सातौं खेलकुदको आधाजसो खेल सुनसरीमा गर्न सिफारिश


धरान । मंसिर दोस्रो साता पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना हुने खेलहरुमध्ये सबैभन्दा धेरै खेल सुनसरीमा आयोजना गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषदबाट साउन पहिलो साता स्थलगत अध्ययनमा पुर्व आएको निरीक्षण टोलीले कुल खेलमध्ये १८ वटा खेलहरु सुनसरी जिल्लामा आयोजना गर्न सिफारिश गरेको हो ।
टोलीले ती खेलहरु सुनसरीको धरान र इटहरीमा आयोजना गर्न पनि सुझाएको छ । अध्ययन टोलीले मोरङमा ११ खेल गर्न सुझाएको छ भने झापामा ५ वटा, उदयपुर, सिरहा र सप्तरीमा एक एक वटा खेल आयोजना गर्न सुझाएको छ । सातौं राष्ट्रिय खेलकुदमा कुल ३५ वटा विधाका खेलहरु आयोजना हुदैछ । राखेपका सदस्य सचिव केशव विष्टसहित परिषदको प्राविधिक टोली साउन पहिलो साता पुर्वाञ्चलको खेलकुद पूर्वाधार निरीक्षणमा आएको थियो । टोलीले खेलस्थानसमेत तोकेर प्रतिवेदन परिषदमा बुझाएको छ ।
‘सुनसरी र धरान खेलकुद र खेलाडीको उर्बर भुमी हो । त्यसैको आधारमा पनि हुनसक्छ, निरीक्षण टोलीले यो जिल्लामा धेरै नै खेलहरुको आयोजना गर्न सिफारिश गरेको छ’–पुर्वाञ्चल खेलकुद विकास समितिमा हालै नवनियुक्त अध्यक्ष रविन नगरकोटीले भने–‘आवास, खानपिन, यातायात, उपचार, अस्पताल, प्रशिक्षक, पूर्वाधार र खेलको लोकप्रियताको आधारमा सिफारिश भएको छ, परिषदबाट निर्णय भने हुनबाँकी छ, त्यसमा केही थपघट हुनसक्छ ।’ अध्यक्ष नगरकोटीले दिएको जानकारी अनुसार सुनसरीको धरानमा पुरुष फुटबल, बक्सिङ(महिला र पुरुष), कराते अञ्चल प्रहरी कार्यालय, बास्केटवल (महिला र पुरुष), शारीरिक सुगठन र स्क्वास(महिला र पुरुष) खेल धरानमा आयोजना गर्न सिफारिश गरिएको छ । यस्तै, लङ टेनिस(महिला र पुरुष), गल्फ र साइक्लिङका खेल पनि धरानमा गर्न सिफारिश भएको छ । यसैगरि, सुनसरीको इटहरीमा नै एथलेटिक्स, तेक्वान्दो, भलिवल(महिला र पुरुष), आइटिएफ, फुल कन्ट्याक्ट कराते, पौडी, क्रिकेट(महिला) र तेक्वान्दो युनियन पनि आयोजना गर्न सुझाएको छ ।
मोरङमा हुने खेलहरुमा महिला फुटबल, टेवलटेनिस, कबड्डी, हक्की, सुटिङ, सफ्ट टेनिस, पुरुष क्रिकेट, विलियार्ड स्नुकर, आर्चरी, सेपाकटाक्रो र खो खो आयोजना गर्न सिफारिश गरेको छ । झापामा आयोजना गर्न सिफारिश गरिएका खेलहरुमा ब्याडमिन्टन, उसु, जुडो, चेस र जिम्न्यास्टिक खेल छ । यस्तै, सिरहाको लाहनमा कुस्ती, उदयपुरमा ह्याण्डवल र सप्तकरीको राजविराजमा भारोत्तलन खेल आयोजना गर्न टोलीले सिफारिश गरेको छ । ट्रायथलन भन्ने खेल सुनसरी र मोरङ दुवै जिल्लामा आयोजना गर्न पनि टोलीले सुझाएको छ । सातौं खेलकुदको उद्घाटन विराटनगरमा र समापन समारोह धरानमा आयोजना हुने लगभग निश्चित भइसकेको छ ।
क्षेत्रीय अध्यक्ष नगरकोटीले भौतिक पुर्वाधार निर्माण अन्र्तगत धरान रंगशालाको प्याराफिट निर्माणमा एक करोड विनियोजन भएको पनि जानकारी दिए । यस्तै, इटहरी रंगशालाको लागि ४० लाख, इटहरी तेक्वान्दो हललाई १० लाख बजेट छुट्टिएको पनि बताए । ‘सातौं खेलकुदको तीन महिनामात्रै समय छ, यी बजेटलाई सक्दो चाडै निकासा गरेर स्थानीयस्तरमा उपभोक्ता समिति गठन गरी काम गछौं’–नगरकोटीले भने–‘परिषदबाट फेरि प्राविधिक टोली केही दिनमै आउदैछ ।’

                                            इमान्दार हुन खेलकर्मीको सुझाव


जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीहरुलाई इमान्दर भएर खेलाडीहरुको हितमा काम गर्न सुनसरी जिल्लाका खेलाडी एवं प्रशिक्षकहरुले सुझाव दिएका छन् ।
सुनसरी जिल्ला खेलकुद विकास समितिले सातौं खेलकुदको तयारीबारे शनिबार सुझाव संकलन गर्न आयोजित अन्र्तक्रियामा खेलकुदकर्मीहरुले यस्तो सुझाव दिएका हुन् । खेलाडी तथा प्रशिक्षकहरुले सुदुरपश्चिममा आयोजित छैटौं खेलकुदमा खेलाडीहरुले भत्तासमेत नपाएको भन्दै पदाधिकारीहरुलाई इमान्दर हुन सुझाव दिए । ‘छैटौं खेलकुद हुदा खेलाडीहरुले भत्ता पनि पाएनन्, धेरै खेलाडी विचल्ली भए । तर, पदाधिकारीहरुले भने धेरै भत्ता लिए’–सितेरियो कराते संघका उपाध्यक्ष कुशराज राईले भने–‘खेलाडीहरुलाई मार्ने काम नगरौं, गलत प्रवृत्तिबाट माथि उठेर काम गरौं, पदाधिकारी इमान्दर हुनुपर्छ ।’
एथलेटिक्सका अन्र्तराष्ट्रिय खेलाडी आशाराम चौधरीले पनि पुर्वाधार निर्माणमा र खेलाडीहरुको सेवा सुविधामा घोटला नगरी इमान्दार भएर काम गर्न आग्रह गरे । खेलाडीको खाने बस्ने र यातायात व्यवस्थानबारे पदाधिकारीहरु संवेदनशील भइदिनुपर्ने उनको भनार्य थियो । साथै उनले इटहरी रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्रयाक खेलाडीको लागि उपयुक्त नभएको बताए । ‘एकदेखि आठौं लेन सम्म नै हुनुपर्छ तर त्यहाँ बाटो जस्तो बिचमा उठेको छ, त्यो ट्रयाक सही छैन । बीचमा पेलेर सम्म बनाउनुपर्छ’–उनले भने ।
भलिवलका प्रशिक्षक गौरी चौधरीले भलिवल खेलको लागि पुर्वाञ्चलमा एउटा पनि कवर्डहल नभएकोले सातौं खेलकुदकै दौरानमा निर्माण गर्न पहल हुनुपर्ने माग गरे । जिल्ला बास्केटवल संघका सचिव नारायण सुवेदीले छैठौंमा जस्तो खेलाडीले दुःख पाउने अवस्था सृर्जना नगराउन सुझाव दिदै क्लोज क्याम्प चाडै शुरु गर्न आवश्यक रहेको बताए । ‘सातौं खेलकुदको व्यवस्थापन उच्चस्तरको बनाउने जिम्मेवारी क्षेत्रीय र जिल्ला समितिको हो । यसले आन्तरिक पर्यटकलाई पनि बढावा दिन्छ, यो खेलकुद हाम्रो हो भन्ने भावनाले अभियानमा लाग्नुपर्छ’–एन्फा क्षेत्रीय सदस्य दिपक राईले भने ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राईले मंसिरमा हुने सातौं खेलकुदलाई भव्य र सफलरुपमा कसरी आयोजना गर्ने भनेर बुद्धिजिवि, खेलाडी, प्रशिक्षक र खेलकुद संघ पदाधिकारीसँग अन्र्तक्रिया गरिएको बताए । सबैको सुझावलाई जिल्ला तह, क्षेत्र र केन्द्रीत तहबाट कार्यान्वयन गर्न सक्दो पहल गर्ने उनले बताए । ‘भौतिक पुर्वाधार, खेलाडीलाई सुविधा, व्यवस्थापन र मेडल बढी जित्न के गर्ने भनेर राम्रा सुझावहरु आएका छन् यसलाई जिल्लाले सक्छ भने स्थानीयस्तरबाटै, नत्र क्षेत्र र केन्द्रबाट कार्यान्वनय गर्न पहल गछौं’–जिल्ला अध्यक्ष राईले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे