महिला सञ्जालको पदस्थापन(फोटोफिचर)
धरान । विभिन्न महिला संघसंस्थाहरुको साझा संगठनकोरुपमा रहेको महिला सञ्जाल धरान नगर कमिटिको नवनिर्वाचित कार्यसमितिको बुधबार पदस्थापन गरिएको छ । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष मिना पुलामी मगरले कार्यभार हस्तान्तरणसँगै पदस्थापन र शपथ पनि गराएकी थिइन् ।
सोही कार्यक्रममा महिला अधिकार तथा महिला हिंसाविरुद्धको अभियानलाई योगदान गरेको कदर गर्दै नयाँ कार्यसमितिले पत्रकार तथा संस्थापक अध्यक्ष गंगा पौडेल र सञ्जालका निवर्तमान अध्यक्ष एवं संरक्षक सदस्य मिना पुलामी मगरलाई सम्मानसमेत गर्यो । सञ्जालको स्थापना र महिलावादी संघसंस्थाहरुलाई समेट्दै महिला हिंसा र अधिकार प्राप्तीको अभियानमा दुवैले अग्रणी भुमिका निर्वाह गरेकोले सम्मान गरिएको सञ्जालकी नवनिर्वाचित अध्यक्ष शिला बज्रचार्यले बताइन् । सम्मानित दुवैलाई अध्यक्ष बज्रचार्यले सम्मान पत्र प्रदान गरिन् भने समाजसेवी सरला कायस्थ र तुलसा शर्माले दोसल्ला ओढाएकी थिइन् ।
धरानभित्रका महिला संघसंस्थाहरुको सञ्जालको साउन ९ गते सम्पन्न दोस्रो साधारणसभाले बज्रचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । सोही पदस्थापन समारोहमा संरक्षक सदस्य एवं पुर्वअध्यक्ष मिना पुलामीले संस्थाको अक्षय कोष स्थापना गर्ने उद्देश्यले नगद ११ हजार १ सय ११ रुपैया कोषाध्यक्ष सिता मगरलाई हस्तान्तरण गरेकी थिइन् । नवनिर्वाचित अध्यक्ष बज्रचार्यले सञ्जालको कार्यलय स्थापना गर्ने र बार्षिक कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाइन् । समारोहका प्रमुख अतिथि एवं उपमहनगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले अन्य नगरको लागि धरानको महिला सञ्जाल उदाहरणीय बनेको धारणा व्यक्त गरे । विभिन्न राजनीतिक विचारका महिलाहरु भएर पनि सञ्जालले एकता प्रर्दशन गरेको प्रसंसा गर्दै उनले अक्षय कोष बढाउन उपमहानगरले पनि सहयोग गर्ने बताए ।कांग्रेस केन्द्रीय सदस्य मिना सुब्बाले संविधान निर्माणको क्रममा रहेकोले महिलालाई अधिकारबाट बञ्चित गराउनसक्ने भएकोले सञ्जालले पनि खबरदारी गर्नुपर्ने बताइन् । इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापतिले महिला हिंसा र समस्या अन्त्यको लागि प्रहरीले हातेमाले गर्ने बताउदै धरानमा पीडित महिलाको लागि सेफ हाउसको आवश्यकता रहेको औल्याए । कार्यक्रममा निवर्तमान अध्यक्ष मिना पुलामी, समाजसेवी सरला कायस्थ, तुलसा शर्मा, उपमहानगरका सामाज विकास अधिकृत सुनिल नेपाल, कार्यक्रम संयोजक एवं सञ्जाल सदस्य यशोदा कायस्थलगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा सल्लाहकारमा लिला सुब्बा, सुनिल नेपाल र मोहन श्रेष्ठलाई मनोनयन गरेको जानकारी पनि दिइएको थियो ।











Comments
Post a Comment