले दिएको तथ्यांक अनुसार ग्राहक संख्या बढेर १७ हजार नाघिसकेको छ भने पानीको माग पनि दैनिक ३ करोड लिटर बढी छ । तर, सुख्खा याममा दैनिक १ करोड २० मात्रै पानी उत्पादन हुन्छ । यो बेला सर्दुबाट दैनिक ४०देखि ५० लाख लिटर संकलन हुन्छ भने बाँकी चारकोसे जंगलको ५ वटा पम्पबाट उत्पादन हुन्छ । ‘साह्रै समस्या हुने गरि धारा वितरण गरेको छैनौं, उपभोक्ताले आफ्नै खर्चमा पाइप विस्तार गरेको ठाउँमा फाट्ट फुट्ट मात्रै जोडेको हो । पानी संकट साह्रै भएपछि त्यो पनि रोक्ने कि भन्ने सोच्दैछौ’–संस्थानका वितरण प्रमुख केपी शर्माले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे