दुई नाट्यकर्मीलाई सम्मान(फोटोफिचर)

धरान । जहानीया राणा शासनकालमा नाटक यात्रा प्रारम्भ गरेका पुर्वका पहिलो पुस्ताका नाट्यकर्मी ८३ बर्षीय श्रीप्रसाद श्रेष्ठसहित २ जना सम्मानित भएका छन् ।
नाट्यकर्मी महासंघ(नाम) नेपालको सुनसरी च्याप्टरको प्रथम अधिवेशन समारोहमा श्रेष्ठ र नाट्यकर्मी तथा कलाकार शारदा शाक्य सम्मानित भएका हुन् । श्रेष्ठ र शाक्यलाई महासंघका सुनसरी च्याप्टर अध्यक्ष विशाल भण्डारी, केन्द्रीय अध्यक्ष विजय विष्फोटलगायतले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए ।
श्रेष्ठले २००६ सालतिर नै जीवनज्योति नाटकबाट नाट्य यात्रा प्रारम्भ गरेका थिए । भिमनिधी तिवारीको शिलान्यास नाटक प्रदर्शन गर्ने क्रममा राष्ट्रिय नाचघर हुदै नेपालको प्रतिनिधित्व गर्दै उनी दार्जिलिंग, कालेम्पुङ, सिक्किमसमेत गएर दुई देशबीचको नाट्यको सेतु बनेको महासंघले जनाएको छ । यस्तै, धरानको चर्चित अनाम नाट्य जमातको संस्थापिका मध्ये एक शाक्यले ०४० सालदेखि नै नाटक यात्रा शुरु गरेकी थिइन् । मोफसलको नाट्य क्षेत्रलाई उचाईमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोले सम्मान गरिएको महासंघले जनाएको छ । शाक्यले नाटकसँगै सानो पर्दाका विभिन्न टेलिसिरियलहरमा पनि अभिनय गरेकी छिन् ।
महासंघको अधिवेशन समारोहमा रंगभुमी एकेडेमीले अब टाउको कहिले हल्लिन्छ नाटकको अंश प्रर्दशन गरेको थियो भने गायक कृष्णराजा श्रेष्ठले गीत गाएका थिए । यस्तै, समीर बराइलीले हस्य नृत्य प्रस्तुत गरे भने कवि सुदिप पाख्रिन र सन्तोष थेवेले कविता वाचन गरे । धरान ९ स्थित होटल रत्न इनमा आयोजित कार्यक्रममा हलबाहिर कलरवले पुर्ननिर्माणमा क्यानभासअन्र्तगत बिक्री हुन बाँकी रहेको पेन्टिङको बिक्री प्रर्दशनी पनि गरेको थियो ।

                राज्य अनुदार भएको गुनासो 

रंगमञ्चले सामाजिक क्रान्तिको अगुवाई गरिरहे पनि कला क्षेत्रप्रति राज्य अनुदार भएकोले यथेष्ट विकास हुन नसकेको नाट्यकर्मीहरुले गुनासो गरेको छन् । राज्यप्रति थुप्रै गुनासाहरु भएपनि राज्यको मुख ताकेर भने नबस्ने नाट्यकर्मीहरुको भनाई छ । नाट्यकर्मी महासंघ(नाम) नेपाल, सुनसरी च्याप्टरको प्रथम जिल्ला अधिवेशनको क्रममा महासंघका केन्द्रीय अध्यक्ष विजय विष्फोटले भने–‘कलाको सबै विधामा राज्य अनुदार छ, कलालाई राज्य अनुपत्दक क्षेत्र मान्छ तर नाट्यकर्मीहरु सामाजिक क्रान्तिका अगुवा हुन् ।’ उनले गत बैशाखको भुकम्प पछि सामाजिक अभियान र सचेतना कार्यक्रमहरु गर्न नाट्यकर्मी, कलाकारहरुको भर पर्नुपरेको बताए ।
नाट्यकर्मीहरुलाई व्यावसायिक पहिचानको समस्या भए पनि राज्यको मुख ताकेर नबस्ने उनले बताए । अहिलेसम्म आफ्नै स्रोत, साधान प्रयोग गरेर राजधानीमा टिकट काटेर नाटक हेर्ने व्यावसायिक रंगमञ्च शुरु भएकोमा सन्तोष व्यक्त गर्दै अध्यक्ष विष्फोटले अब आफ्नो गोजीबाट नभई दर्शकको खल्तीबाट नाटक गर्ने अभियान चलाउने बताए । ‘आजसम्म आफ्नो रहरले सिमित स्रोत साधानमा आफ्नो खल्तीको खर्चले देश, समाजको जल्दोबल्दो बिषयलाई जनतामाझ पुर्यायौं, मुलधार भनेको त्यही हो’–पत्रकारहरुसँग अध्यक्षले भने–‘अब दर्शकको खल्तीबाट नाटक गर्ने वातावरण बन्दैछ, धेरै क्षमतावान युवाहरु छन्, उनीहरुले सार्थक रंगमञ्च गर्दैछन् ।’ समाजमा जनचेतना जगाउन नाट्यकर्मीहरुले जल्दाबाल्दा बिषय उठाउनुपर्ने उल्लेख गर्दै उनले रंगमञ्च एनजिओको ढाल हुन नदिन सचेत हुनुपर्ने बताए ।
सुनसरी च्याप्सटका अध्यक्ष विशाल भण्डारीले साधान स्रोतको कमी, आर्थिक अभाव र सरोकारवालाहरुको उदासिनताका बीचमा पनि नाट्यकर्मीहरुले नाटक गरिरहेको बताए । नाटकप्रति राज्य, स्थानीय निकाय र राजनीतिकर्मीहरु बेखबर रहेको तर नाट्यकर्मीहरुको इच्छाशक्ति, दृढ समर्पणले गर्दा नाटक यहाँसम्म आइपुगेको उनले बताए । ‘हामी महासंघको छातामुनि गोलवद्ध भएका छौं, अब महासंघले विभिन्न ठाउँहरुमा नाट्यशाला बनाउने कार्यक्रम लिएर आउनुपर्छ । नाट्यशाला बनाउन चाहने संस्थाहरुलाई सहयोग गर्नुपर्छ’–भण्डारीले भने ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे