रमिते डाँडामा युनिभर्सल आइकोन(फोटोफिचर)

धरान । सर्दु खोला तरेपछिको करिब ४ किलोमिटर उकालो छिचोल्न धरानकी दिव्या श्रेष्ठलाई निक्कै गाह्रो भयो । धरान उपमहानगरभित्रै भएर पनि उनी रमिते डाँडा शनिबार पहिलो पटक जादै थिइन् ।डाँडामा उक्लिएपछि भने उनले डेढ घण्टा उकालो चढ्दाको सबै पीडा भुलिन् । सेल्फीसँगै साथीहरुसँग विभिन्न पोजमा फोटो खिचेर रमाइन् । त्यतिमात्रै होइन, नृत्य प्रस्तुत गरेर अन्य साथीहरुलाई पनि खुशी बनाइन् ।
दिव्या धरान ९ स्थित टप युनिभर्सल एकेडेमीद्धारा आयोजित युनिभर्सल आइकोन २०१६ अन्र्तगत नृत्यकी सहभागी हुन् । एकेडेमीले आइकोनअन्र्तगत नृत्य र गायनका प्रतिस्पर्धी विद्यार्थीहरुसहित करिब ८४ जनालाई रमिते डाँडासम्म पदयात्रामा लगेको थियो । प्रतिस्पर्धी विद्यार्थीहरु पदयात्रामा मात्रै रमाएनन्, डाँडामा पुगेपछि आफुमा रहेको गायन र नृत्य प्रतिभा प्रस्तुत गरे । दर्शक बनेका एकेडेमीका शिक्षक र अन्य विद्यार्थीहरुले हुटिङ र ताली बजाउदै रमाए । ‘आउदा त उकालो चढ्न गाह्रो भयो, तर डाँडामा आइपुगेपछि धेरै रमाइलो भयो । साथीहरुको अघि डान्स ग¥यौं, ठुलो स्टेजमा नाच्ने तयारी गर्दैछौं, यसले हाम्रो आत्मविश्वास बढाएको छ’–विजयपुर उच्चमाविबाट एसएलसी परीक्षा दिएकी दिव्याले भनिन् ।
एकेडेमीले एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा उजागर गराउने उद्देश्यले आयोजित आइकोनमा ३० जना विद्यार्थी छनौट भएका छन् । ती मध्ये १५ जना गायन र १५ जना नृत्यका हुन् । शनिबार पदयात्रामा भने अडिशनमा छनौट हुन नसकेका विद्यार्थीहरुलाई पनि सहभागी गराएको एकेडेमीले जनाएको छ । रमिते डाँडा पहिला विष्णुपादुका छुट्टै गाविसमा थियो । अहिले धरान उपमहानगरपलिकामा २४ मा पर्छ । यो डाँडालाई चिण्डे डाँडा, शिवहाङ डाँडा र वावु डाँडा जस्ता अनेक नामले चिनिन्छ । यो डाँडाबाट धरानको ९५ प्रतिशत भन्दा बढी मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । त्यसैले धरानेहरुको रोजाईको गन्तव्य बनेको छ रमिते डाँडा । मात्र ४ किलोमिटरको दुरीमा भएकोले बिहान, बेलुकी हाइकिङ एवं पदयात्रा गर्दै डाँडासम्म पुग्ने धरानेहरुको संख्या बढ्दो छ । बिशेष गरि विदाको दिन शनिबार र धरान बजार बन्द हुने दिन सोमबार रमिते डाँडामा घुइचो हुन्छ ।
पदम मेमोरियल बोर्डिङ स्कुलबाट एसएसली दिएकी १७ बर्षीय स्वास्तिका श्रेष्ठ भविष्यमा नर्स बन्ने सपना छ । उनलाई गायनमा पनि रुचि छ । युनिभर्सल आइकोनमा गायनतर्फ उनी पनि छानिएकी छिन् । शनिबार पदयात्रा गर्दै रमिते डाँडा पुगेकी उनले साथीहरुको माझमा गीत गाइन् । ‘पदयात्रा रमाइलो भयो, डाँडामा साथीहरुको अघि गाउदा पछि स्टेजमा गाउन सक्छु भन्ने हिम्मत बढेको छ’–उनले भनिन् ।
आइकोनअन्र्तगत गायनमा १५ र नृत्यतर्फ १५ जना विद्यार्थी छनौट भएपनि शनिबार पदयात्रामा भने गायनका ११ र नृत्यका ८ जना मात्र प्रतिस्पर्धी विद्यार्थीहरु सहभागी थिए । गायनतर्फ डेष्टी राई, रोहिना राई, किसोर सुनुवार, सुरेश राई, स्वास्तिका श्रेष्ठ, श्रेया बज्रचार्य, विवेक वराइली, सुरज लिम्बु, जोन राई, निमा तामाङ र किरण लामाले एकल गीत प्रस्तुत गरेका थिए । यस्तै, नृत्यतर्फ कृष्मा तामाङ, लमु तामाङ, इच्छा लिम्बु, मेट्रिना चौधरी, प्रकृति राई, दिव्य श्रेष्ठ, सवि राई र पवन तामाङले आफ्नो प्रतिभा देखाएका थिए । विद्यार्थीहरुको आग्रहमा गायनतर्फका प्रशिक्षक विनायक राईले पनि गाएका थिए भने नृत्य प्रशिक्षक दिवस श्रेष्ठले नृत्य देखाएका थिए । एकेडेमीमा एसएसली दिएका विद्यार्थीहरुले विज्ञान र व्यावस्थापनतर्फ ब्रिजकोर्ष गर्दैछन् भने स्टाफ नर्सको प्रवेश परीक्षाको तयारी पनि गरिरहेका छन् ।
एकेडेमीका कोअर्डिनेटर हेमन्त भण्डारीले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न र आइकोनका प्रतिस्पर्धी विद्यार्थीहरुको आत्मविश्वास बढाउन प्रतिभा प्रस्तुत गराउन रमिते डाँडासम्म पदयात्रा गराएको बताए । ‘धरान नजिकै यतिको राम्रो ठाउँ छ, त्यसैले आन्तरिक पर्यटन प्रर्वद्धन गराउने र प्रतिस्पर्धी विद्यार्थीहरुलाई मास फेस गराउनको लागि गायन, नृत्य कला पनि प्रस्तुत गराउन पदयात्रा गराएका हौं’–भण्डारीले भने । उनका अनुसार सोमबार आइकोन अन्र्तगत म्याराथुन र मंगलबार ट्राफिक जनचेतना कार्यक्रम आयोजना गरिनेछ भने जेठ २१ गते धरान सभागृहमा फाइनल आयोजना हुनेछ ।





















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे