बलात्कार पीडितलाई मिल्न दबाब

धरान । आफ्नै फुपुको छोराबाट पटक पटक बलात्कृत भएकी धरान १४ की ७ बर्षीय बालिकाको परिवारलाई पीडक परिवारले मिलापत्र गर्न दबाब दिइरहेको छ । पीडित परिवारले महिला सञ्जाल धरान र प्रहरीमा मौखिक उजुरी दिएपछि पीडक परिवारले घटनामा मिलापत्र गर्न चर्को दबाब दिइरहेको खुलेको हो ।
पीडक परिवारबाट अभिभावकलाई घटनामा मिल्न दबाब आइरहेको भन्दै पीडितकी दिदी महिला अधिकारकर्मीमार्फत शुक्रबार प्रहरी समक्ष पुगेकी थिइन् । अधिकारकर्मीको आग्रहमा इलाका प्रहरी कार्यालय धरानले तत्काल पीडकको अभिभावक झिकाएर घटनामा मिलापत्र गर्न दबाब एवं मानसिकरुपमा तनाव दिने काम र कानुनी कारबाहीलाई प्रभावित हुने खालको गतिविधि नगर्न चेतावनी दिएको छ । धरान १४ का १९ बर्षीय केशव गिरीले बालिका बलात्कारको आरोपमा साउन २० गते पक्राउ परेका थिए । उनले आफ्नै मामाकी ७ बर्षीय छोरीलाई साउन यता पटक पटक बलात्कार गरेको अभियोग छ ।
पीडित र पीडकको परिवार नातेदार हुन् । दुवै परिवारको घर पनि आमनेसमने छ । त्यसैको फाइदा उठाउदै पीडकको परिवारले पीडित परिवारलाई घटनामा मिलापत्र गर्न दबाब दिइरहेको हो । ‘फुपुको छोरा हो, घर पनि वल्लो र पल्लो छ । हाम्रो बुबा आमा सोझा हुनुहुन्छ’–पीडितकी दिदीले भनिन्–‘पाउने सजाय पाइसक्यो, अब मिलुम । रिपोर्ट पनि नर्मल छ रे, छोरा छुटिहाल्छ । तपाईहरुलाई उल्टै केस लाग्छ, भन्छन् ।’
उनका अनुसार बुबा मिस्त्री काम गर्छन् भने आमा घरमै बस्छिन् । दुवै सोझा छन्, बोल्न जान्दैनन् । त्यसैले दबाबमा परेर कतै बुबा आमाले मिलापत्र पो गर्नुहुन्छ कि भन्ने उनलाई डर छ । पीडकले कुटपिट गर्दै बलात्कार गर्ने गरेको र ज्यान मार्ने धम्कीसमेत दिएकोले पीडक छुट्छ कि भनेर बहिनी डराइरहेको उनले बताइन् । ‘बलात्कार गर्दा कसैलाई भनिस् भने छुरीले मारिदिन्छु, भिरबाट खसाइदिन्छु भनेको रहेछ, त्यसैले छुट्छ कि भनेर बहिनी डराइरहेको छ’–पीडितकी दिदीले भनिन्–‘आफन्तै भएपनि अपराध गरेको छ, त्यसैले उसले सजाय पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
महिला सञ्जालकी अध्यक्ष शिला ब्रज्रचार्यले पीडकको परिवारबाट मिल्न भन्दै मानसिकरुपमा दबाब दिइरहेकोले पीडित परिवारलाई पुनः प्रहरीसम्म पुर्याएको बताइन् । पीडकले बच्चीलाई धेरै धाकधम्की दिएकोले छुटेर आएपछि मार्छ भनेर ज्यादै डराईरहेकोले पनि अपराधीलाई कडा सजाय हुनुपर्ने उनले बताइन् । ‘छुटेर आउछ भनेर बच्ची डराइरहेको छ, परिवारलाई पनि मिल्न दबाब दिइरहेको रहेछ, तर अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ’–उनले भनिन् । डिएसपी सुदमकुमार सिजापतिले बालिका बलात्कार भएकोले ज्यादै संवेदनशील भएर घटनालाई अनुसन्धान भइरहेको र कानुन अनुसार नै आरोपीलाई कडा सजाय हुने बताए । पीडित परिवारलाई दबाब दिएको बारेमा पीडक पक्षलाई त्यसो नगर्न चेतावनी दिएको भन्दै उनले पीडित परिवारले पनि दबाब र प्रभावमा परेर अरोपितलाई दोषमुक्त नबनाउन आग्रह गरे ।
आरोपित गिरीले पीडित बालिकालाई साउनयता पटक पटक बलात्कार गरेको पीडितले वयानमा खुलाएका छन् । घर नजिकै भएकोले चाउचाउ, चकलेट, कुरकुरे खरीद गर्न पठाएर आफ्नो कोठामा थुनेर गिरीले बालिकालाई जर्बजस्ती बलात्कार गर्ने गरेका थिए । कसैलाई भनेमा मारि दिने, भिरबाट खसाली दिने लगायत धम्की दिएकाले पीडितले एक महिनासम्म कसैलाई पनि भनिन् । पीडा असह्य भएपछि साथीलाई भनेको र साथीमार्फत नै परिवारजनले थाह पाएपछि प्रहरीमा उजुरी दिएका थिए । घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मीहरु घर पुग्दा पीडित बालिका पेट दुखेर पिसाब फेर्न जाने अवस्थामा समेत नभएको सञ्जालकी अध्यक्ष बज्रचार्यले बताइन् । ‘बच्चीलाई इन्फेक्सन भएको थिएछ, पेट दुखेर पिसाब फेर्न जान पनि सकेको थिएन, हामीले नै अस्पताल पुर्यायौं’–उनले भनिन्–‘अहिले स्वास्थ्यमा सुधार भएको छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे