भेडेटारको पर्यटन विकासमा छिमेकी जिल्ला र नगरबाट पनि लगानीको माग

धरान । पर्यटकीयस्थल भेडेटारको विकास र पर्यटन गन्तव्य थप गर्न त्यहाँका स्थानीय र पर्यटन व्यावसायीहरुले छिमेकी जिल्ला, नगरबाट पनि लगानी हुनुपर्ने माग गरेका छन् । शंखेस्वर महादेव मुर्ति मन्दिरको पहिलो बार्षिक उत्सव तथा नेष्ट संस्थाको साधारणसभा मनाउदै उनीहरुले स्थानीयस्तरबाट मात्रै भेडेटारको विकास सम्भव नभएकोले धनकुटा, सुनसरी र मोरङलेसमेत पर्यटनमा लगानी गर्नुपर्ने माग गरेका हुन् ।
सुनसरी र धनकुटाको सिमाना रहेको भेडेटारसँग मोरङको पनि उत्तरी क्षेत्र जोडिन्छ । तीन जिल्लाको सिमाना रहेको भेडेटार पर्यटकको प्रमुख गन्तव्य भइरहेपनि अपेक्षित बजेट पाउन नसकेको स्थानीयको गुनासो छ । ‘भेडेटारमा धनकुटाले मात्रै होइन, सुनसरी–धरान र मोरङले पनि यहाँको पर्यटनमा लगानी गर्दा मात्रै विकास सम्भव छ । धरानले यहाँको स्रोतको उपयोग मात्रै गर्छ, र उल्टै गिद्दे नजर लगाउछ’–प्राकृतिक वातावरण स्रोत तथा पर्यटनका उपाध्यक्ष जगत राईले भने–‘अहिले भेडेटारको केही भाग धरानमा पनि पर्छ, अब धरान र सुनसरीले सहकार्य गरी यहाँ लगानी गर्नुपर्छ, तब मात्रै भेडेटारको पर्यटन विकास र प्रर्वद्धन सम्भव छ ।’ शंखेस्वर मुर्ति मन्दिर छोटो समयमा नै पर्यटकको प्रमुख गन्तव्य बन्न पुगेको भन्दै यस्ता अरु संरचना र गन्तव्य आवश्यक भएको बताए ।
स्थानीय समाजसेवी हरिबहादुर लिम्बुले भेडेटारमा धान फल्ने खेत नभएकोले प्रकृति, वन्यजन्तु र चराचुरङ्गीलगायतको संरक्षण गर्दै पर्यटन विकास र प्रर्वद्धनमा नै जोडदिनुपर्ने बताए । भेडेटारमा भित्रिने पर्यटकहरुबाट स्थानीयले मात्रै नभई छिमेकी जिल्ला र नगरलाई पनि फाइदा पुग्ने भन्दै उनले ती जिल्ला र नगरले पनि बजेटमा उच्च प्राथमिकता दिनुपर्ने उनको भनाई छ । ‘हामीले वन्यजन्तु, चराचुरुङ्गी जोगाइदिएकै छौं, तर अझै पनि पर्यटकलाई लोभ्याउने ठाउँहरुको खाँचो छ’–उनले थपे–‘यहाँ केवलकारको पनि सम्भावना छ । धरान, इटहरी, धनकुटाले यहाँको पर्यटन विकासमा प्राथमिकता दिदा त्यहाँ पनि फाइदा पुग्छ ।’ भेडेटार गाविस सचिव नारायणप्रसाद खनालले भेडेटार सुनसरी र मोरङको पनि सिमा क्षेत्र भएकोले एकीकृत पर्यटन विकासमा सहकार्य गर्न जरुरी रहेको बताए । साथै उनले पर्यटनलाई विविधिकारण गर्दै प्याकेजकोरुपमा अघि बढाउन आवश्यक रहेको पनि बताए ।
मन्दिर व्यावस्थापन समितिका अध्यक्ष खगेन्द्र कुँवरले शंखेश्वर मन्दिर बनिसके पछि पर्यटकहरुको चहलपहलमा बृद्धि भएको उल्लेख गर्दै मन्दिर संरक्षण र सुरक्षामा स्थानीयले जिम्मा लिनुपर्ने बताए । मन्दिर निर्माण भइसकेपछि भेडेटारको पर्यटन र व्यावसालाई उर्जा थपिएको उनको भनाई थियो । नाम्जे पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर मगरले बजारमा सोलार बत्ति हालेर सौन्दर्य बढाएको, सागुरी गढीको पुननिर्माण गरेको उल्लेख गर्दै पर्यटकको लागि गन्तव्यहरु थप्दै जानुपर्ने बताए । होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले भेडेटारको दिगो पर्यटन विकासमा स्थानीय र व्यावसायीहरु चिन्तित रहेको बताउदै छिमेकी जिल्ला र नगरपालिकाहरुसँगको सहकार्यमा मात्रै सम्भव हुनेमा जोडदिए । ‘भेडेटारले मात्रै पर्यटकहरुलाई रोकेर राख्न सक्दैन्, त्यसैले छिमेकी जिल्ला, नगरमा पनि भएको गन्तव्यलाई समेट्दै सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन’–उनले भने । कलाकार रोजन राईले शंखेस्वर मुति मन्दिर भेडेटारको मात्रै नभई पुर्वकै गहना भएको बताए ।
मन्दिरको बार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्दिर निर्माण र प्रर्वद्धन गर्न सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई प्रसंसा पत्र पनि वितरण गरिएको थियो । यस्तै, समितिले मन्दिरमा लाख बत्तिसमेत बाल्यो । यसैगरि, सोही अवसरमा भेडेटारको होटलहरुमा राखिएको दान पेटिकाबाट संकलित रकम धनकुटाको मुलघाटस्थित बिश्रान्ती मन्दिरको वृद्धाश्रमलाई हस्तान्तरणसमेत गरियो । कुल ३६ हजार ९ सय ८१ रुपैया संकलन भएकोमध्ये होटल एशोसिएशनलाई फुड फेस्टिबलको लागि १० हजार र शंखेस्वर मन्दिरलाई १० प्रतिशतले छुट्याएर बाँकी २३ हजार ३ सय ८१ रुपैया प्रदान गरिएको समितिले जनाएको छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे