सुन माग्दै धक्की दिने आफन्तसहित तीन पक्राउ


धरान । गएको असार २० गते साँझपख धरान २ स्थित सुन व्यापारी मनोज अग्रवालको घरको मुलढोकासमेत रहेको चेन गेटमा एक युवा खाम बोकेर आए । अग्रवालकी श्रीमतिले अपरिचित युवाबाट खाम लिन मानिनन् । दुवैसँग केहीबेर विवाद भयो । शंका लागेर अग्रवालकी श्रीमतिले मोवाइलबाट ती युवाको फोटो खिचिन्, तर अनुहार प्रष्ट आएन । युवाले खाम चेन गेटभित्र फालेर हिडे ।
अग्रवाल परिवारले जब खाम खोले, तर होस हवास उड्यो । खामभित्र रोमन अक्षरमा हिन्दी भाषमा परिवारको ज्यान खतरामा रहेको धम्कीपुर्ण पत्र थियो । अनि, मान्छे आकारको कार्टुनको नक्सा थियो र त्यसको निधारमा गोली राखिएको थियो । धम्की त्यतिमा सिमित रहेन । मोवाइलमा धम्कीपुर्ण म्यासेजहरु आइरह्यो । घटना एक महिनासम्म गुपचुप रह्यो ।
जब प्रहरीले घटनाबारे सुइको पायो, गोप्य अनुसन्धानमा जुट्यो र एक महिना पछि तीन जना युवालाई पक्राउ गर्न सफल भयो । त्यतिमात्रै होइन, घटनाको मुख्य नाइके अग्रवालकै आफन्त रहेको समेत खुल्यो । त्यो भन्दा पनि घटनासँग जोडिएको अर्को आश्चर्यलाग्दो तथ्य खुल्यो, धम्कीपुर्ण पत्रमा एक हजार ग्राम सुन (एक किलो) बराबरको १० पिस मागिएको रहेछ । यो तथ्यले घटनाको सम्बन्ध सुन तस्करीसँग त जोडिएको होइन ? भन्ने प्रश्न उब्जिए पनि प्रहरीले भने प्रारम्भिक अनुसन्धानको क्रममा रहेको र पक्राउ परेकाहरुको वयान बाँकी नै रहेको भन्दै केही बताएको छैन ।
एक राउण्ड गोलीसहित धम्कीपुर्ण पत्र पठाएको आरोपमा प्रहरीले धरान ५ का ३६ बर्षीय कमल अग्रवाल, धरान ७ का २९ बर्षीय प्रविन ठकुरी र धरान १७ का १७ बर्षीय शिव शाक्यलाई पक्राउ गरेको छ । कमल अग्रवाल पीडित भनिएका मनोजका काकाका छोरा हुन् । मनोजको धरान २ गीतामन्दिर लाइनमा घरमा नै सुन व्यावसाय छ भने कमलको परिवारको धरान ५ स्थित आफ्नै घरमा पिके ज्वेलर्स रहेको छ । साथै, मनोजको घर नजिकै एक घर भाडामा लिएर कमलले पाथीभारा फनिर्सिङ पनि चलाएका छन् । पक्राउ परेकामध्ये ठाकुर त्यही फनिर्सिङका कामदार पनि भएको प्रहरीले जनाएको छ । प्रहरीले ठकुरीको साथबाट २१ गोटी नाइट्रोसन ट्याबलेट पनि भेटेको छ ।
प्रहरीका अनुसार पीडित अग्रवालको घरमा खाम लिएर जाने युवा शाक्य हुन् भने उनलाई ठाकुरले खाम दिएर पुर्याउन पठाएको अनुसन्धानबाट खुलेको डिएसपी सुदमकुमार सिजापतिले बताए । ‘मोवाइलले फोटो खिचेको आधारमा कपडाबाट चिनेर शिवलाई पक्राउ गर्यांै, उसले ठाकुरले पत्र दिएको भन्यो र ठाकुरलाई कमलले पत्र दिएको खुलेपछि तीनै जना समात्यौं’–डिएसपी सिजापतिले भने–‘तीनै जनालाई हातहतियार खरखजनाअन्र्तगत मुद्दा चलाउछौं तर, ठकुरीलाई लागुऔषधमा पनि मुद्दा चल्छ ।’ बुधबार पक्राउ परेको भनिएका तीन आरोपीलाई बिहिबार इनरुवास्थित जिल्ला अदालतमा म्यादथप गर्न लगिएको थियो । आरोपीमध्ये ठकुरीका आफन्तजनले भने उनी निर्दोष रहेको दाबी गरेको छ । पत्र दिने बेला शिवलाई उनले देखेको र प्रहरीलाई सघाउन खोज्दा उल्टै उनी फसेको आफन्तहरुले जनाए ।
प्रहरीका अनुसार पीडित परिवारलाई विभिन्न मोवाईलबाट अझै पनि धम्कीपुर्ण म्यासेज आइरहेकोले घटनामा अरु पनि संलग्न छन् । प्रहरीको नजरमा यो घटना ‘संस्थागत अपराध’को नजिक भएपनि घटनाबारे अझै धेरै रहस्य खुल्न बाकी रहेको प्रहरी अधिकारी बताउछन् । ‘मनोज र कमल नाता पर्छन्, त्यसैले यो पारीवारिक समस्या पनि हुनसक्छ । दुवैमा आर्थिक कारोबार हुने रहेछ, आर्थिक कारणले पनि भएको हुनसक्छ । ठकुरीबाट ट्याब्लेट भेटिएकोले लागुऔषधबाट पनि भएको हुनसक्छ’–नाम नखुलाउन भन्दै एक अधिकृतले भने–‘आरोपीहरुको वयान लिन बाँकी नै छ, त्यसैले घटनाबारे विस्तृत कुरा खुलिसकेको छैन ।’ कोही पनि प्रहरी अधिकारी पत्र र त्यसमा उल्लेख गरिएको सुनबारे पनि बताउन चाहदैनन् ।
प्रहरी स्रोतका अनुसार घटनामा आफन्त भएको खुलेपछि पीडित परिवारले जाहेरी दिन पनि हच्किएका थिए । पछि, पीडित परिवारले शिव शाक्यलगायत मान्छे उल्लेख गरेर जाहेरी दिएपछि प्रहरीलाई अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन सहज भएको ती प्रहरी अधिकारी बताउछन् । पीडित परिवारका सदस्यहरु भने सम्पर्कमा आउन चाहेका छैनन् ।


                                     के छ धम्कीपुर्ण पत्रमा ?


मनोज जी, 
आपका हरेक हरकत पे नजर है । अप्ना बेटा से प्यार है तो फलो दिस एण्ड कोही भी चलाखीका मतलब अपने बेटे से हात धोना है । किसिको भि खबर(पुलिस, दोस्त, परिवारका सदस्य, बिवी) को नही होना चाहिए ।
१० जुलाईको १० पिस १००० ग्राम वाला पिलिया, ठिक सुबह १०ः१० को नक्सालबाडी वाल्स बस स्टेण्ड मे पहुचनेके हिसाबले भेजना ।
अपने गाडीके ड्राइभिङ सिट वाला फुट म्याट के निचे, अपने हि घर के कोही सदस्यको  अकेले ओ गाडी लेकर १० जगा रुककर जाना और आना है । सब जगह गाडी लक करना है, कोही भि गडबड लगा तो हम सामान नही लंगे पर सामान और आपका आदमी पकड जाएगा और आप हि जिम्मेदार होंगे । और बेटा का बहुत जल्द खबर आएगा ।
१) सुरुमे विश्वकर्म मन्दिर मे रुकके पुजा होगा । 
२) इटहरी यातायातमे जा के कोल्ड ड्रिक या चाय पिएगा ।
३) दमकमे फाइन होटल मे फिर चाय पिएगा ।
४) तुम्हारा ससुराल का पार्किङ मे जाके गाडी छोड्के वाल्किङ मखन भोग मे नास्ता करेगा । 
बाकी का ५ इन्स्ट्रक्सन तब जाडीमे मिलेगा । नही मिला तो समझ जाना कुछ गडबड लगा हमे । 
खुदा आपको खुब तरक्की दे, ताकि हम लोगका गुजारा हो । कोइ भी दिमाग लगाने का गन्ध आया तो....।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे