गुरु पुर्णिमामा प्राध्यापकद्धय सम्मानित


धरान । गुरु पुर्णिमाको अवसरमा पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले प्राध्यापकहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शुक्रबार गीता भवनमा एक कार्यक्रम गरी पिण्डेश्वर विद्यापिठका पूर्वप्राचार्य प्राध्यापक नारायणदत्त पौडेल र महेन्द्र क्याम्पस धरानका प्राध्यापक डा.गोपाल प्रसाद भण्डारीलाई सम्मान गरेको हो ।
प्राध्यापक पौडेललाई पूर्वीय वाङ्मय विद्यामा र प्राध्यापक भण्डारीलाई आधुनिक विद्यातर्फ सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । सम्मानित दुवैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका  पूर्व शिक्षाध्यक्ष प्राध्यपाक पण्डित पुरुषोत्तम भटराई र प्रतिष्ठानकी संरक्षिका हरिप्रिया कट्टेलले जनही नगद १५ हजार एक सय ११ रुपैयासहित दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा पिण्डेश्वर विद्यापिठबाट शास्त्री तहमा सर्वोत्कृष्ट अंक लाई आचार्य प्रथम बर्षमा अध्ययनरत छात्रा विना राई र उत्तरमध्यमा तहमा सर्वोत्कृष्ट अंक ल्याई शास्त्री प्रथम बर्षमा अध्ययनरत छात्र किरण आचार्यलाई पनि प्रतिष्ठानले प्रतिभा पुरस्कारद्धारा पुरस्कृत गर्यो । दुवै विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैया प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा स्वर्गीय पंण्डित काशीनाथ उपाध्याय कट्टेलद्वारा लिखित आत्मजीवनी “मेरो जीवन यात्रा ” को बहु–आयामिक पक्षहरुलाई केलाउँदै प्राध्यापक डा. टुनराज भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए भने पिण्डेश्वर विद्यापीठका पूर्व प्रार्चाय सह–प्राध्यापक डा. रमेश घिमिरेले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । सोही कार्यक्रममा प्रतिष्ठानकी संरक्षिका हरिप्रिया कट्टेलले दमक नगरपालिका ४ मा आफ्नो नाममा रहेको १० कट्ठा जग्गा कोष स्थापनाको लागि प्रतिष्ठानलाई प्रदान गरेको घोषणा गरेकी छिन् भने प्रतिष्ठानका सदस्य जगन्नाथ कट्टेलले नगद २० हजार प्रदान गरे । प्रतिष्ठानका अध्यक्ष पण्डित प्राध्यापक नारायण प्रसाद शर्मा कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, सम्मानित व्यक्तित्व र पुरस्कृत विद्यार्थीहरुले पनि आफ्नो मन्तव्य राखेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे