प्रहरीको गोलीले मृत्यु भएका राजिव आन्दोलनकारी थिएनन्


धरान । भारदह १ सप्तरीका राजिव राउत मंगलबार बिहान घरबाट निस्कदा भारदह चोकमा भने भागदौड मच्चिरहेको थियो । त्यही क्रममा उनलाई गोली लाग्यो, र मृत्यु भयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बन्दको क्रममा प्रहरीसँग भएको झडपमा राउतको मृत्यु भए पनि उनी आन्दोलन गर्न चोक पुगेका थिएनन् । बन्द र त्यहाँ भइरहेको आन्दोलनप्रति न उनी सहभागी थिए, न उनलाई मतलब थियो । खेती किसानी गरेर परिवार धानिरहेका उनी त्यति बेला केरामा लगाउने औषधी लिन हिडेका थिए । उनको परिवारको केरा खेती छ । राजनीतिमा कुनै चासो नै नभएका राजिवले मंगलबार अनाहकमा ज्यान गुमाउनु पर्यो । आफन्तजनका अनुसार राजिवको घर र घटनास्थलको दुरी लगभग पाँच सय मिटरको छ ।
वृद्ध आमा मझिया राउतका अनुसार केरामा लगाउने दबाई खरीद गर्न राजिव फार्मेसीमा गएका थिए । प्रहरी र आन्दोलनकारीको झडपबारे बेखवर यो परिवारले एकैछिनमा बज्रपात सहनुपर्यो । राजिवको श्रीमति, २ बर्षका एक छोरा र ६ महिनाकी एक छोरी छन् । दाजु र वृद्ध आमा बुबा पनि छन् । देब्रे छातीमा गोली लागेका राजिवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएपनि बाटोमै मृत्यु भइसकेको थियो । डाक्टरले मृत्युको घोषणा गर्दा उनको साथमा आएका वृद्ध आमा मझिया र बाबु भीम राउत डाँको छोडेर रोइरहे । ‘केरामा दबाई लगाउन भनेर गएको थियो, ज्यानै गयो’–रुदै मझियाले भनिन्–‘अब के गर्ने ? हाम्रो उमेर पनि यस्तो छ ।’
मृतक राजिवका काका पर्ने विनोद कुमार राउतका अनुसार घटनाअघि उनीहरु घरमा सँगै थिए । राजिवलाई राजनीतिबारे कुनै चासो थिएन । उनी राजनीति बुझ्ने व्यक्ति पनि थिएनन् । आन्दोलनमा सहभागी हुन पनि चोकतिर गएका थिएनन् । ‘राजिवलाई पोलिटिक्स थाहै छैन, आन्दोलनमा हिड्ने मान्छे नै होइन’–विनोदले भने–‘एकछिन अघिसम्म घरमा थियौं, उ चोकमा पुग्दा भागदौड रहेछ । भाग्दा भाग्दै उसैलाई गोली लागेछ ।’
प्रतिष्ठानको आकस्मिक कक्षस्थित प्रहरी विटका इञ्चार्ज सई तिलक गिरीका अनुसार पोष्टमार्टम गरेपछि मात्रै राउतको शव घर पठाइनेछ । तर, मृतकका आमाबुबाले डेथ सर्टिफिकेट नै बुझ्न नमानेको कारण पोष्टमार्टम तत्काल हुने सम्भावना नभएको उनले बताए । ‘हाम्रो मान्छे आउदैछन्, भनेर डेथ सर्टिफिकेट पनि बुझेको छैन । त्यसैले आज पोष्टमार्टम हुने सम्भावना छैन’–सई गिरीले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे