सडक सञ्जालको मेरुदण्ड कोशी पुल(फोटोफिचर)

धरान । सात बर्षअघि ०६५ भदौमा कोशीले पुर्वी तटबन्ध भत्काएर पुर्व पश्चिम राजमार्गसमेत बगाएपछि महिनौंसम्म पुर्वी नेपालको पश्चिम र राजधानीसँगको सडक सम्पर्क विच्छेद भयो । उद्योगी, व्यापारी र सर्वसाधारण नागरिकले त्यतिबेला ठुलो कष्ट खेप्नुपर्यो । पुर्वेलीहरु राजधानी पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य भएका थिए ।
कोशी ब्यारेज(पुल)को आयु पनि सकिन लागेको बेला भएको त्यो घटनाले कोशीमा नयाँ पुलको आवश्यकता खट्कायो, र चतरामा कोशी पुल निर्माणको अवधारणा बन्यो । सोमबार प्रधानमन्त्री सुशील कोइरालाले उदयपुरको मैनामनी र सुनसरीको बराहक्षेत्र(चतरा) जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेर सात बर्षअघिको अवधारणालाई मुर्तरुप दिए । नवनिर्मित कोशी पुल चर्चामा आएजस्तो कोशी ब्यारेजको विकल्प मात्रै भने होइन । यसले उदयपुर र सुनसरी जिल्लाका बासिन्दा सिधा जोड्ने काम गर्यो भने वैकल्पिक राजमार्गको सडक सञ्जाल पनि यही पुल हुदै तयार हुदैछ । पुर्वी पहाडी जिल्लाका वासिन्दा अबको केही बर्षमा तराई(महेन्द्र राजमार्ग) नझरी यही पुलमार्फत सिधै राजधानी पुग्नेछन् । सोमबार पुल उद्घाटन समारोहमा भौतिक योजना तथा पुर्वाधार मन्त्री विमलेन्द्र निधीले वैकल्कि राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्न ध्यान केन्द्रीत हुने बताए । यसकारण पनि सुनसरी र उदयपुरबासीमात्रै होइन, समग्रमा पुर्वेलीहरुमा हर्ष छ ।
अहिले कोशी ब्यारेज(पुल)को विकल्पमा सुनसरी र उदयपुरतर्फ ६२ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य जारी छ । यो सुनसरीको पकलीदेखि शुरु भएको सडक नडाहादेखि नवनिर्मित कोशी पुलसम्म ११ किलोमिटर कालोपत्रे हुदैछ भने पुल पारी उदयपुरतर्फ थप ५१ किलोमिटर सडक पनि पक्की बनाउने काम जारी छ । यो सडकखण्डमा १८ वटा पुल बन्नेछ । यो सडक सन् २०१७ को डिसेम्बरसम्म तयार हुनेछ । एसियाली विकास बैंक(एडिबि)को ६० र सरकारको ४० प्रतिशत लगानी रहेको यो सडक २०६ करोड बजेटको हो । कोशी ब्यारेजमा कुनै समस्या आउदा पकलीबाट चतरा हुदै कोशीपुलमार्फत मैनामनी, रामपुर,बसाहा, फत्तेपुर हुदै सप्तरीको फत्तेपुर कञ्चनपुर(महेन्द्र राजमार्ग) निस्केर सहजै यातायात चल्नेछ ।
ब्यारेजको विकल्पबाहेक धरान, चतरा, गाईघाट, कटारीबाट सिन्धुली हुदै हेटौडा जोड्ने ३ सय किलोमिटरको वैकल्पिक राजमार्गको काम पनि भइरहेको छ । यो योजना आर्थिक बर्ष ०६४÷०६५ बाट नै शुरु भएको थियो । तर, काम धिमा गतिमा छ । धेरै कम चौडा भएको स्थानमा फराकिलो पार्ने काम भइरहेको वैकल्पिक राजमार्ग योजनाका प्रमुख जीतेन्द्र शाक्यले जानकारी दिए । उनका अनुसार अहिले धेरै काम सिन्धुलीमा भइरेको छ । वैकल्पिक राजमार्ग नाम दिइए पनि सहायक राजमार्गको मापदण्डमा यो सडक बन्नेछ । ‘यो सडक ७ मिटर पिचसहित १० मिटर चौडाईको हुनेछ, सरकारको योजना भएकोले कहिलेसम्म तयार हुन्छ भनेर बजेटमा नै भर पर्छ’–शाक्यले भने ।
अर्को सडक चतराबाट सुनकोशीको तीरैतिर हुदै घुर्मीमा मध्यपहाडी लोकमार्गमा जोडिनेछ, र त्यहाँबाट खुर्कोटमा बीपी राजमार्गमा ठोक्किनेछ । यो सडक सञ्जालले पुर्वी पहाडका जनताको राजधानीसँगको सम्पर्क नजिक्याउनेछ । सडक विभागका सिनियर डिभिजन इञ्जिनियर एवं नडाहा– कोशी पुल–कञ्चनपुर सडकको प्रोजेक्ट मेनेजर कैलाशकुमार श्रेष्ठका अनुसार यो सडकको सम्भाव्यता अध्ययन र डिटेल डिजाइन भइसकेको छ भने ईआईए पनि भइसकेको छ । ‘कोशी पुल ब्यारेजको एउटा विकल्प हो, तर पुर्वी नेपाललाई राजधानीसँग छिटो जोड्ने सडक सञ्जालको मेरुदण्ड पनि हुनेछ’–श्रेष्ठले भने । उनका अनुसार धनकुटाको लेगुवाघाटबाट अरुणको तिर हुदै चतरा जोड्ने बाटो पनि विचाराधिन अवस्थामा छ ।
पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशानलयका प्रमुख शिवहरी सापकोटा नवनिर्मित पुलको बहुआयामिक महत्व रहेको बताउछन् । पुर्वी पहाडका जनतालाई तराईतिर नझरी राजधानी पुर्याउने सडक सञ्जाल यही पुलमा जोडिनेछ भने यसले दैनिक जीवनसँगै आर्थिक, सामाजिकरुपमा पनि सकरात्मक प्रभाव पर्ने उनको भनाई छ । धरान चतरा बराहक्षेत्र सडकखण्ड अबको २ बर्षभित्रै पक्की भइसक्ने उनले खुलाए । ‘इलामको राँके हुदै आउने ९५ किलोमिमर सडक धनकुटाको भेडेटारमा जोडिन्छ । यो सडक अबको ५ बर्षभित्र पक्की हुन्छ र इलाम, पाँचथरकाका जनता झापा नझरी धरान हुदै यही पुलबाट राजधानी पुग्नेछन्’–सापकोटाले भने–‘ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटेली पनि यतैबाट जान सहज हुन्छ ।’ उनका अनुसार धनकुटाको मुलघाटबाट तमोरको किनारमा ट्रयाक खोल्न शुरु भइसकेको छ । यो ट्रयाक दोभान हुदै ताप्लेजुङ्ग निस्कनेछ ।
नवनिर्मित कोशी पुल र यसमा जोडिने सडक सञ्जालले यो क्षेत्रको समाजिक, शिक्षा, स्वास्थ्यसँगै आर्थिक विकास हुने आशा पलाएको सुनसरी उद्योग वाणिज्य संघ बराहक्षेत्र शाखाका अध्यक्ष रमेश विष्टले बताए । कुनै समय पहाडी जिल्लाको व्यापारिक केन्द्र रहेको चतरा अब पुनः गुल्जार हुने उनको आशा छ । ‘धेरै सडक सञ्जाल जोडिदैछ, यसले बराहक्षेत्र मन्दिर र पर्यटकीय क्षेत्रको विकास हुनेछ । आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्यमा पनि प्रगति हुने आशा गरेका छौं । यति सडकको काम चाडै भइदिए हुन्थ्यो’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे