सुनसरी उवा संघको चुनाव: चौथो प्रयासमा शाह विजयी

धरान । सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा लगातार तीन पटक पराजित भएका राजेन्द्र शाह चौथो पटकको प्रयासमा सफल भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा शाहले अध्यक्षका प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउदै विजयी भए ।
आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका शाहले ५६७ मत पाए भने पराजित अग्रवालले ५२६ मत मात्र पाए । अध्यक्षमा कुल १ हजार १ सय २६ मत खसेको थियो । जसमध्ये २१ मत वदर भएको थियो । विजयी शाहलाई कांग्रेस र एमाओवादीको साथ थियो भने अग्रवाललाई एमालेले सर्मथन गरेको थियो । यसअघि शाह लगातार ३ पटक अध्यक्षमा उम्मेद्वारी दिएर पनि जित हासिल गरेका थिएनन् । उनी यसअघि अशोक ताम्रकार, मोहनकाजी शाक्य र सरोज श्रेष्ठसँग अध्यक्ष पदमा पराजित भएका थिए । यसअघि अध्यक्षमा विजयी ताम्राकार, शाक्य र श्रेष्ठ एमालेका थिए ।
यो पटक भने एमाले समर्थित उम्मेद्वार अग्रवाल पराजित भएपछि कतिपय व्यावसायीले सिण्डिकेट प्रथा तोडिएको भन्दै खुशी पनि मनाएका थिए । अध्यक्षमा शाहको जित भएलगत्तै मतगणनास्थलमा ‘सिण्डिकेट प्रथा खारेज भयो, व्यापारी व्यावसायीको जित भयो’ भन्दै नाराबाजीसमेत गरे । अध्यक्षमा पराजित अग्रवाल संघका प्रथम उपाध्यक्ष थिए । उनी कर तथा राजश्व विज्ञकारुपमा परिचित छन् । यसअघि उनले कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका थिए । अध्यक्ष पदका लागि उनी योग्य भनिएपनि मतपरिणाम भने उनको विपक्षमा गयो ।
यसैगरि, वाणिज्यतर्फको ८ सदस्यमा नविन राजभण्डारी(४१३ मत), गिरीधारी सापकोटा(४०७ मत), मनोज श्रेष्ठ(३६९), उपेन्द्र चाम्लिङ(३३० मत), किसन मास्के(३२१), मानबहादुर विश्वकर्मा (३०१) र किरणकुमार अग्रवाल(२९७) मत ल्याएर विजयी भए । राजेश अग्रवाल र शशी शाहले समान २९५ मत ल्याएपछि गोलाप्रथामा राजेश अग्रवाल विजयी भए । वाणिज्यमा ८ सदस्य पद भएपनि कुल २२ जनाले उम्मेद्वारी दिएका थिए । वाणिज्यमै महिला सदस्यतर्फ २९९ मत ल्याएर शुभेच्छा अधिकारी श्रेष्ठ विजयी भइन् । एक जना महिला सदस्यमा ४ जनाको उम्मेद्वारी परेको थियो ।
यस्तै, उद्योगतर्फ सदस्यमा भएको मतदानबाट विजय श्रेष्ठ(१९४), महेन्द्र प्रधान(१७०), शिवराज श्रेष्ठ(१६३) र पियुष आचार्य(१५७) विजयी भए । मतदान पुर्व उद्योगतर्फका महिला सदस्यमा विमला श्रेष्ठ, एशोसिएटतर्फको २ जना सदस्यमा अनिल अग्रवाल र सञ्जय अटल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगत संघतर्फको सदस्यमा दिपक श्रेष्ठ पनि निर्विरोध चयन भएका थिए ।
संघमा कुल १ हजार २ सय ९६ जना मतदाता सदस्य छन् । ती मध्ये वाणिज्यतर्फ ८ सय ९१, उद्योगतर्फ ३ सय ६५, एशोसिएटतर्फ २८ र वस्तुगततर्फ १२ सदस्य संख्या छन् । निर्वाचित समितिको पहिलो बैठकले ४ जना सदस्य मनोनित गर्नेछ भने सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे