बराहको सफलता, गहना पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म

धरान । दुई दशकअघि ८ बर्ष बहराइन बसेर फर्किएका इन्द्रबहादुर बिक लामिछानेले स्वदेशमै व्यापार गर्ने उद्देश्यले धरानका विभिन्न वित्तिय संस्थाहरुमा लगानीको प्रस्ताव लिएर गए । तर, त्यतिबेला कसैले पत्याएन । उनले आफ्नै सानो पुजीबाट ०५२ सालमा बराह ज्वेलरीको नाममा सुनचादीको गरगहना बनाउने व्यापार शुरु गरे ।
लामिछानेसँग व्यापारको ‘भिजन’ थियो । उनको त्यही भिजन(परिकल्पना), मेहनत र कुशल नेतृत्वले ८ बर्षमै व्यापार–व्यावसायमा फड्को मारे । कोठा भाडामा लिएर शुरु भएको व्यावसाय ०६० सालमा आइपुग्दा धरान ५ मा आफ्नै भवनमा बराह ज्वेलरी ट्रेड सेन्टरको नाममा सर्यो । बराह सपिङ कम्प्लेक्सको नामले चिनिएको उक्त भवनमा सरेपछि ज्वेलरीबाहेक बराहले अन्य व्यापार व्यावसायमा पनि लगानी र विस्तार गर्दै गयो । ग्राहकहरुको विश्वास र साथ पाएको बराहले ०६० सालमै काठमाण्डौंमा पनि व्यापार विस्तार गरिसकेको थियो । ०६५ सालमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि दर्ता गरेर आफ्नो व्यापारलाई प्रालिले पोखरा हुदै युकेदेखि हङकङसम्म विस्तार गरिसकेको छ । प्रालिका संस्थापक एवं परिकल्पनाकार लामिछानेको ०६९ माघ १९ मा हङकङमा रहस्यमय मृत्यु भयो । यो घटनाले पनि बराह विचलित भएन । उनको परिवार र स्थापनाकालदेखिकै सहयात्रीहरुले बराहलाई कुशलतापुर्वक हाँकेका छन्, र व्यापारको नयाँ नयाँ क्षेत्रमा बर्षेनी लगानी थप्दै विस्तार गरिरहेका छन् ।
‘आदरणीय दाई(इन्द्रबहादुर)ले सानो पुजिबाट शुरु गरेपनि त्यतिबेलै भविष्य के के गर्ने भन्ने भिजन थियो, उहाँ बित्नुभए पनि अहिले उहाँकै भिजनअनुसार व्यापार, व्यावसाय र सेवालाई विस्तार गरिरहेका छौं’–स्वर्गीय लामिछानेका सहयात्री एवं प्रालिका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा भन्छन्–‘यो सबै भिजनअनुसार हाम्रो मेहनत, इमान्दारिता, निरन्तरता र सिस्टममा चलेको कारणले नै हो ।’ सुनचादीबाट शुरु भएको बराहको व्यावसाय डिपार्टमेन्ट स्टोर, फेन्सी तथा थान कपडा, रेमिट्यान्स, सहकारी, ट्राभल्र्स एण्ड टुर्स, एम्बुलेन्स, पानी ट्यांकर, रात्रीबस, चाइना संसार हुदै बाल संसारसम्म पुगिसकेको छ । बराहले अर्ब बढीको कारोबार गर्छ । राज्यलाई झण्डै ४० लाख बराबारको राजश्व बर्षेनी बुझाउछ । बराहको प्रगतिमा ब्रिटिश आर्मी, ब्रुनाई, सिंगापुर पुलिस र भारतीय सैनिक तथा तिनका परिवारको ठुलो योगदान भएको उनी स्मरण गर्छन् । पल्टनबाट आउदा सुन ल्याउने र गरगहना बनाउन दिने, त्यहीबाट खरीद बिक्री गरिदिने गर्नाले बराहले व्यापारमा फड्को मार्न सकेको उनले बताए ।
ग्राहक एवं उपभोक्ताहरुलाई बराहमा ‘नुनदेखि सुनसम्म’ हरेकथोक पाइन्छ भन्ने छ । धरान ५ स्थित चार तले बराह कम्प्लेक्सको भुईतलाको अघिल्लो भागमा सुनचादी र पत्थरजडित परम्परागत एवं आधुनिक डिजाइनको गहगहना शोरुम छ । शुरुवाती यो व्यापार नै बराहको ब्राण्ड(पहिचान) हो । त्यही भुईतलामा प्रालिले बराह डिपार्टमेन्ट सञ्चालनमा ल्याएको छ । जहाँ खाद्यान्न, पेय तथा ग्रोसरीलगायत दैनिक घरायसी उपभोग्य वस्तु उपलब्ध छ । पहिलो तलामा ग्राहकले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ब्राण्डको तयारी पोशाक(फेन्सी आइटम) र थान कपडा खरीद गर्न पाउनेछन् भने दोस्रो तलामा ०७० सालदेखि प्रालिले बराह चाइना संसार सञ्चालनमा ल्याएको छ । ‘धरान महंगो बजार भयो भन्ने धेरै गुनासो सुन्यौं, त्यसैले ग्राहकहरुलाई सस्तोमा सामान दिन चीनमा उत्पादित इलेक्ट्रोनिक्स, घरासयी किचेन, सजावट र ब्राण्डेड मोवाईल पनि पाउने गरि चाइना संसार खोल्यौं’–शाखा प्रमुख विश्वकर्माले भने ।
कम्प्लेक्सको तेस्रो तलामा इनद्र बराह ट्राभल्र्स एण्ड टुर्स छ । यही रेमिट्यान्स सेवा पनि छ भने ०६६ सालबाट बराह बचत तथा ऋण सहकारी संस्था पनि तेस्रो तलामा नै सञ्चालनमा छ । यो सहकारीले गत आर्थिक बर्षमा मात्रै करिब २३ करोड बराबारको कारोबार गरेको थियो । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई खुकुरी, च्याउ खेती, वंगुरपालनलगायत कृर्षि क्षेत्रमा लगानी गरेको छ । यसबाहेक यही तलाबाट प्रालिले मानवीय सेवाको लागि एमबुलेन्स सेवा र घरमा खानेपानी पुर्याउन खानेपानी ट्यांकर पनि सञ्चालन गरेको छ । आफ्ना सेयर सदस्य र ज्यादै विपन्नलाई यी दुवै सेवा निःशुल्क छ ।
चौथो तलामा गत बर्षदेखि बराह बाल संसार सञ्चालनमा छ । एघार बर्षसम्मका बालबालिकालाई मनोरञ्जन, शारीरिक कसरत र बौद्धिक विकास गराउने खेलसामग्री छन् । अभिभावकहरुले अढाई तीन घण्टा छोराछोरी यहाँ छोडेर ढुक्कले सपिङ्ग गर्न वा जरुरी काम गर्न भ्याउछन् । प्रालिले बच्चा हेरिदिन सुरक्षाकर्मी र कर्मचारी नै खटाएको छ । त्यही तलामा बराह किचन छ, जहाँ चाइनिज, इण्डियन र नेपाली परिकारको स्वाद पाइन्छ । ‘एउटै छानामुनि दैनिक जीवनमा आवश्यक, घरासयी सबै प्रकारका सामान पाइन्छ । डिर्पाटमेन्टअन्र्तगतको सामान विना शुल्क ग्राहकको घरसम्म पुर्याइदिन्छौं । लेवर खर्च पनि तिर्नुपदैन’–प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले भने–‘ग्राहकको सुरक्षालाई बिशेष ध्यान दिएर सिसिटिभि क्यामेरा राखेकोले सुरक्षित महसुर गराउछ । बृद्धवृद्धा र भिन्न क्षमता भएकाहरुलाई लिफ्टको व्यवस्था छ ।’
प्रालिले ०७० सालदेखि धरान काठमाण्डौं रुटमा इनद्रबराह रात्री बस शुरु गरेको थियो । काठमाण्डौंको त्रिपुरेश्वरमा ०६९ देखि कृपा दृष्य डिजिटल स्टुडियो सञ्चालनमा छ । पाटन औद्योगिक क्षेत्रमा प्रालिको प्रोडक्सन हाउस छ । जहाँ सय जनाले परम्परागत र आधुनिक डिजाइनका गरगहना उत्पादनमा संलग्न छन् । प्रालिका अनुसार ३ सय ५० जनाले प्रत्यक्ष र ३ हजारले अप्रत्यक्ष रोजगारी पाएको छ । प्रालिको काठमाण्डौं न्यु रोड गेटमा आप्mनै भवन छ भने पिपलबोटमा पनि ज्वेलरीको व्यापार विस्तार छ । काठमाण्डौंमा अभिमत वचत तथा ऋण सहकारी पनि सञ्चालनमा छ । पोखरा सभागृहमा गोर्खा एण्ड बराह ज्वेलरी, हङकङको जोर्डन सांघाई स्ट्रिटमा इन्द्रबराह एच.के.लिमिटेड र बेलायतमा अल्डरसोटमा पनि ज्वेलरीको व्यापार छ ।

                             बराहको भावी योजना

बराह कम्प्लेक्ससँगैको डेढ कट्ठा जमिन खरीद गरेको प्रालिले नयाँ भवन निर्माण गरिरहेको छ । त्यहाँ सुनचादी तथा पत्थरजडित व्यावसाय सर्नेछ । डेढ कट्ठा जमिनमा चाडै नयाँ डिर्पाटमेन्ट स्टोर पनि सञ्चालनमा आउदैछ भने केही महिनाभित्रै २ वटा दिवा सेवा थप गर्ने प्रालिले जनाएको छ । यही बर्ष चितवनको नारायणगढमा भवन निर्माण गरेर शाखा कार्यालय सञ्चालन गर्ने पनि बराहको योजना छ भने उत्पादनशील कृर्षि क्षेत्रमा पनि लगानी गर्ने शाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।

कुराकानी
                                मानबहादुर विश्वकर्मा, शाखा प्रमुख
प्रश्नः बराहले २१ औं बार्षिकोत्सव कसरी मनाउदैछ ?
उत्तरः भदौ ५ गते बराहको बार्षिकोत्सव हो । विगतमा जस्तै मानवीय सेवाको लागि ५ गते बिहान ठिक ७ बजे धरान र काठमाण्डौंमा गरि ६ स्थानमा एकै पटक रक्तदान कार्यक्रम गर्दैछौं । काठमाण्डौंमा पिपलबोट, भुगोलपार्क र धरानमा भानुचौक, रेल्वे, पिण्डेश्वरी चोक, जिरो प्वाइन्ट र धरान सभागृहमा एकै समयमा रक्तदान हुन्छ ।
धरान सभागृहमा हुने बार्षिकोत्सवमा ३ जना व्यक्तित्वलाई सम्मान गछौं । बर्षभरि ज्वेलरी खरीद गर्ने उत्कृष्ट ३ ग्राहकलाई पनि सम्मान हुन्छ । डिपार्टमेन्टमा न्युनतम १० हजारदेखि ८ लाखसम्म खरीद गरेका २११५ जना ग्राहकहरुलाई बिशेष उपहार दिन्छौं । त्यसमध्ये एक जना भाग्यशाली ग्राहकले स्कुटी उपहार पाउछन् । धरान, पोखरा, हङकङका उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गछौं ।

प्रश्नः बराहको सफलताको श्रेय कस्लाई दिनुहुन्छ ?
उत्तर ः सफलताको श्रेय आदरणीय दाई इन्द्रबहादुर लामिछाने ज्युको भिजन, कुशल नेतृत्व र हामी सबैको इमान्दारीता, मेहनत अनि निरन्तरताले हो । हाम्रो यो प्रतिवद्धताले ग्राहक, शुभचिन्तकहरुको विश्वास कमायौं । ब्रिटिश आर्मी, ब्रनाई, सिंगापर अनि भारतीय सैनिक र उहाँहरुको परिवारजन, आदिबासी जनजाति र समग्र धरानबासीहरुले पनि साथ दिनुभएकोले नै यो स्थानमा पुग्यौं ।

प्रश्नः बराहले नाफा मात्रै कमाउने हो ?
उत्तर ः व्यावसायिक प्रतिष्ठान भएकोले नाफा हुन्छ नै । तर, नाफाको १० प्रतिशत समाजमा पनि लगानी गछौं । भडेटारस्थित पाथीभारा मन्दिर र बराहक्षेत्रमा स्वागतद्धार बनायौं । पत्रकार महासंघलाई भवन बनाउन १० लाख सहयोग, तीनकुनेमा इन्द्रेश्वर महादेवको प्रतिमा बनायौं । यस्तै, विभिन्न सामाजिक तथा खेलकुद संघसंस्थाहरुलाई सहयोग पनि गरिरहेका छौं । मानवीय सेवाको लागि एम्बुलेन्स र खानेपानी ट्ंयाकर पनि छ । धरानका कार्यरत १६० जना मध्ये १०२ जना कर्मचारीको पौने २ करोड रुपैयाको जीवन विमा पनि गरिदिएका छौं ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे