पुर्वी नेपाल आउन चाहन्छन्, भारतीय पर्यटक

धरान । अगष्ट ८ देखि १२ स  मभारतको उत्तरपुर्वी राज्यमा पुर्वी नेपालको पर्यटकीय गन्तव्यहरुको प्रचार एवं प्रर्वद्धन गर्न पर्यटनकर्मीहरुको एक टोली गएको थियो । उक्त टोली त्यतिबेला अचम्मित भयो, जब स्थानीय पर्यटनकर्मीहरुलाई नजिकै रहेको पुर्वी नेपालको पर्यटनबारे थाहै थिएन ।
पश्चिम वंगालको सिलगुडी, दार्जिलिङ र सिक्किमको गान्तोकमा पुर्वी नेपालको ‘ग्रिन इष्ट’ टुर प्याकेजको प्रचार गरेर फर्किएका पर्यटनकर्मीलाई आशा छ, अब पुर्वी नेपालमा भारतबाट पर्यटकहरु आउनेछन् । दार्जिलिङ र सिक्किमको विकल्पमा पुर्वी नेपाल भारतीय पर्यटकहरुको गन्तव्य बन्नेछ । पश्चिम वंगालको सिलगुडी, दार्जिलिङबाट पुर्वी नेपालको दुरी धेरै टाढा पनि होइन । तर, त्यहाँका अधिकांश पर्यटकहरुलाई यहाँको पर्यटकीय गन्तव्यहरुबारे जानकारी नै छैन । उनीहरु दार्जिलिङ, सिक्किमको गान्तोक दोहोर्याएर जान्छन् कि भुटानको थिम्पुतिर पुग्छन् ।
नेपाल आउदा पनि उनीहरु सिधै पर्यटनको गोल्डेन ट्रयांगल भनिएको काठमाण्डौं, पोखरा र चितवन(सौराहा) पुग्ने गरेका छन् । ‘अब सिक्किम र दार्जिलिङ पटक पटक गएकोले वंगाली पर्यटकहरुलाई त्यसको विकल्प चाहिएको रहेछ । पछिल्लो समय उनीहरु भुटानतिर जादा रहेछन्’–ग्रिन इष्टका अभियन्ता एवं सेक्ष ट्राभलिङसम्बद्ध पर्यटनकर्मी वासुदेव वरालले भने–‘हामी यति नजिकमा छौं, तर पनि हाम्रो पर्यटकीय गन्तव्यहरुबारे थाहै रहेनछ । नेपाल भनेको सिधै काठमाण्डौं र पोखरा मात्रै घुम्ने ठाउँ हो भन्दा रैछन् ।’
उनका अनुसार धरानबारे धेरैले सुनेपनि पर्यटनको दृष्टिबाट भन्दा पनि ब्रिटिश आर्मी भर्ती केन्द्रकोरुपमा मात्रै सुनेका रहेछन् । यहाँको गल्फ कोर्ष, विजयपुरगढीस्थित मठमन्दिर, र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङबारे स्थानीयलाई थाहै छैन । गत बैशाख १२ गतेको भुकम्पले नेपाल सबै ध्वस्त भयो भन्ने सन्देश पुगेकोले पर्यटकीय पुर्वाधारहरु पनि छैनन् भन्ने भ्रम स्थानीय पर्यटनकर्मीहरुलाईसमेत छ । ‘हामी पुगेपछि त पुर्वमा यति नजिकै यस्तो गन्तव्य पनि छ ? भन्दै उहाँहरु छक्क पर्नुभो । वंगालीहरुलाई भुटान जानुभन्दा हावापानी र निकटताको दृष्टिले पुर्वी नेपाल उपयुक्त हुने रहेछ’–वरालले भने–‘अब सिक्किम, दार्जिलिङ पटक पटक घुमिसकेका वंगालीहरुको गन्तव्य पुर्वी नेपाल हुनेछ भन्ने आशा जागेको छ ।’
टोलीले ग्रिन इष्ट नेपाल नारासहित नेचर(प्रकृति), कल्चर(सँस्कृति) र एड्भेञ्चर(साहसिक खेल) बारे प्रचारसँगै छलफल गरेको थियो । टोलीले सुनसरीको बराहक्षेत्र मन्दिर, भेडेटार, निर्वाणा गल्फ कोर्ष, तमोर ¥याफिटङ,  प्याराग्लाईडिङको प्रचार गरेको थियो । यस्तै, इलामका सन्दकपुर, फिक्कल, माईपोखरी, ताप्लेजुङको पाथीभरा मन्दिर, हिम श्रृङ्खलाबारे पनि जानकारी गराएको थियो । वंगालीहरु छुट्टिमा प्रत्येक शनिबार र आइतबार परिवारसहित घुम्न निस्कने चलन छ । त्यसैले तत्कालको लागि २ रातको विकेन्ड प्याकेजबाट पुर्वी नेपालले तत्काल फाइदा लिन सक्छ भने लामो वसाईको लागि ७ देखि १५ दिने ग्रिन इष्ट प्याकेजबाट फाइदा पुग्नेछ । ‘हाम्रो पुर्वको गन्तव्य त त्यहाँको पर्यटकहरुको लागि एकदमै भर्जिन रहेछ । हाम्रो पोष्टर, ब्रोसर र मौखिक प्रस्तुतीले उहाँहरु त अचम्मित हुनुभयो । पुर्व त गोल्डेन ट्रांगल पुग्ने रुट मात्रै रहेछ उहाँहरुको लागि’–टोलीमा सँगै गएका होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले भने–‘हामीलाई आत्मविश्वास जागेको छ, अबको सिजनमा पुर्वको गन्तव्यहरु बिक्री हुन्छ भन्ने ।’
उनका अनुसार भेडेटार आउने पर्यटकहरुलाई अब भेडेटारले मात्रै थेग्दैन । त्यसैले भेडेटारलाई हिल स्टेशनकोरुपमा विकास गरेर ३, ४ दिनको प्याकेज तयार गरिनेछ । उक्त प्याकेजमा तीनजुरे, मिल्के, विश्रान्ती मन्दिर, राजारानीलगायत गन्तव्यहरु समेटिनेछ । ‘नाम्जे, पाथीभारा, नमस्ते झरनाले मात्रै अब भेडेटारलाई पुग्दैन । अब राजारानी, तीनजुरे, मिल्केसम्मको हिल स्टेशन प्याकेज बनाएर आउने सिजनमा पर्यटकलाई आर्कर्षित गछौं’–अध्यक्ष लावतीले भने ।

भारतीय नम्बर प्लेटलाई सास्ती

भारतीय पर्यटकहरु प्रायः आफ्नै गाडीमा घुम्न आएका हुन्छन् । उनीहरुलाई प्रवेश गर्दा नाकादेखि गन्तव्यमा नपुगेसम्म अनेक सास्ती भोग्नुपर्छ । ‘भारतीय पर्यटकहरुले बोर्डरदेखि सडकमा ठाउँ ठाउँमा दुःख पाउदा रहेछन् । प्रहरीदेखि रसिद काट्नेसम्मले पैसा जथाभावी असुल्दा रहेछ’–होटल एशोसिएशन भेडेटारका अध्यक्ष लावतीले भने ।
उनका अनुसार भारतीय नम्बर प्लेटको गाडीलाई जो कोहीले रोकेर ट्याक्स(रसिद) कटाउदो रहेछ । कागजपत्र देखाए पनि प्रहरीले रोकेर झञ्झट दिने गरेको भारतीयहरुको गुनासो छ । ‘वंगालका पर्यटकहरुको गन्तव्य यता भयो भने यहाँको पर्यटनले गति लिन्छ, तर त्यसको लागि बोर्डर नाकादेखि सडकमा दुःख दिने काम गरिनु हुदैन’–उनले भने ।

     ट्राभल एजेन्सीको सक्रियताको खाचो

पर्यटनको विकासमा ट्राभल एजेन्सीहरुको ठुलो भुमिका हुन्छ । एजेन्सीहरुले नै पर्यटकीय गन्तव्यहरुको प्याकेज तयार गर्ने र पर्यटकहरुलाई ती गन्तव्यमा पुर्याउने काम हो । एजेन्सीहरुले नै गन्तव्यहरुको प्रचारप्रसार गर्दै पर्यटकहरुसमक्ष बिक्री गर्नुपर्छ । तर, पुर्वको सन्दर्भमा भने यस्तो छैन । ट्राभल एजेन्सीहरु हवाईजहाजको टिकट बिक्रीमा नै सिमित छन् । ‘पर्यटकहरु नयाँ गन्तव्यको खोजीमा छन्, तर कस्ले बोलाउने ? यो समस्या छ’–सेक्ष ट्राभलिङका वराल भन्छन्–‘अब ट्राभल एजेन्सीहरु सक्रिय हुने बेला आइसक्यो । पर्यटकहरुसम्म प्याकेज लैजाने र घुमाउन ल्याउने कामतिर पनि ध्यान दिनुपर्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे