सेफ हाउस नहुदा पीडितलाई झनै पीडा

धरान । गएको साउन तेस्रो साता धरान विजयपुरकी सात बर्षीय बालिकालाई एक महिनादेखि आफ्नै फुपुको छोरा(दाजु)ले जर्बजस्ती करणी गर्दै गरेको घटना सार्वजनिक भयो । प्रहरीले तत्काल पीडकलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढायो ।
पीडित बालिका र पीडकबीच नजिकको नाता मात्रै थिएन । दुवैको घर आमनेसामने थियो । पीडितलाई घरमै राख्नु उचित थिएन । यो महसुस हुदा हुदै पनि प्रहरी र महिला अधिकारकर्मीहरुसँग अर्को विकल्प थिएन । जिल्ला सदरमुकाम इनरुवामा महिला तथा बालबालिका कार्यालयअन्र्तगत जिल्ला सेवा केन्द्र छ । तर, पीडित बालिका त्यति टाढा जान मानिनन् । पीडकको घर नजिकै भएकोले अनेक दबाब र धम्की आउछ, गाउँ छरछिमेकले घटनाबारे सोधी रहला भन्ने प्रहरी र अधिकारकर्मीलाई डर थियो, त्यही भईदियो ।
‘बच्चीलाई घरमा राख्नु ठिक थिएन, तर यहाँ नजिकै राख्ने सेफ हाउस नै थिएन, त्यही भएर घरमै पठाउन बाध्य भयौं’–इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापतिले भने–‘घरमा धेरै मानसिक समस्या र तनाव भोग्नु पर्यो । यस्ता पीडित बालबालिका र महिलाको लागि सेफ हाउस अतिआवश्यक छ ।’ उनका अनुसार ती बच्ची मात्रै होइन, प्रायःजसो घरेलु हिंसा, यौन दुव्र्यवहार एवं शोषणमा परेका बालिकाहरुलाई राख्ने सेफ हाउस(सेल्टर) नहुदा ज्यादै समस्या भइरहेको छ । कानुनी उपचार खोज्दै आएका त्यस्ता पीडितहरुलाई प्रहरीले आफ्नै घर वा आफन्तकोमा पठाइदिने गरेको छ । जुन सुरक्षा र मनोविज्ञानको हिसाबले उपयुक्त नभएको डिएसपी सिजापति स्वीकार गर्छन् ।
महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्यका अनुसार सेफ हाउसको अभावमा विजयपुरकी ७ बर्षीय बलात्कृत बालिकालाई घरमा नै पुगेर परामर्श दिनु परेको थियो । घरमा छरछिमेक, आफन्तजनहरु आउ जाउ गरिरहने र घटनाबारे सोधी रहनाले बालिकालाई धेरै नै समस्या भएको उनले बताइन् । बालिका र पीडित महिलाको लागि सरकार वा उपमहानगरपालिकाले नै सेफ हाउसको व्यवस्था गर्नुपर्ने उनले माग गरिन् । ‘न्याय खोज्दै प्रहरी प्रशासनमा पुगेपछि झनै असुरक्षित हुदो रहेछ । उनीहरुको लागि सेफ हाउस जरुरी छ । सञ्जालले पनि पहल गरिरहेको छ, राज्य र उपमहानगरपालिकाले पनि सहयोग गर्नुपर्छ’–उनले भनिन् ।
नेपालमा सुनसरी जिल्लासहित १५ वटा जिल्लाको सदरमुकाममा घरेलु हिंसाबाट पीडित महिला एवं बालबालिकाको लागि सेवा केन्द्र छ । सदरमुकाम इनरुवामा रहेको केन्द्रमा अन्य गाउँ एवं शहरबाट प्रायः पीडितहरु टाढा भएको भन्दै जान मान्दैनन् । इलाका प्रहरी कार्यालय धरानमा महिला तथा बाल सेवा केन्द्र छ । तर, त्यहाँबाट पनि परामर्श र कानुनी उपचार मात्रै उपलब्ध छ । केन्द्रकी इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक मुना डाँगीका अनुसार सेल्टरको सुविधा नहुदा कतिपय पीडितलाई घरमै पठाउनु परिरहेको छ भने कतिलाई टाढा नै भएपनि इनरुवास्थित केन्द्रमा पठाइने गरिएको छ । ‘पीडितलाई कानुनी उपचार दिइरहदा यही सेफ हाउसमा राख्न पाए हुन्थ्यो, इनरुवमा पठाइदिदा पनि कानुनी उपचारको लागि आउन, जानको झञ्झट हुन्छ’–इञ्चार्ज डाँगीले भनिन् ।
उनका अनुसार पछिल्लो समय असार २५ गते धरान ११ बाट घरेलु हिंसामा परेकी एक महिला आएकी थिइन् । उनी इनरुवस्थित सेवा केन्द्र जान सहमत भइन् । यस्तै, एक साताअघि चोरीमा संलग्न ८, १०, १२ र १४ बर्षका बालकाहरु समातिए । सेफ हाउस नहुदा उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भयो । उप्का नेपालसँग समन्वय गरेर प्रहरीले ती बालकहरुलाई पनि इनरुवा नै पठाइदियो । पछि घर खोजेर उनीहरुलाई अभिभावकको जिम्मा लगाइदिएको सई डागीले बताइन् । बिहिबार पनि प्रेम विवाह गरेकी धरान ९ की १९ बर्षीय एक युवती सासु ससुरा र आमाजुले हेला, हिंसा गरेकोले शान्ति सुरक्षा र आवश्यक कारबाही गरिपाउ भन्दै ठाडो निवेदन दिन आइपुगिन् । तर, ती युवती श्रीमान्को डरले घर जान भने डराइन् । प्रहरीले उनलाई दिदीको घरमा पठाइदियो । ‘घरेलु हिंसामा परेका धेरै महिला दिदीबहिनीहरु कानुनी उपचार खोज्दै आइपुग्छन्, तर निवेदन दिइसकेपछि श्रीमान्, सासु ससुराबाट झनै असुरक्षित महसुस गर्छन् । जर्बजस्ती करणीमा परेका महिला र बालिकाहरुलाई त झनै समस्या हुन्छ’–डागीले भनिन्–‘धरानको लागि सेफ हाउसको एकदमै आवश्यकता छ, कम्तीमा केस चलिरहदासम्म सेफ हाउसमा राख्न पाए हुन्थ्यो ।’ प्रहरीका अनुसार दिनमा कम्तीमा पनि दुई, तीन वटा घरेलु हिंसाका घटनाको ठाडो निवेदन आउने गरेको छ ।
सदरमुकाम इनरुवास्थ्ति जिल्ला सेवा केन्द्रकी इञ्चार्ज अनिता चौधरीका अनुसार केन्द्रबाट घरेलु हिंसामा परेका महिलालाई निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार र मनोपरामर्श सेवा दिइन्छ । प्रहरी, विभिन्न एनजिओ र संघसंस्थाहरुबाट पीडित महिलाहरु आउने गरेको उनले बताइन् । पीडितलाई ३० दिनसम्म राखिने र पुर्नस्थापना गर्न ढिलाई हुदा थप १५ दिनसम्म राखिने उनले बताइन् । ‘जिल्लामा मात्रै होइन, अरुतिर पनि आवश्यक छ । तर कसले पुरा गर्ने ? यो समस्या छ’–उनले भनिन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे