धम्कीपुर्ण पत्र घटनाको अझै रहस्यमै

धरान । नातेदारलाई एक राउण्ड गोलीसहित धम्की पत्र पठाएको घटनाका मुख्य योजनाकारसमेत पक्राउ गरिसकेको घटनामा अरु पनि संलग्न भएको बताएपनि प्रहरीले थप रहस्य सुल्झउन सकेको छैन । असार २० गते साँझ धरान २ स्थित सुन व्यापारी मनोज अग्रवालको घरमा छोराको ज्यान खतरामा रहेको धम्कीपुर्ण पत्र र गोलीसमेत पठाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तर, पीडित परिवारलाई मोवाइलबाट पनि धम्कीपुर्ण म्यासेज पठाएकोले अन्य पनि घटनामा संलग्न रहेको दाबी गर्ने प्रहरीले अहिलेसम्म थप कसैलाई पक्राउ गर्न सकेको छैन ।
पत्रमा धम्की मात्रै दिएको हो कि अपहरणको पनि योजना थियो भन्ने कुरा प्रहरी अनुसन्धानबाट अझै खुलेको छैन । प्रहरीले धम्कीपुर्ण पत्र र गोली पठाएको आरोपमा धरान ५ का ३६ बर्षीय कमल अग्रवाल, धरान ७ का २९ बर्षीय प्रविन ठकुरी र धरान १७ का १७ बर्षीय शिव शाक्यलाई पक्राउ गरी साउन २८ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । त्यतिबेला प्रहरीले घटनाको मुख्य योजनाकार अग्रवाल भएको दाबी गरेको थियो । धक्कीपुर्ण म्यासेज पठाउने नम्बरको कल डिटेल लिएर अध्ययन गरेर खोजी गरिरहे पनि पक्राउ पर्न नसकेको डिएसपी सुदमकुमार सिजापति बताउछन् । म्यासेज नेपाली नम्बरबाटै आएको भएपनि स्विच अफ रहेको भन्दै उनले थप केही खुलाउन चाहेनन् । परिवारकै मान्छे घटनामा संलग्न रहेकोले पनि घटनाको वास्तविकता खुल्न गाह्रो भएको डिएसपी सिजापतिको भनाई छ । पक्राउ परेका कमल अग्रवाल पीडित भनिएका मनोजका काकाका छोरा हुन् । घटना आफ्नै परिवारको सदस्यबाट गराएको खुलेपछि पीडित पक्ष नै मुख्य योजनाकारलाई बचाउन लागिपरेको स्रोतको भनाई छ । स्रोतका अनुसार यही कारण अग्रवाल परिवार मुद्दालाई फितलो बनाउन ठुलो रकम खर्चन पनि तयार छ ।
उता प्रहरी भने घटना अनुसन्धानकै क्रममा रहेको र अनुसन्धान पुरा भएपछि अभियुक्तहरुलाई हदैसम्मको कारबाहीको माग गर्ने दाबी गरिरहेको छ । मुख्य योजनाकार भनिएका अग्रवालले काकडभिट्टा(सिमा) पारीका थप २ जनाको नाम लिएकोले घटना उनले गराएको हो वा ती सिमा पारीका व्यक्तिले हो भन्ने उल्झनमा प्रहरी छ । अभियुक्त अग्रवाल र म्यासेज आएको मोवाइल नम्बरबीचको सम्बन्ध केलाइरहे पनि प्रहरीले कुनै क्लु भने पत्ता लगाउन सकेको छैन । ‘अनुसन्धान जारी नै छ, अरु पनि संलग्न छन् भन्ने खुलेकोले को को छन्, तिनीहरुलाई पनि समाउन सकिन्छ कि भन्ने हो’–डिएसपी सिजापतिले भने–‘अहिलेसम्मको अनुसन्धान नतिजाले जे भन्छ, त्यसैअनुसार बुझाउछौं, हदैसम्मको सजाय दाबी गछौं ।’
प्रहरी अनुसन्धानले धम्कीपुर्ण पत्र र गोली पठाउने व्यक्ति कमल अग्रवाल भएको पुष्टि भएपछि पक्राउ गरेको थियो । पीडित परिवार र आरोपित अग्रवालबीच पारिवारिक र व्यावसायिक सम्बन्ध पनि भएकोले आर्थिक लेनदेनको कारण घटना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । तर, पछि उसले आफुलाई अरुले नै अग्राएको बयान दिएपछि प्रहरी रनभुल्लमा परेको हो । प्रहरीका अनुसार अग्रवालले बच्नको लागि सिमा पारीको व्यक्तिको नाम लिएको पनि हुनसक्छ ।
पीीडत मनोजको धरान २ गीतामन्दिर लाइनमा घरमा नै सुन व्यावसाय छ भने कमलको परिवारको धरान ५ स्थित आफ्नै घरमा सुनपसल छ । साथै, मनोजको घर नजिकै एक घर भाडामा लिएर कमलले पाथीभारा फनिर्सिङ पनि चलाएका छन् । प्रहरीले पक्राउ परेका अग्रवाल र शाक्यलाई हातहतियार तथा खरखजना मुद्दा दर्ता गरेको जनाएको छ भने ठकुरीको साथबाट लागुऔषधसमेत भेटिएकोले उसलाई थप लागुऔषधको मुद्दा पनि दर्ता गरेको प्रहरीको भनाई छ । गत असार २० गते एक व्यक्तिले रोमन अक्षरमा हिन्दी भाषमा परिवारको ज्यान खतरामा रहेको धम्कीपुर्ण पत्र र मान्छे आकारको कार्टुनको नक्साको निधारमा गोली राखिएको खाम पीडितको घरमा फालेको थियो । धम्कीपुर्ण पत्रमा एक हजार ग्राम सुन (एक किलो) बराबरको १० पिस मागिएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे