तेस्रो सोमबार पिण्डेश्वरमा तीर्थालुको घुइचो(फोटोफिचर)
धरान । साउनको आइतबार र सोमबार धरान र चतरा बजारमा पहेलो(गेरु) वस्त्रधारीहरुको लर्को देखिन्छ । बजारमा पनि हरेक पसलअघि शिवको तस्बिर अंकित गेरुवस्त्र बिक्रीमा झुण्डिएको हुन्छ । चाहे बालबालिका हुन्, युवा युवती वा बृद्धवृद्धाहरु हुन् । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने तीर्थालु भक्तजनहरु पहेलो वस्त्रमा नै हुन्छन् ।
धरानका मात्रै होइन, विभिन्न जिल्लाबाट पिण्डेश्वरमा दर्शन एवं जल चढाउन आउने तीर्थालुहरु पनि गेरुवस्त्रमा नै हुन्छन् । प्रायः सबैतिरको शिवालयमा यही पहिरनमा भक्तजनहरुको घुइचो देखिन्छ । साउनमा गेरुवस्त्रको व्यापार कति होला ? यसै भन्न सकिदैन । ‘साउनमा गेरुवस्त्रको त राम्रो व्यापार हुन्छ, आजै पनि बिहान ७ बजेसम्म गेरुवस्त्रधारी २५ हजार तीर्थालु भक्तजनहरुले जल चढाईसकेका छन्’–पिण्डेश्वर बाबाधाम समितिका सदस्य विकास वनेपालीले भने ।

बाबाधाम समितिका अनुसार साउनमा गेरुवस्त्रको मात्रै होइन, हरियो चुरा पोते र मेहन्दीको पनि राम्रो व्यापार हुन्छ । सौभाग्यको प्रतिक हुने भएकोले साउनमा महिलाहरुले हरियो चुरा, पोते र हातमा मेहन्द लगाउछन् । युवा पुस्तामाझ हरियो चुरा, मेहन्दीप्रति फेशनकोरुपमा आर्कषण बढ्दो छ । साउन महिना हिन्दु आराध्य देव शिवको प्रिय महिना हो । आफ्नो मनोकांक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरुले साउनमा शिवालयमा जल चढाउने गर्छन् । यो बर्ष तिथीले साउन १६ बाटमात्रै साउन महिना लागेकोले तेस्रो सोमबार गेरुवस्त्रधारी भक्तजनहरुको घुइचो भएको थियो । बाबाधाम समितिका अनुसार मन्दिरमा आइतबार साँझ ७ बजेदेखि नै भक्तजनहरुको घुइचो थियो । अत्यधिक भीड बढेपछि मध्यरातमा नै मन्दिरको ढोका खोलिएको समितिले जनाएको छ ।
Comments
Post a Comment