भानुचोकमा पहिचानवादी, छाता चोकमा हिन्दुवादी(फोटोफिचर)

धरान । संघीय समाजवादी फोरम नेपालले मंगलबार दिउसो १ बजे भानुचोकको लोकतान्त्रिक चौतारीमा विरोधसभा आयोजना गर्ने भनेर सोमबार नै माइकिङ गर्दै थियो । वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संघर्ष समितिले पनि त्यही समयमा भानुचोकबाट र्याली निकाल्ने र कोणसभा गर्ने भन्दै माइकिङ गर्यो ।
समाजवादी फोरम पहिचानवादी र धर्मनिरपेक्ष राष्ट्र पक्षधार पार्टी । अर्को पर्यो नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने पक्षधर । ठिक विपरीत दुई ध्रुवका पक्षधरको सभास्थल र समय भने एउटै । अघिल्लो दिन(सोमबार) नै अनेक आशंका र चर्चा चल्यो, मंगलबार धरानमा केही नराम्रो घटना हुन्छ । त्यसै पनि सोमबार कैलालीको टिकापुरमा थरुहट संघर्ष समिति र प्रहरीको झडपमा एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भइसकेको थियो ।
मंगलबार बिहानैदेखि पहिचानवादी लिम्बुवान संघर्ष समितिले लोकतान्त्रिक चौतारी कब्जा जमाए । समाजवादी फोरमले बिहानैदेखि भानुचौकमा विरोधसभाको तयारी गर्यो । यसले झनै हिन्दुवादी र पहिचानवादीबीच तनाव उत्पन्न होला कि भन्ने शंका जन्मायो । भानुचोकमा बिहानैदेखि व्यापकरुपमा प्रहरी, सुरक्षाकर्मी परिचलान भयो । धन्न, प्रहरीले हिन्दुवादी पक्षधरलाई सम्झाएर कार्यक्रमस्थल सार्न सहमत गरायो । भानुचोकबाट र्याली निकाल्ने भनिएको हिन्दुवादीहरु गीता मन्दिरमा भेला हुने र त्यहाँबाट छाताचोकतिर र्याली निकालेर छाता चोकमा सभा गर्न राजि भए । कार्यक्रमस्थल फेरिएपछि सम्भावित दुर्घटना टर्यो । प्रहरीले पनि भानुचोक, कलेज रोड र छाता चोकमा तीन सुरक्षा घेरामा रहेर दुवै पक्षबीच तनाव हुन दिएन ।
समाजवादी फोरमले भानुचोकमा विरोधसभा गरिरहदा हिन्दुवादीहरुले पनि छाता चोकमा सभा गरिरहेका थिए । फोरमले लोकतान्त्रिक चौतरीलाई नै स्टेजकोरुपमा परिणत गरेर टेम्पो, रिक्सा स्टेण्डलाई उपयोग गर्यो । जसले गर्दा यातायात आवागमन रोकिएन । तर, उता हिन्दुवादीले भने सडकमा नै बसेर सभा आयोजना गरेकोले छाता चोकमा सवारी आवागमन ठप्प भएको थियो । गाडीहरु वैकल्पिक बाटोबाट गुड्नु परेको थियो ।

                            उपेन्द्र यादवको संयमित भाषण

कैलालीमा कांग्रेस सभासद अमेरश सिंह, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगै उग्र भाषण दिएको आरोप खेपिरहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मंगलबार धरानमा भने संयमितरुपमा भाषणा गरे । उनले न कुनै जाति बिशेषलाई गाली गरे, न कांग्रेस, एमाले, माओवादीलाई नै गाली गरे । पहिलो पटक धरानमा सम्बोधन गर्न आएका उनले अत्यन्तै संयमितरुपमा आफ्नो र पार्टीको विचार, धारणहरु राखे । तर, अन्य केन्द्रीय सदस्यहरुले भने निक्कै आक्रोश पोखे ।
अध्यक्ष यादवले धार्मिक, साँस्कृतिक, जातीय, भाषिक विविधता नेपालको सुन्दरता भएको भन्दै यो विविधतालाई स्वीकार गर्न ठुला दलहरुलाई आग्रह गरे । पार्टीको नगर कमिटिले मंगलबार धरानको भानुचौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यही विविधताबीचको भावनात्मक एकता नै राष्ट्रियता भएको यथार्थतालाई ठुला दलले बुझ्न नसकेको आरोपसमेत लगाए । ‘देशमा धार्मिक, जातिय, भाषिक, साँस्कृतिक विविधता छ, यी सबै विविधतालाई स्वीकार गर्दै बगैचामा सबै फुलले फुल्न पाएजस्तै समानरुपमा हामीलाई पनि फुल्ने अवसर देऊ । कुनै एउटा मात्रै फुललाई फुलाउने र गोडमेल गर्ने काम नगर’–संयमितरुपमा प्रस्तुत हुदै उनले ठुला दललाई आग्रह गरे–‘विविधता बीचको भावनात्मक एकता नै राष्ट्रियता हो । सबैको पहिचानलाई स्वीकार गर, र सबैलाई राज्यमा समान अवसर देऊ ।’ व्यक्तिलाई धार्मिक स्वतन्त्रता हुने उल्लेख गर्दै उनले राज्य भने कुनै धर्मको पक्ष र विपक्षमा नभई तटस्थ रहनुपर्ने धारणा राखे ।
राज्यले विगतमा गरेको सम्झौताहरुलाई इमान्दारपुर्वक कार्यान्वयन गर्ने हो भने वर्तमान राजनीतिक गतिरोध र समस्या तत्काल समाधान हुने उनको भनाई थियो । तत्कालीन समयमा राज्यले मधेशी, आदिबासी जनजाति तथा उत्पीडित समुदायसँग गरेको सम्झौता कार्यान्वयन नगरी उल्ट्याउन थालेपछि मुलुक द्धन्द्धतर्फ अघि बढेको उनको भनाई थियो । ‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालमा पनि मधेश, जनजाति र अन्य दलहरुसँग राज्यले सम्झौता गरेको थियो, हाम्रो माग भनेको त्यो सम्झौलाई कार्यान्वयन गर भन्ने मात्र हो । सहमति कार्यान्वयन हुने हो भने अहिलेको समस्या समाधान हुन्छ र शान्ति कायम हुन्छ’–अध्यक्ष यादवले भने–‘तर, सरकार र तीन दल सहमतिमात्रै होइन, अन्तरिम संविधानमा भएको व्यवस्था र अघिल्लो संविधानसभामा भएको सहमतिलाई पनि उल्टाउदैछ । यस्तो अवस्थामा जनताले स्वामित्व ग्रहण गर्नेवाला छैन, अनि मुलुकमा कसरी शान्ति छाउछ ?’
पहिचान मेटेर कुनै पनि हालतमा राज्यको पुर्नसंरचना हुन नसक्ने भन्दै उनले जर्बजस्ती संविधान लाद्न खोजे विगतका संविधानहरुझै कुनै पनि नटिक्ने उनले ठोकुवा गरे । तीन दलका नेताहरुलाई ठंडा दिमागले सोच्न आग्रह गर्दै उनले सहमति र सहकार्यको आधारमा राजनैतिकरुपमा नै समस्या समाधान गरिनुपर्नेमा जोडदिए । ‘अहिले देखिएको समस्या राजनैतिक हो, त्यसैले राजनैतिकरुपमा नै समाधान गर्नुपर्छ । अर्को बाटोबाट समाधान खोज्ने हो भने द्धन्द बढ्छ र अशान्ति निम्त्याउछ’–उनले भने । सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान प्रदेश सह इञ्चार्ज आर.सि.तुम्बा याक्खाले मधेशी, जनजाति, खस मिलेर बनेको पार्टीको शक्तिदेखेर कांग्रेस, एमाले र एमाओवादी तर्सिएको र आन्दोलनकारीलाई आतंकारी देख्न थालेको आरोप लगाए ।
अर्का केन्द्रीय सदस्य अर्जुन थापाले जनता सडकमा भएपनि ठुला दलले जनताको आवाज नसुनेकोले द्धन्द निम्तिएको बताए भने केन्द्रीय सदस्य जयराम यादवले आफुहरुको आन्दोलन जातीय, साम्प्रदायिक भड्काउन नभई सद्भाव कायम राख्दै अधिकार प्राप्तीको आन्दोलन भएको बताए । अर्का, केन्द्रीय सदस्य भीम राईले कांग्रेस र कम्युनिष्टले ६ दशकदेखि जनतालाई नै शोषण गरेको आरोप लगाउदै जनता अहिले अधिकार प्राप्तीको आन्दोलनमा रहेको र राज्यले दमन गरेपनि नरोकिने बताए । सुनसरी जिल्ला अध्यक्ष भगीराज खत्वेले आफ्नो पार्टीले मधेशी र पहाडियाबीचको खडल पुरेको दाबी गर्दै जनजाति, मधेशी, थारुले पहिचानसहितको अधिकार माग गर्दा विखण्डनकारीको आरोप खेप्नुपरेको बताए ।

           लिम्बुवान अकुपाईको शुरुवात

     अरुण पुर्वका ९ जिल्ला लिम्बुवान राज्यको माग गरिरहेका विभिन्न राजनीति दल एवं संगठनहरुले लिम्बुवान अकुपाई अभियानको शुरुवात गरेको जनाएको छ । लिम्बु जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको पहलमा सबै दल र संगठनहरुले लिम्बुवान संघर्ष समिति गठन गर्दै अभियानको शुरुवात गरेको हो ।
अभियान अन्र्तगत पहिलो दिन मंगलबार धरानको भानुचौक र लोकतान्त्रिक चौतारीलाई बिहानैदेखि समितिले अकुपाई गरेको थियो । जसको कारण भानुचौकमा नै हुने भनिएको वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संघर्ष समितिको सभा त्यहाँ हुन पाएन । एक बजे त्यही ठाउँमा समाजवादी फोरमको विरोध सभा आयोजना भएको थियो । फोरमका जिल्ला सचिव ताजुव लिम्बुका अनुसार लिम्बुवान प्राप्तीको आन्दोलनअन्र्तगत अभियान प्रत्येक जिल्लामा जारी रहनेछ । जिल्लाको मुख्य चोकमा टेण्ट टागेर अभियन्ताहरु बस्नेछन् र हातेमालो गर्नेछन् । सुनसरीको धरान र इटहरीमा लिम्बुवान अकुपाई गरिने उनले बताए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे