बन्दले जनतालाई सास्ती:‘आउन त आए, जानु कसरी ?’


धरान । सुनसरीको भरौल ३, मिलन चोकका ७९ बर्षीय टिकाराम पुरीलाई कृत्रिम पिसाब नली फेर्न शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नु थियो । बिहानै बस चढेर उनी धरानतिर हिडे ।
बसले उनलाई गन्तव्यमा भने पुर्याइदिएन । बीपी प्रतिष्ठानभन्दा करिब अढाई किलोमिटर पर सर्दु खोलाबाट बस धरानतर्फ जानै मानेन् । शुक्रबार संघीय समाजवादी फोरमले मधेशसँगै लिम्बुवान र किरात क्षेत्रमा बन्द आह्वान गरेको थियो । जसको पुर्वजानकारी वृद्ध पुरीलाई थिएन । बस अघि जान नमानेपछि उनीसहितको यात्रु त्यहीबाट विकल्पको खोजी गर्दै गन्तव्यतर्फ हिडे । पुरीका अनुसार सर्दुबाट प्रतिष्ठानसम्म करिब अढाई किलोमिटरको बाटोको लागि उनले टेम्पोलाई अतिरिक्त सय रुपैया तिर्नुपर्यो ।
पुरीको सास्ती त्यतिमै सिमित भएन । प्रतिष्ठानमा ओपिडीमा पिसाब नली(कृत्रिम पाईप) पनि फेरिसकेपछि उनी पुनः अलपत्र परे । मध्याह्नमा प्रतिष्ठान परिसरमा भेटिएका पुरी अब कसरी घर पुग्ने भनेर चिन्तित थिए । उनी दमका पनि रोगी छन् । दुई चार पाइला हिड्यो कि सास बढेर समस्या भइहाल्छ । ‘यता बन्द छ भन्ने थाहै भएन, आउदा पनि धेरै दुःख पाइयो’–चिन्तित हुदै वृद्ध पुरीले भने–‘अब खै कसरी घर जाने हो ? गाडी पनि छैन । दमको विरामी छु, दुई पाइला हिड्न पनि हुदैन ।’
संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्दा प्रदेशको संख्या, धर्मनिरपेक्षतालगायत केही मुद्दाले मुलुकमा अशान्ति छाएको छ । बन्द हड्तालको श्रृंखला शुरु भएपछि संविधान जारी भएर मुलुकमा शान्ति छाउला भन्ने आशामा बसेका पुरी जस्ता बुढापाका एवं सर्वसाधारणहरुले अनेक सास्ती भोग्नु परेको छ । यातायात ठप्प हुदा सर्वसाधारणहरु उपचार गराउन अस्पतालसम्म जान पाएका छैनन् । बजार ठप्प हुदा आवश्यक किनमेल पनि बन्द छ । संघीय समाजवादी फोरमका सुनसरी जिल्ला वरिष्ठ उपाध्यक्ष पारस काङमाङले सप्तरीको भारदहमा गोली लागेर मृत्यु भएका राजीव झालाई शहीद घोषणा, परिवारलाई क्षतिपुर्तिलगायतको माग गर्दै शुक्रबार बन्द गरिएको बताए ।
पुर्वमा गत साउन १ गतेदेखि धर्मनिरपेक्षताको विरोधमा हिन्दु धर्म सापेक्ष राष्ट्रको माग गर्दै इटहरीमा हिन्दु धर्मका अनुयायीहरुले आन्दोलन शुरु गरेका थिए । करिब एक सातासम्म दैनिक २ घण्टा सडक ठप्प परेका अनुयायी र प्रहरीबीच झडपसमेत भएको थियो । त्यसपछि, संघीय लिम्बुवान पार्टीले अरुण पुर्वका ९ जिल्लालाई लिम्बूवान राज्यको माग गर्दै साउन २८ गते पुर्व ठप्प बनायो भने साउन ३१ र ३२ गते लिम्बुवान, संघीय समाजवादी, नेकपा–माओवादीलगायत मोर्चाले आमहड्ताल गर्यो । त्यसयता मधेशमा अनिश्चितकालीन हड्तालको क्रममा प्रहरी र बन्दकर्ताबीच झपड भइरहेको छ ।

               विरामी संख्या घट्यो

लगातारको बन्द, हड्तालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने विरामीको संख्यामा कमि आएको छ । बन्दको कारण टाढाबाट विरामीहरु आउन छोडेका छन् । धरान र आसपासको क्षेत्रबाट मोटरसाइकलमा आउन सक्ने विरामीहरु मात्रै उपचारमा आइरहेको प्रतिष्ठानले जनाएको छ । गम्भीर प्रकृतिका विरामीहरुको लागि भने बन्दकर्ताले एम्बुलेन्सलाई रोकेको छैन ।
प्रतिष्ठान पुर्वकै ठुलो र भरपर्दो स्वास्थ्य संस्था भएकोले यहाँ पुर्वका सबै जिल्लाबाट विरामी रिफर भएर आउछन् । पुर्वको काकडभिट्टादेखि पश्चिम रौतहट, पहाडी जिल्ला सबै र भारत विहारबाटसमेत यहाँ उपचार गराउन आउछन् । प्रतिष्ठानको ओपिडी विल काउण्टरकी कर्मचारी देवकुमारी तामाङको अनुसार सामान्य दिन कम्तीमा हजार जनाको नयाँ विल काटिन्थ्यो । अचेल ४/५ सयको हाराहारीमा झरेको छ । बिशेष गरी तराईबाट आउने विरामीहरु ठप्पै छन् ।
सामान्यतया ः नयाँ र पुरानो(फलोअप) गरी दैनिक २ हजारदेखि २ हजार ५ सयको संख्यामा ओपिडीमा उपचार हुन्छ । तर, बन्द हडतालको श्रृंखला शुरु भएपछि संख्या हजारमा झरेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर अरविन्द सिन्हाले बताए । विरामी संख्या घटेपछि यसले अस्पतालको आम्दानीमा समेत असर पुगेको उनको भनाई छ । ‘पुर्वको ठुलो अस्पताल यही हो, यहाँ सबैतिरका विरामी रिफर भएर आउने हो । तर, बन्दको कारणले अहिले विरामीहरुको संख्या घटेको छ’–अस्पताल निर्देशक सिन्हाले भने–‘एउटा विरामीले ओपिडी कार्ड, विभिन्न जाँच, एक्सरेहरु गर्नुपर्छ । यी सब काम कम हुदा आम्दानीमा पनि असर पुग्छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे