लापरवाहीले धरान रंगशाला वेवारिसे(फोटोफिचर)

धरान । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको वेवास्ताले धरान १६ स्थित निर्माणाधिन रंगशाला वेवारिसे बनेको छ । दुई पटक म्याद थपिएर पनि रंगशालामा निर्माणाधिन भिआइपी प्याराफिट र ६ वटा गेटहरु अझै बनिसकेको छैन ।
समयमै निर्माण कार्य सकेर सम्बन्धित निकायलाई हस्तान्तरण नहुदा संरक्षण अभावमा निर्माण भएका संरचनाहरु पनि भत्कन थालिसकेको छ । ठेकेदार कम्पनीले कमसल संरचना बनाए पनि राष्ट्रिय खेलकुद परिषदले कडाईका साथ अनुगमन नगरेको भन्दै स्थानीय खेलकुदकर्मीहरु असन्तुष्ट छन् । सुरक्षा व्यवस्था नहुदा रंगशाला युवायुवतीको डेटिङ स्पट, लागुऔषध प्रयोगकर्ताहरुको लागि सुरक्षित ठाउँ र निजी सवारीको सिकारु थलो बनेको छ । ठेकेदार कम्पनीले हालेको गेट युवाहरुले भत्काइदिएको अवस्थामा छ ।
रंगशालालाई सुविधायुक्त बनाउने भन्दै ०६८ सालदेखि पुरानो संरचना भत्काएपछि यहाँ खेलकुदका गतिविधिहरु ठप्प छ । राष्ट्रिय खेदकुद परिषदमा युवराज लामा सदस्य सचिव हुदा मैदानको पश्चिमपटि भिआइपी प्याराफिटसहित अन्य ६ वटा गेटहरु निर्माण कार्य शुरु भएको थियो । एक करोड २४ लाख बजेटको प्याराफिट बनाउन शिवराम जेभीले ठेक्का पाएको थियो । त्यही बजेटमा प्याराफिटसँगै २ वटा ठुलो र ४ वटा सानो गेट पनि निर्माण गर्नुपर्ने थियो । ०७१ बैशाखमा तत्कालीन सदस्य सचिव युवराज लामाले सिलान्यास गरेका थिए । भदौ महिनाभित्र सम्पन्न गर्नुपर्ने प्याराफिट निर्माण कम्पनीको लापरवाहीले दोस्रो पटक थपिएको म्यदा सकिदा पनि निर्माण कार्य भने सकिएको छैन । ‘ठेकेदारको हेल्चेक्राईले भिआइपि प्याराफिट पुरा भएको छैन, २ पटक म्याद थपिसक्यौं, अहिले जरिवानामा काम गर्दैछ’–परिषदको क्षेत्रीय इञ्जिनियर पुर्ण सुन्दासले भने ।
सुन्दासका अनुसार ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरिदिदा २ पटक बजेट फ्रिज भएको थियो । कामदार थोरै संख्यामा लगाउने र लामो समयसम्म ठेकेदार नै सम्पर्कविहिन पनि भइदिएका थिए । अहिले ठेकेदार कम्पनीले प्रत्येक दिन ०.०५ प्रतिशत क्षतिपुर्तिमा काम गरिरहेको छ । पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर भिआइपी प्याराफिटको निर्माण थालिएको थियो । प्याराफिटको क्षमता ६ सय ५० दर्शक अट्ने भनिएको थियो भने माथिल्लो तलामा २ वटा अफिस कोठा, स्टोर हुने भनिएको थियो । यस्तै, भुईतलामा ट्वाइलेट, डक्टर रुम र प्लेयर रुम निर्माण हुने परिषदको भनाई थियो ।
राखेपका प्रमुख इञ्जिनियर अरुण उपाध्याय ठेकेदार कम्पनीलाई म्याद थप नगरी अहिले जरिवाना तिराएर काम लगाएको र कालोसुचीमा राख्न तयारी पनि गरिरहेको बताउछन् । निर्माण भएका संरचनाहरु भत्कनुमा ठेकेदारको दोष हो कि स्थानीय युवाहरुको हो भनेर खुट्याउन सक्ने अवस्था नरहको उनले बताए । ‘ठेकेदारले काममा लापरवाही गरेकैले म्याद थपेको छैनौ र जरिवाना तिराएर काम गराउदैछौं । वेवारिसे जस्तो त भएकै छ । सुरक्षा र पालेको व्यावस्था हुनुपर्ने देखिन्छ’–उनले भने–‘ठेकेदारलाई कालो सुचिमा राख्ने तयारी गर्दैछौं ।’
राखेपले आफ्नो मातहतको जिल्ला खेलकुद विकास समितिलाई पनि वाइपास गरी आफै ठेक्का लगाउने र प्रत्यक्ष सरोकारवालासँग समन्वय नगरेकोले पनि रंगशाला वेवारिसे बन्दै गएको स्थानीय खेलकुदकर्मीहरुको गुनासो छ । निर्माण कार्य सम्पन्न नहुदा जिल्ला खेलकुद विकास समिति धरान १० स्थित कवर्ड हलमा खुम्चिएर बस्नुपरेको अध्यक्ष धनप्रसाद राईको गुनासो छ । ठेकेदारले मोवाइलसमेत नउठाई सम्पर्कविहिन हुने गरेको उनले बताए । ‘काम सन्तोषजनक छैन, न भिआइपी प्याराफिट पुरा भएको छ, न गेटहरु नै बनेको छ’–अध्यक्ष राईले भने–‘काम सकिएको भए कार्यालय सारिसक्थ्यौं, रंगशालाको सुरक्षा पनि हुन्थ्यो, सेमीकवर्ड हलको सदुपयोग हुन्थ्यो ।’ परिषदले सेमी कवर्ड हल बनाइ सकेपनि सदुपयोग हुन सकेको छैन । त्यहाँ पनि डेटिङ र लागुऔषध प्रयोग गर्ने युवाहरुको थलो बनेको छ । ठेकेदार कम्पनीका कर्मचारी उमेश आलेमगरका अनुसार जेठ महिनाभित्र काम सक्ने तयारी हुदैछ । निर्माण कार्य सकिएको दाबी गर्दै उनले फिनिसिङ मात्र बाँकी रहेको बताए । प्याराफिट र गेटमा युवाहरुले भत्काइदिने र पटक पटक बनाउनु परेको उनको भनाई छ । भर्खर मैदानको पुर्वपटि बनेको नयाँ प्याराफिटको भेन्टिलेसनको सिसा फटाहा युवाहरुले फुटाइदिएको उनले बताए ।
पुर्वाधारयुक्त रंगशाला बनाउन भन्दै शुरुवातमा स्थानीयस्तरमा गठन भएको धरान रंगशाला भौतिक निर्माण तथा मर्मत संम्भार समितिले फुटबल मैदानको स्वरुप परिवर्तन गर्दै पुनः मैदान तयार गरेको थियो । समितिले त्यहाँ करिब ८ लाख रुपैया खर्च गरेर दुबो(झार)समेत उमारेको थियो । तर, अहिले सुरक्षा अभावले सिकारु थलो भन्दा मैदान वरिपरीको झार नष्ट भएर लगानी खेर गएको छ । मैदानको स्वरुप पनि बिग्रदै गएको छ । अहिले रंगशाला पशुचरण र गाडी सिक्ने थलो बनेको छ । निर्माण सम्पन्न नहुदा बर्षेनी हुने बुढासुब्बा गोल्डकप एन्फाको सानो टेक्निकल सेन्टरको खेल मैदानमा आयोजना गर्नुपरेको छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे