१२ लाख फिर्ता गर्ने दुई युवतीलाई सम्मान(फोटोफिचर)

धरान । सडक दुर्घटनामा परेर ज्यान गुमाएको व्यक्तिले दुर्घटनास्थलमा छोडेको १२ लाख रुपैया सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन् । उनीहरुलाई महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
पैसा फिर्ता गरेर महिलाको शिर उचो बनाएको भन्दै ती संस्थाले धरान १५ की २२ बर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ बर्षीय सुनिता राई सम्मान गरेको हो । उनीहरुसँगै सम्बन्धित व्यक्तिको परिवार खोजी गरेर पैसा फिर्ता गर्न समन्वयकारी भुमिका खेल्ने टिका पाख्रिनलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । ज्योति, सुनिता र पाख्रिन छिमेकी हुन् । तीनै जनालाई महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, उपाध्यक्ष सविता राई, निवर्तमान अध्यक्ष मिना पुलामी र जनजाति महिला महासंघकी अध्यक्ष कल्पना शेर्पालगायतले खादासँगै सम्मान पत्र प्रदान गरेका थिए । मंगलबार नै नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले पनि एक कार्यक्रम आयोजना गरि सम्मान गर्यो ।
 सञ्जालकी अध्यक्ष बज्रचार्यले लोभ, लचल नभएको व्यक्ति सत्य युगमा मात्रै हुनसक्ने भन्दै तीनै जना सम्मानको हकदार भएको बताइन् । ‘कलियुग हो भन्छ, तर यो घटनाले सत्य युग लागेजस्तै भयो । सत्य युगमा मात्रै यस्तो हुन्छ जस्तो लाग्छ’–उनले भनिन्–‘बहिनीहरुको कारण सबै महिलाहरुको शिर उचो बनाएको छ, प्रतिष्ठान बढाएको छ र महिलाहरु साच्चै नै इमान्दार हुन्छ भन्ने पुष्टि पनि गरिदिएको छ ।’ सञ्जालकी निवर्तमान अध्यक्ष पुलामीले ज्योति र सुनिताको निश्वार्थ भावना सबैको लागि अनुकरणीय भएको बताइन् । यो समयमा १२ लाख भेटेर पनि फर्काउनु सामान्य कुरा नभएको उनले बताइन् । ‘यो समयमा बाटोमा भेटेको १२ लाख कस्को हो भन्दै खोजी गरेर कस्ले फर्काउला ? तर बहिनीहरुले उदाहरणीय काम गर्नुभएको छ । सबैले अनुकरण गर्नुपर्छ’–पुलामीले भनिन् ।
गत बिहिबार राती कोशी राजमार्गअन्र्तगत धरान–इटहरी सडक खण्डमा टेम्पो र मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार धरान १७ का ओमबहादुर गेलालको मृत्यु भएको थियो । आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैया भएको ब्याग ज्याति र सुनिताले भेटेकी थिइन् । पैसासहितको ब्याग मृतक गेलालको परिवारलाई बुझाउन उनीहरुका छिमेकी दाई पाख्रिनले सहयोगी भुमिका निर्वाह गरेका थिए । गेलालको शुक्रबार चतरामा दाह सँस्कार गरेर परिवार घर फिरेपछि साँझ उनीहरु घरमा पुगेर पैसा बुझाएका थिए । उनीहरुको इमान्दारीताबाट प्रभावित भएपछि आफन्तजनको सुझावले गेलाल परिवारले शनिबार पत्रकार माझ सार्वजनिक गरेका थिए । भेटेको लाखौं रुपैया फिर्ता गरेको घटना मिडियामा सार्वजनिक भएपछि आश्चर्य मान्दै उनीहरुलाई सामाजिक सञ्जाल र व्यक्तिगतरुपमा नै प्रसंसा गर्नेहरुको ओइरो छ ।
सम्मान थापेपछि ज्योतिले बिहिबार राती नै पैसा फर्काउन छिमेकी टिका पाख्रिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएपनि गेलालको मृत्यु भइसकेको र सहज नभएर फर्किनु परेको बताइन् । अर्काको लाखौं रुपैया बोकेर रातभरि डरले सुत्न नसकेको उनले बताइन् । ‘जस्को पैसा हो, उसैको परिवारलाई बुझाइदिन पाए हुन्थ्यो भन्ने लागिरह्यो, डरले रातभरि सुत्नै सकिएन’–ज्योतिले भनिन्–‘टिका अंकलले नडराउ, राम्रो सोचे पनि नसोचे पनि फिर्ता दिनुपर्छ, धर्म हुन्छ भनेर हौसला दिनुभयो । जसको पैसा हो, उहाँलाई नै फिर्ता गरेको हो, यसरी सम्मान पाउछौं भन्ने सोचेकै थिएनौ ।’ सहयोगी पाख्रिनले लाखौं रुपैया बोकेपछि असुक्षित महसुस गरेको साथै सम्बन्धित परिवारले पैसा अपुरो छ भनेर बुझिदिएन भने के गर्ने भनेर ज्योति र सुनिता त्यसबेला निक्कै तनावमा भएको बताए । ‘पैसाबारे प्रहरीले अनुसन्धान गर्न लैजला भनेर पनि डर थियो, तर जब सम्बन्धित परिवारलाई भेटेर पैसा बुझायौं, १ रुपैया पनि तलमाथि भएन । ढुक्क भयौं’–पाख्रिनले भने ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे