धरानमा आज भुकम्प चेतना दिवस: बर्षेनी आधा घरमा मात्रै संहिताको पुर्णपालना

धरान । २०४५ भदौ ५ गते उदयपुर जिल्ला केन्द्रविन्दु भएर गएको ६.८ रेक्टर स्केलको भुकम्पले धरानमा ठुलो जनधनको क्षति गर्यो । उक्त भुकम्पबाट पाठ सिक्दै धरानले ०६४ सालदेखि राष्ट्रिय भवन निर्माण संहिता पुर्णरुपमा लागु गर्यो । त्यतिबेला उपत्यकामा काठमाण्डौं र ललितपुरपछि संहिता लागु गर्ने धरान तेस्रो नगर थियो । उपत्यकाबाहिर भने पहिलो नगरपालिका बन्यो ।
त्यसयता नगरपालिकाले निर्माणकर्मी र व्यावसायीहरुलाई भवन निर्माण संहिता र भुकम्प प्रतिरोधी घरबारे विभिन्न गोष्ठी, कार्याशालाहरु आयोजना गरिरहेको छ भने एक दशकदेखि भदौ ५ लाई धरान उपमहानगरले भुकम्प चेतना दिवसकोरुपमा मनाउदै आएको छ । भवन निर्माण संहिता लागु गरेको धरानमा ८ बर्ष बितिसक्यो । तरपनि, धरानमा घर बनाउदा अझै पुर्णरुपमा संहिता पालना भएको छैन । धरान उपमहानगरपालिका कार्यालयका अनुसार ०६४ यता निर्माण भएका घरहरुमध्ये करिब ५० प्रतिशले मात्रै पुर्णरुपमा संहितालाई पालना गरेको छ ।
उपमहानगरको शहरी विकाश शाखाका अनुसार बर्षेनी करिब ७ सय हाराहारीमा घरनक्सा पासको निवेदन पर्छन् । तीमध्ये ४५ देखि ५५ प्रतिशतले मात्रै पुर्णरुपमा पालना गरेको छ भने ३० देखि ३५ प्रतिशत घरले संहिता आंशिकमात्र पालना गरेको छ । शाखाका प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठका अनुसार गत आर्थिक बर्ष ०७१÷०७२ मा नक्सा पासको लागि कुल ८ सय घरको निवेदन परेको थियो । ती मध्ये ४ सय अर्थात ५० प्रतिशत घरले मात्रै भवन निर्माण संहिता पुर्ण पालना गरी बनेको छ । निवेदन परेको मध्ये २ सय ५० अर्थात ३१.२५ प्रतिशत घर आंशिकरुपमा मात्रै संहिता पालना गरेर बनाइएको छ भने एक सय ५० अर्थात १८.७५ प्रतिशत घर भवन निर्माण संहिता पालना नगरी नै बनाइएको छ ।
‘भवन निर्माण संहितालाई पुर्णरुपमा पालना गराउनु हाम्रो लागि ठुलो चुनौती छ । पर्याप्त जनशक्ति अभावले प्रभावकारी अनुगमन नहुनु र संहिता उल्लंघन गर्ने ठेकेदारलाई फितलो कारबाही व्यवस्थाले यस्तो भएको हो’–इञ्जिनियर श्रेष्ठले भने–‘केही ठेकेदारमा प्रोफेस्नल इथिक्स नभईदिदा पनि समस्या भएको हो । संहिता पालना गर्नु झञ्झटिलो मानिदिने गरेका छन् ।’ उनका अनुसार संहिता पुर्णरुपमा पालना भएका घरमात्रै भुकम्पीय दृष्टिले सुरक्षित छ । आंशिकरुपमा पालना भएका घर पुर्णरुपमा जोखिम पनि होइन तर पुर्णरुपमा सुरक्षित पनि नहुने उनले प्रष्ट्याए । संहिताले घर बनाउदा ५ वटा मापदण्ड तोकेको छ । पाचै वटा मापदण्ड पुरा गरी बनेको घरले मात्रै पुर्णरुपमा संहिता पालना भएको मानिन्छ । भवन निर्माण संहिता लागु भइसकेपछि धरानमा करिब ५ हजार ८ सयको हाराहारीमा घर बनेका छन् । ती मध्ये आधाले मात्रै संहिता पुर्ण पालना गरेका छन् ।
संहितालाई पुर्णरुपमा पालना नगराउने हो भने भविष्यमा धरानले ठुलो क्षति व्यहोर्नुपर्ने खतरा छ । नेपालमा देखिएको ९२ वटा भुकम्पको ‘एक्टिभ फल्ट्स’ मध्ये एउटा धरानको जमिन मुनि छ । खानी तथा भुगर्भ विभागले ०५८ सालमा गरेको अध्ययन अनुसार धरान र आसपासको क्षेत्रमा ३ वटा चिरा छ । तीन मध्ये एउटा बढी नै सक्रिय(मेन फ्रन्टल थ्रस्ट) भएको त्यतिबेला भुगर्भविदले पत्ता लगाएको थियो । सबैभन्दा बढी सक्रिय फल्ट्स धरान १५ स्थित निराजन बस्तीको आसपास भएर बजार, छाताचोक हुदै पश्चिम सर्दुखोलातर्फ गएको देखिएको छ । ‘त्यही भएर भुगर्भविदहरुले निराजन वस्ती क्षेत्रमा मानव वस्ती नबसाल्नु भनेको थियो, तर सुकुम्बासी र कतिपयको निजी जग्गा पनि भएकोले त्यसो गर्न सम्भवै भएन’–इञ्जिनियर श्रेष्ठले भने ।
धरान नजिकै केन्द्रविन्दु भएर भुइचालो आउदा धरानका पुराना घर र संहिता पालना नभएका घरहरुले थेग्न सक्दैन । धरानको कुल घरमध्ये २० प्रतिशत घर ०४५ सालअघि बनेका छन् । ती घरहरु नै बढी भुकम्पीय दृष्टिले जोखिममा छ । धरानका कुल ३३ हजार घरमध्ये ०६४ साल पछि पुर्णरुपमा संहिता पालना गरी बनेका घर मात्रै पुर्णरुपमा सुरक्षित छन् । ०४५ सालअघि बनेका बजार क्षेत्रको २० प्रतिशत अर्थात करिब ५ हजार ८ सय घर बढी जोखिममा छन् । ‘ती घरहरुलाई भुकम्पीय सृदृढीकरण नीति ल्याएर सुधार नगर्ने हो भने खतरा छ । बर्षिकरुपमा २ सय घर मात्रै सुदृढिकरण गर्दा पनि २६ बर्ष लाग्छ’–इञ्जिनियर श्रेष्ठले भने–‘संहिता लागु हुनुअघि ०४५ देखि ०६४ बीचमा बनेका घरहरु पनि भुकम्पीय दृष्टिले पुर्णरुपमा सुरक्षित भने छैन ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे