छथरे समाजले संग्रहालय स्थापना गर्ने


धरान । छथरे समाजले छथर थुमबाट लोप हुदै गएको मौलिक ऐतिहासिक सामग्रीहरुको संरक्षण गर्न धरानमा संग्रहालय स्थापना गर्ने घोषणा गरेको छ । समाजले धरान १५ स्थित आफ्नै भवनमा सानबहादुर कुमति पारघरी खजुम संग्रहालय स्थापनाको घोषणा गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै समाजले पुर्वमै पहिलो समाजिकस्तरमा निर्माण भएको संग्रहालय यही भदौ १२ गतेदेखि सञ्चालन गर्ने पनि जानकारी दिएको छ । समाजको भवनमा संग्रहालय स्थापनाको लागि पुर्वगोर्खा मेजर झप्तमान खजुम पारघरी लिम्बुले १५ लाख आर्थिक सहयोग दिएका छन् । समाजका वरिष्ठ सल्लाहकारसमेत रहेका उनले आफ्ना आमा बुबाको स्मृतिमा संग्रहालय निर्माण गरिदिएका हुन् । संग्रहालयलाई आवश्यक मौलिक ऐतिहासिक तथा पुरात्तात्विक सामग्रीहरु भने मुन्धुमविद भरत तुङ्घङबाट प्राप्त भएको समाजले जनाएको छ ।
‘धनकुटामा क्षेत्रीय संग्रहालय छ, तर सामाजिकस्तरमा स्थापना हुन लागेको यो पहिलो संग्रहालय हो । छथर क्षेत्रको लिम्बुसँग सम्बन्धित सामग्रीहरु धेरै हुन्छ । तर, त्यस क्षेत्रका अन्य जातजातिको पनि सामग्रीहरु राखिनेछ’–समाजका महासचिव एवं सञ्चारकर्मी भैरव आङ्लाले भने । उनका अनुसार भदौ १२ गते सञ्चालनमा आएपछि ६ महिनासम्म निशुल्क अवलोकन गर्न पाइनेछ भने त्यसपछि संस्थाले निर्णय गर्नेछ ।
मुन्धुमविद् भरत तुङ्घङका अनुसार संग्रहालयमा छथर क्षेत्रको चेप्सा(काट्ने हतियार), गुप्ती, हसुलीसँगै ऐतिहासिक लालमोहर, प्वालो, १२ औं शताब्दीतिरको पैसा(सिक्का)लगायत ६० थान जति ऐतिहासिक,पुरात्तात्विक सामाग्रीहरु रहनेछ । ती प्रत्येक सामग्रीसँगै जानकारीसमेत राखिनेछ । जसले अध्ययन गर्न आउनेलाई कुन सामग्री हो भनेर सजिलै बुझ्न मद्दत पुग्छ । ‘छ थरको लिम्बुसँग सम्बन्धीत र अन्य लोपोन्मुख ऐतिहासिक, पुरात्तात्विक सामाग्रीहरु हुनेछ, यसले ती वस्तुहरुको संरक्षणसँगै पर्यटन प्रर्वद्धनमा पनि मद्दत पुग्छ भन्ने आशा छ’–उनले थपे ।
तेह्रथुम र धनकुटा जिल्लाको विभिन्न २१ वटा गाविस छथर थुममा पर्छ । संग्रहालयले लोपोन्मुख वस्तुहरुको संरक्षण, संर्वद्धनसँगै नयाँ पुस्तालाई ज्ञानको हस्तान्तरणसमेत हुने समाजका अध्यक्ष संखबहादुर थोक्लेनले बताए । संग्रहालयमा लिम्बुको मात्रै नभएर छ थरको लोपोन्मुख सामग्रीहरु सबै संकलन गरिने भएकोले सहयोग गर्न उनले छथरबासीलाई पनि आग्रह गरे । छथर थुममा बसोबास गर्नेहरुले ०५८ सालमा संस्था स्थापना गरेका थिए । यसले थुमको ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको क्षेत्र तथा पर्यटकीयस्थलहरुको संरक्षण, संवद्र्धन र प्रर्वद्धन गर्न दुई पटक सँस्कृतिक महोत्सवसमेत गरिसकेको छ भने हरेक बर्ष रक्तदान, एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर पनि गरिसकेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे