सासु ससुराले छोरा वेपत्ता बनाएको आरोप

पत्रकार सम्मेलनमा नताशा शाही ।
धरान । आफुले हुकाउदै आएको नाबालक छोरालाई पारपाचुके भइसकेको श्रीमान्को परिवारले वेपत्ता बनाएको भन्दै एक महिलाले छोराको अवस्था सार्वजनिक गरिदिन आग्रह गरेकी छिन् । हाल धरान ३ मा आफन्त(माइती)सँग बस्दै आएकी नताशा शाहीले गत बर्षदेखि आफ्नो १० बर्षीय छोरा ओजस्वी(ओजस) खड्गीलाई सासुससुराले लगेर सम्पर्कविहिन पारेको र खोजी गर्दा पनि सासु ससुरा नै सम्पर्कविहिन भएको भन्दै खोजी गरिदिन आग्रह गरेकी हुन् ।
शाहीले आइतबार पत्रकार सम्मेलन गर्दै गत बर्षको साउनमा बेलायतमा रहेका बुबासँग भेटाउने भन्दै सासु ससुराले छोरा लगेका थिए । आफुहरु सम्बन्ध विच्छेद गरेपनि बुबा छोराबीच भेट होस् भनेर पठाइदिए पनि पछि छोरा नफर्काई वेपत्ता बनाएको नताशाले बताइन् । ‘त्यतिबेला स्कुल पनि विदा थियो, छोरालाई पनि बुबासँग भेट हुदा राम्रो नै हुन्छ भनेर सासुससुराको साथमा पठाइदिए’–उनले भनिन्–‘तर, बेलायतबाट बाबुलाई ल्याइसकेर पनि मलाई भेट्नै नदिई कता कता लुकाउदै हिडेका छन्, अहिले त सासु ससुरा पनि सम्पर्कमै हुनुहुन्न । मेरो छोरो मर्यो कि बच्यो, सञ्चो छ कि छैन, के खायो कि खाएन, केही थाहै छैन, थाह पाउने आमाको अधिकार हो कि होइन् ?’
उनका अनुसार जन्मेदेखि नै छोराको लालनपालन उनले नै गर्दै आएकी थिइन् । बच्चाको बुबा ६ बर्षअघि बेलायत गएदेखि छोरालाई सम्झेर एक पटक पनि फोन गरेका थिएनन् । गत बर्ष साउनमा मोरङको सलकपुर बस्दै आएका बच्चाको हजुरबा हजुरआमा विष्णुकुमार र राधादेवी खड्गीले बेलायतमा बुबालाई भेटाउन लैजाने भन्दै ओजस्वीलाई लिएर गएका थिए । बेलायतबाट फर्किसके पछि पनि ओजस्वीलाई आफुकहाँ नल्याएको, भेट्न जादा पनि सासु ससुरा नै घरमा नभेटिने गरेको उनले बताइन् । ‘मैले प्रहरी प्रशासनमा पनि छोरा भेट्न पाउ, अवस्था थाह होस भनेर उजुरी गरे, तर अहिलेसम्म पत्ता लागेन । यसरी भगाई रहदा बच्चालाई मानसिक असर पर्छ, बरु मिलेरै पालनपोषण गर्दा हुनेथियो’–नताशाले भनिन्–‘कहीबाट उपाय नलागेपछि मिडिया समक्ष आएकी हुँ ।’
नताशा र सौरभबिक्रम खड्गीबीच ०६१ सालमा विवाह भएको थियो । अधिकांश समय वैदेशिक रोजगारीमा रहेको सौरभ र नताशाबीच वैवाहिक सम्बन्ध सुमधुर हुन सकेन । सौरभ ६ बर्षअघि बेलायत गएका थिए । दुवैबीच ०७० मा औपचारिकरुपमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद हुदा नताशाले अंश दाबी गरिनन् भने मानसिक आघात नपरोस भनेर छोरा कस्ले राख्ने भन्ने निर्णय पनि लिइएन । सानैदेखि आमासँगै हुर्किएकोले छोरा नताशासँगै थियो । ओजस्वी धरान ७ स्थित पदम मेमोरियल स्कुलमा कक्षा ३ मा पढ्दै थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे