साथी हुनु त यस्तो !

धरान । आफ्नो मिल्ने साथी प्रिति बिकको दुवै मृगौला फेल भएको सुनेदेखि धरान ८ की इन्दु राईलाई पर्नुसम्म पीर पर्यो । साथीलाई के सहयोग गर्ने भनेर उनलाई निक्कै छटपटि भयो ।
प्रितिको घरको आर्थिक अवस्था नाजुक थियो । उनलाई स्थानीय समाजसेवी धनबहादुर राईले पढाउदै थिए । प्रितिको बुबा निर्माण मजदुरी गर्छन् भने आमा परिवार नियोजन संघमा पिउनको जागिरे । प्रितिलाई उपचारको लागि आर्थिक अभाव भएको यथार्थ इन्दु लुक्ने कुरा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने नेपाली उखान झै उनले साथीलाई सहयोग जुटाउने अठोट गरिन् । व्यक्तिगतरुपमा सहयोग रसिद कटाएर उनले संकलन गरेको २८ हजार ३ सय रुपैया आइतबार प्रितिकी आमा प्रर्मिला बिकलाई बुझाइन् ।
इन्दुका अनुसार साथीको स्वास्थ्यबारे थाह पाएपछि केही त गर्नुपर्छ भन्ने भावना जाग्यो । त्यसपछि, आफ्ना साथीभाई, आफन्तजनहरुसँग आर्थिक सहयोग उठाउन थालिन् । ‘हामी एकदमै मिल्ने साथी हौं, प्रितिको मृगौला फेल भएको सुनेर दुःख लाग्यो । मैले साथी भएर मात्रै सहयोग गरेको होइ, मानवीयताको हिसाबले पनि सहयोग गरेको हुँ’–प्रितिकी आमालाई रकम बुझाएपछि इन्दुले भनिन् । बीस बर्षीय दुवै धरान वडा ८ का बासिन्दा हुन् । दुवैले स्कुल र प्लस टुसम्म धरान ८ स्थित ल्याबोरोटरी उच्चमाविमा अध्ययन गरेका हुन् । इन्दुले संकलन गरेको रकम किरात राई साँस्कृतिक कलाकार संघको समन्वयमा आइतबार एक कार्यक्रम गरि हस्तान्तरण गरिएको थियो । इन्दुले व्यक्तिगत पहलमा संकलन गरेको रकम कसरी बुझाउने भनेर सल्लाह लिन आएपछि संघले समन्वय मात्रै गरिदिएको उपाध्यक्ष रामकर राईले बताए ।
प्रिति हाल उपचारको क्रममा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा छिन् । उनलाई सातामा २ पटक डाइलाइसिस गराउनुपर्छ । एक पटकमा २ हजार ५ सय रुपैया खर्च हुन्छ भने अन्य पनि थुप्रै खर्च हुने आमा प्रर्मिलाले बताइन् । उपचारमा आर्थिक अभाव भएपछि प्रितिलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग पठाउने क्रम जारी छ । नबिल बैंकमा आमाको नाममा खोलिएको खातामा साढे ३ लाख बढी आर्थिक सहयोग जम्मा भइसकेको छ । ‘हामीले त उपचार गराउनै नसक्ने रहेछौं, तर देश विदेशबाट यसरी नै सहयोग आइरहेकोले आशा जागेको छ’–आमा प्रर्मिलाले भनिन् । उनका अनुसार प्रितिलाई मावली बजुले एउटा मृगौला दिदैछिन् । अहिले दुवैको विभिन्न परीक्षण पनि भइरहेको छ । चिकित्सकले मृगौला प्रत्यारोपण गर्न १० लाख बढी खर्च लाग्ने बताएको आमा प्रर्मिलाले जानकारी दिइन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे