साइक्लिङ प्रतियोगिताको लागि रुटको खोजी(फोटोफिचर)

धरान । आगामी मंसिरमा पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगतको खेल साइक्लिङको लागि साइक्लिष्टहरुले धरानमा रुटको खोजी(रेकी) गरेका छन् । नेपाल साइक्लिङ एशोसिएशन(एनसिए)को पहलमा राष्ट्रिय एवं स्थानीयका साइक्लिष्ट तथा खेलाडीहरुले धरान १४ विजयपुरस्थित पञ्चकन्या जंगल क्षेत्रमा रुटको खोजी गरेका हुन् ।
विश्व साइकल यात्री तथा एशोसिएशनका उपाध्यक्ष पुष्कार शाह, राष्ट्रिय खेलाडी सन्तोष राईसहित स्थानीय साइक्लिष्टहरुको टोलीले तीन दिन लगाएर प्रतियोगिताको लागि रुट पहिचान गरेका हुन् । दुई दिनसम्म स्थलगतरुपमा अवलोकन एवं अध्ययन गरेको टोलीले आइतबार साइक्लिङ गर्दै ‘जिपिएस म्यापिङ’ मार्फत रुट निर्धारण गरे । जिपिएस म्यापिङको क्रममा उक्त रुटको दुरी ५.२ किलोमिटर भएकोसमेत टोलीले पत्ता लगाएको छ ।
साहसिक खेलमा पर्ने साइक्लिङको गतिविधि पुर्वाञ्चलमा बढी धरानमा केन्द्रीत छ । यहाँका साइक्लिष्टहरुले सातौंअन्र्तगत साइक्लिङ रेस धरानमा गर्न माग गर्दै आइरहेका थिए । राष्ट्रिय खेलकुद परिषदको अध्ययन टोलीले बुझाएको प्रतिवेदनमा पनि धरानलाई नै सिफारिश गरेपछि साइक्लिङ प्रतियोगिता धरानमा हुने लगभग निश्चित भइसकेको छ । सातौं खेलकुदअन्र्तगत हुने साइक्लिङलाई एशोसिएशनले क्रस कन्ट्री नेशनल माउण्टेन बाईक च्याम्पियनसिप नाम दिनेछ । ‘सातौं अन्र्तगतको क्रस कन्ट्री च्याम्पियनसिप धरानमा हुने भएकोले कहाँ ठिक छ, रुटलाई कसरी बनाउने भनेर खोजी गरेको हो, यसलाई रुट रेकी भन्छ’–विश्व साइकल यात्री एवं एशोसिएशनका उपाध्यक्ष शाहले भने–‘रुटको पहिचान भइसक्यो, पायक र उपयुक्त ठाउँ रहेछ ।’ उनका अनुसार पहिचान भएको रुटमा दुर्घटनाबाट जोगाउन थप ट्रेल खोलेर सुरक्षित बनाइनेछ ।
राष्ट्रिय खेलाडी सन्तोष राईले बजारबाट दुई मिनेटमा पुग्न सकिने जंगल क्षेत्रमा यति राम्रो साइक्लिङको रुट कमै भेटिने बताए । क्रस कन्ट्री रेसमा उकालो, ओरालो र निक्कै अफ्ठ्यारो ट्रेल हुन्छ । यहाँ खोजी गरिएको रुटमा चढ्न र झर्न खेलाडीले चुनौतीको सामना गर्नुपर्छ भने सिंगल ट्रयाक पनि अपेक्षा गरेभन्दा धेरै राम्रो छ । ‘यतिको रुट बनाउन अरुतिर लाखौं खर्च गर्नुपर्छ, तर यहाँ घास दाउरा गर्न हिड्नेहरुले नै सिंगल ट्रयाक बनाइदिएको छ’–उनले भने–‘अब प्रतियोगिता हुदा पानी खाने ठाउँ(वाटर स्टेशन) र साइकल मर्मत गर्ने टेक्निकल जोन बनाउनुपर्छ ।’ सुन्दर प्रकृतिमाझ हुने प्रतियोगिताले पर्यटनलाई पनि प्रर्वद्धन हुने उनले बताए ।

रुट ५.२ किलोमिटरको भएपनि प्रतियोगितामा कुल ३५ किलोमिटरको हुनेछ । जसमा खेलाडीहरुले ७ ल्याप(फन्को) मार्नुपर्ने हुन्छ । प्रतियोगितामा प्रोफेस्नलहरुको एलिट, लेडिज, जुनियर(१८ बर्षमुनि) र ओपन क्याटगोरीमा स्पर्धा हुने भनिएपनि निश्चित भइसकेको छैन । सातौं खेलकुदअन्र्तगतको साइक्लिङ धरानमा हुने भएपनि स्थानीय साइक्लिष्ट युवा र खेलाडीहरु पनि उत्साहित छन् । ‘साइक्लिङमा धरान निक्कै अघि बढेको छ, सातौं खेलकुदको प्रतियोगिता यहाँ हुने कुराले हामीलाई धेरै उत्साह दिलाएको छ’–राइडर्स एण्ड एमटिबि जोनका प्रोपाइटर तथा साइक्लिष्ट फरेन्द्र लिम्बुले भने–‘यसले धरानलाई साइकल पर्यटनमा पुर्वको हब बनाउछ भन्ने आशा छ ।’



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे