जंगलमा साइक्लिङ ट्रयाक(फोचोफिचर)
साइकलमा जंगलको यात्रा, जसलाई जंगल सफारी पनि भनिन्छ । ठाउँ ठाउँमा रमणीय ताल । तालको वरीपरी साइक्लिङको ट्रयाक । तालमा फिसिङ, बोटिङसँगै स्विमिङको आनन्द लिने मौका । सुन्दा जति मिठो छ, अबको केही समयमा सुनसरीको उत्तरी सामुदायिक वन क्षेत्रमा साइक्लिङमा जाने पर्यटकहरुले यस्तै आनन्दको अनुभव गर्न पाउने छन् ।
धरानसँग सिमाना जोडिएको भरौल, बक्लौरी गाविस र इटहरी उपमहानगर(हाँसपोशा, शान्तिनगर)मा पर्ने ८ वटा सामुदायिक वन समुह मिलेर साइक्लिङ ट्रयाक खोल्ने तयारी गरेका छन् । जसलाई उनीहरुले ‘सुनसरी सिमसार करिडोर’ नाम दिएका छन् । साइक्लिङ ट्रयाक खोल्न सुनसरी जिल्ला साइक्लिङ संघले प्राविधिकरुपमा सघाउने भएको छ । धरानदेखि नै शुरु हुने यो ट्रयाक कम्तीमा ३० किलोमिटरको हुनेछ । जैविक विविधता संरक्षणसँगै समुदायको आर्थिक समृद्धि गर्न पर्यटनको विकास पनि जरुरी भएको ठहर गर्दै ती वन समुह पर्यटक भित्र्याउन साइक्लिङ ट्रयाक खोल्न कस्सिएका हुन् ।
भरौलको अमाह सामुदायिक वन समुहको अमाह सिमसारबाट शुरु हुने साइक्लिङ ट्रयाक शंकरबेली वन समुह, सुनसरी वन समुह, पञ्चायन, कुमारखत, भवानीपुर, ब्रह्मपुर, हासपोशा हुदै शान्तिगर वन समुहमा पर्ने तालतलैयासम्म पुग्छ । यो रुटमा अमाह, शंकरवेली, सुनसरी वन समुह र कुमारखत वन जलाधार क्षेत्र भएकोले ठुला पोखरी र तालहरु छन् । अमाहदेखि तालतलैयासम्म मात्र करिब १३ किलोमिटर दुरी छ । अमाहमा ताल छ भने शंकरवेलीमा पोखरी छ । सुनसरीको रा.स.ताल पर्यटकीय गन्तव्य बनिसकेको छ भने कुमारखत वन समुह पनि सिमसार संरक्षण गर्दै ताललाई आकर्षक बढाउन जुटेको छ । शान्तिनगरको तालतलैया त प्रसिद्ध पर्यटकीय गन्तव्य बनिसकेको छ ।
वन समुहले बनाउन लागेको ट्रयाकबारे स्थलगत अध्ययन र परामर्श गर्न सोमबार साइक्लिङ संघको नेतृत्वमा १५ जना धराने साइक्लिष्टहरुको टोली ती क्षेत्र गएको थियो । सिमसार करिडोरमा साइक्लिङ गर्दै टोलीले साइक्लिङ ट्रयाकबारे सामुदायिक वनका पदाधिकारीहरुलाई प्राविधिकरुपमा सल्लाहसमेत दिएका थिए । ‘पर्यटन विकासको लागि साइक्लिङ ट्रयाक बनाउने योजनामा छौं, धरानबाट साइक्लिष्टहरु आएर विभिन्न सल्लाह दिनुभयो, हामीलाई थप हौसला मिलेको छ’–अमाह वन समुहका अध्यक्ष भोजराज रिली घलेले भने–‘यो ट्रयाकलाई हामीले सुनसरी सिमसार करिडोर नाम दिएका छौं ।’

धरानमा विभिन्न माउण्टेन बाइक कम्पनीको शो रुम खुलेको छ भने साइक्लिङ गर्ने युवाहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ । शोरुमहरुले माउण्टेन बाइक बिक्रीसँगै प्योकजमा युवाहरुलाई विभिन्न ठाउँमा घुमाउन पनि लैजान्छन् । सिमसार करिडोरको साइक्लिङ ट्रयाक खुल्यो भने धरान हुदै पर्यटकहरु सिमसार करिडोरमा आकर्षित हुने सुनसरी साइक्लिङ संघका अध्यक्ष श्याम तामाङले बताए । ‘हामी साइक्लिङबाट ग्रामिण पर्यटन प्रर्वद्धन र विकासमा सक्रिय छौं । सिमसार करिडोर धेरै नै राम्रो ट्रयाक बन्ने रहेछ । हामी प्याकेजमा यो रुटमा बाह्य, आन्तरिक पर्यटक लिएर आउछौं’–उनले भने–‘गर्मीमा पनि साइक्लिङमा आउन सकिने रुट बन्छ, पर्यटकहरुले तालमा बोटिङ, फिसिङ र स्वीमिङ गर्न पाउने हुदा धेरै नै खुशी पनि हुन्छन् ।’



Comments
Post a Comment