टेम्पो र सफारी चालकबीच झडप, टेम्पोद्धारा उपमहानगरपालिका घेराउ

धरान । दर्ता विना सडकमा जथाभावी गुडेको विद्युतीय रिक्सा सिटी सफारी र टेम्पो चालकबीच दिनहुजसो झगडा हुन थालेको छ । सफारीको रुट र यात्रु उठाउने स्थानको विवाद मिल्न नसक्दा टेम्पो र सफारी चालकहरु एक अर्कालाई भौतिक आक्रमणमा उत्रिन थालेका हुन् । बुधबार र बिहिबार दुई दिन लगातार सफारी चालकहरुले आक्रमण गरेर दुई जना टेम्पो चालकलाई घाइते बनाएका छन् ।
बुधबार सफारी चालकको आक्रमणबाट बीपी प्रतिष्ठानअघि को १ ह ४३ का टेम्पो चालक सुजन राई घाइते भएका थिए । बिहिबार बिहान भानुचौकमा टेम्पो र सफारी चालकहरुबीच दोहोरो झडप नै भएको थियो । सफारी चालकको आक्रमणबाट टेम्पो चालक राजकुमार घिमिरे गम्भीर घाइते छन् । टाउको, ढाड र छातीमा चोक लागेका उनको प्रतिष्ठानमा उपचार भइरहेको छ ।
 बुधबारको घटनाका आरोपी फरार छन् भने बिहिबारको घटनालगत्तै प्रहरीले सफारी चालक सुरज राईलाई पक्राउ गरेको छ । घटनाको विरोधमा बिहान करिब साढे १० बजेदेखि धरानका टेम्पो चालकहरुले उपमहानगरपालिका कार्यालयअघि घेराउ गरेका थिए । उनीहरुले उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने मुख्य गेट ठप्प बनाए भने चतरालाइन सडकमा पनि सवारी आवागमन हुन दिएनन् । उपमहानगरपालिकाले जथाभावी सफारी चलेपनि व्यवस्थापनमा ध्यान नदिएकोले दबाब दिन घेराउ गरिएको धरान टेम्पो व्यावसायी संघका अध्यक्ष राम तामाङले बताए । बिहिबार करिब ४ घण्टासम्म टेम्पो चालकहरुले उपमहानगरपालिका घेराउ गरेका थिए । ट्राफिक प्रहरी, इलाका प्रहरीसमेतको उपस्थितिमा पुनः सफारी, रिक्सा संघको प्रतिनिधिसहित सफारी व्यवस्थापनबारे बैठक बस्ने सहमतिमा टेम्पो चालकहरु फिरेका थिए ।
सफारी र टेम्पोबीच विवाद चर्किएपछि गत साउन ३ गते टेम्पो, रिक्सा र सिटी सफारी समन्वय समितिको बैठक बसेर आचारसंहिता तयार भएको थियो । जसमा टेम्पो, रिक्सा र सफारीले तोकिएको स्टेण्डबाट मात्रै यात्रु ओसारपसार गर्ने, अन्य स्थानबाट यात्रु उठाउनु परेमा स्टेण्डदेखि ३ सय मिटर परबाट मात्रै उठाउनेलगायत विभिन्न ८ बुँदे सहमति भएको थियो । सफारीले यो सहमति उल्लंघन गर्ने गरेको कारण पनि टेम्पोसँग झगडा हुने गरेको हो । धरानमा सफारीको लागि विभिन्न २४ वटा क्षेत्रमा रुट कायम गरिएको थियो । तर, बग्रेल्तीरुपमा सफारी भित्रिएर दर्ता विना जथाभावी गुड्न थालेपछि टम्पोसँग विवाद चर्किएको थियो । उपहानगरपालिकाले दिएको पछिल्लो तथ्यांक अनुसार धरानमा ७ सय ७९ वटा सफारी गुडिरहेको छ । ती मध्ये ७० वटा मात्रै वैधानिक हुन् ।
नियमविपरीत सडकमा गुडेको सफारीलाई समयमै व्यावस्थापन र नियन्त्रण गर्न सरोकारवाला निकायले ध्यान नदिदा यो अवस्था सृर्जना भएको हो । धरान उपमहानगरपालिकाले ७० वटा मात्रै सफारी दर्ताको सिफारिश गर्ने निर्णय गरेपनि त्यसलाई पालना गराउन सकेन । अहिले धरानमा ७ सय बढी सफारीहरु दर्ता विना नै जथाभावी गुडिरहेको छ । ट्राफिक नियम मिचेर सफारीहरु चले पनि धरानमै रहेको जिल्ला ट्राफिक कार्यालय रमिते बनेको छ । सफारीमा राजनैतिक दलका नेताहरुको लगानी भएकोले पनि उपमहानगरपालिका र ट्राफिक कार्यालयले कानुनी दयरामा ल्याउन नसकेको हो । पुर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दर्ताविना जथाभावी चलेको अटोरिक्सा(सिटी सफारी)लाई सञ्चालनमा पुर्णरुपमा रोक लगाउन गत फागुनमा निर्देशन दिए पनि धरानमा कार्यान्वयन हुन सकेन । जिल्ला ट्राफिक कार्यालयले निर्देशन वमोजिम कारबाही शुरु गरेपछि फागुन पहिलो साता एमाले नेतासमेतको उपस्थितिमा विरोध गर्दै सफारीहरुले कोशी राजमार्ग नै अवरुद्ध पारेको थियो ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक मेघराज अधिकारी रुट निर्धाारण गरेर सबै सफारी दर्ता प्रत्रियामा गएमा समस्या धेरै हदसम्म कम हुने बताउछन् । अहिले यात्रु धेरै पाउने भानुचौक क्षेत्रमा सफारी बढी केन्द्रीत हुने गरेकोले विवादसँगै ट्राफिक व्यावस्थापनमा समस्या भएको उनले बताए । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले सफारी व्यावस्थापन गर्न एक समिति बनाएर अध्ययन भइरहेको उल्लेख गर्दैै संख्या यकिन गरेर व्यावस्थापन गरिने बताए । ‘सडकमा कति संख्यामा आएको छ ? संख्या कायम गरेर थप नहुने गरि यातायातमा सिफारिश पठाउछौं । यातायातबाट नम्बर प्लेट आएपछि रुट निर्धारण हुन्छ र समस्या समाधान हुन्छ’–कार्यकारी अधिकृत राईले भने–‘केही समय भने लाग्छ ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे