धराने युवाहरुको साइकल रहर(फोटोफिचर)

शहरी युवाहरु सुविधाभोगी छन् । कामकाजी हुन् वा फुर्सदिला, उनीहरुको पहिलो रोजाई नै मोटरसाइकल हुन्छ । मोटरसाइकल, कारमा हुइकिन पाउदा साथीभाई माझ आफ्नो सान बढ्ने ठान्छन् । त्यसैले एसएलसी पास हुदा मोटरसाइकल किनिदिनुपर्ने सर्त हुन्छ । लाइसेन्स होस कि नहोस्, बतासिदै हुइकिन्छन् । अधिकतर मोटरसाइकल दुर्घटना पर्नेहरु टिनएज र युवा नै छन् । तर, सबै युवाको सोचाई त्यस्तो हुदैनन् । धरानमा यस्ता युवाहरु पनि छन्, जो साइकललाई आफ्नो जिन्दगी मान्छन् र हरदम साइकलमा यात्रा पनि गर्छन् ।
बिहान र साँझमा युवाहरु धरानको सडकमा पायडल मारिरहेको भेटिदा अचम्मित हुनु पदैन । किनभने, यी युवाहरु हरेक बिहानी र साँझमा साइक्लिङमा निस्कन्छन् । कहिले गाउँ, डाँडापाखातिर पुग्छन् । उनीहरुको अभियानै छ, अब छोराछोरीले आफ्ना आमाबुबासँग मोटरसाइकल होइन साइकल किनिदिन आग्रह गरुन् । त्यस्तो समय आओस कि हरेक युवाहरु साइकलमा सरर गुड्न पाउदा हिनताबोध होइन, गर्व गरुन् । साइकल चलाउदा स्वास्थ्य पनि त भइन्छ  ! धरानेहरुमा साइक्लिङ र आफ्नो स्वास्थ्यप्रति सचेत गराउन यी साइक्लिष्ट युवाहरुको ठुलो देन छ । धरानलाई साइकल सिटी बनाउने उनीहरुको अभियान सफल होस् ।
करिब छ बर्षअघिसम्म त धरानमा साइकल(माउण्टेन बाइक)मा हिड्नेलाई खिसि गरिन्थ्यो । साइकल पनि चढ्ने हो र ? भन्थे । साइकलको दाम सुन्दा अचम्मित हुन्थे । तर, औलामा गन्न सकिने धराने युवाहरुबाट शुरु भएको साइक्लिङले अहिले व्यापकता पाइसकेको छ । साइक्लिङले स्वस्थ्य रहन मद्दत पुग्छ । धराने युवाहरु स्वास्थ्यको लागि मात्रै साइकल चढ्दैनन्, पैसा तिरेर प्याकेजमा डुल्न पनि निस्कन्छन् । छोटो समयमै धरानमा साइक्लिङले ‘साइकल पर्यटन’को रुप लिइसकेको छ । एक पछि अर्को माउण्टेन बाइक शो रुम खुलेका छन् । तिनले माउण्टेन बाइक मात्रै बिक्री गर्दैन, प्योजक टुर पनि गराउछन् ।
साइक्लिङ मलाई पनि मनपर्छ । साइक्लिष्ट युवाहरुको संगतले थुप्रै पटक म पनि साइक्लिङमा गएको छुँ । पसिनाले निथु्रक्कै भिजेको छु । त्यतिबेला ज्यानले नयाँ उर्जा पाएको झै महसुस भा थियो । शहरी दैनिकीदेखि वाक्क भएको बेला प्रकृति, गाउले जनजीवनलाई नजिकबाट नियाल्ने मौका पाएको छुँ । तर, पछिल्लो समय झण्डै दुई बर्ष भइसकेछ साइक्लिङ नगाएको । जाने तीब्र इच्छा हुदा हुदै पनि समय मिलेन । गएको असार, साउनमा साथीहरुलाई रोपाईको बेला गाउँतिर साइक्लिङ जाने इच्छा बताए । तर आफैले समय दिन सकिन । साइकल पनि किनेको थिए । बिहानै साइक्लिङमा पनि जान्थे । अहिले मसँग छैन ।
साइक्लिङका राष्ट्रिय खेलाडी सन्तोष राई झण्डै एक महिनादेखि धरानमा छन् । मनसुन र्याफ्टिङ जादाको बोल नै उनले साइक्लिङ जाने प्रस्ताव गरेका पनि थिए । तर, मौका भने गएको आइतबार मात्रै जुर्यो । त्यो पनि ६ संघीय प्रदेशमा चित्त नबुझेको विभिन्न राजनीतिक दलको दुई दिने आमहड्तालको दिन । विश्व साइकल यात्री पुष्कार शाह तीन दिनदेखि धरानमै थिए । भेट हुन सकेको थिएन । त्यही दिन बिहान हामी सँगै साइक्लिङमा जाने भयौं । हाम्रो गन्तव्य ऐतिहासिक विजयपुर गढीको पञ्चकन्या जंगल क्षेत्र ।
आगामी मंसिरमा सातांै राष्ट्रिय खेलकुद पुर्वाञ्चलमा हुदैछ भने साइक्लिङ खेल धरानमा । पुष्कर दाई धरान आउनुको कारण त्यही साइक्लिङ च्याम्पियनसिपको लागि रुट रेकी गर्नुरहेछ । दुई दिनसम्म पञ्चकन्या जंगल क्षेत्रमा स्थलगत अवलोकन भइसकेको थियो । तेस्रो दिन हामीसँगै साइक्लिङमा जाने र जिपिएस म्यापिङबाट रुटको दुरी निश्चित गर्नु थियो । लामो ग्याप पछि साइक्लिङमा जादै थिएँ । हामीसँग विश्वसाइकल यात्री शाह, राष्ट्रिय खेलाडी राई, राइडर्स एण्ड एमटिबि जोन र टक्स माउण्टेन बाइक शो रुमका जुनियर खेलाडी, फोटोग्राफर, इञ्जिनियरिङ क्याम्पसका शिक्षक पनि सँगै थियौं । महेन्द्र बहुमुखी क्याम्पसअघि भेला भएर डेढ दर्जन युवाहरु पाइडल मार्दा साढे ७ बजिसकेको थियो ।
कवर्ड हल, कलेज रोड हुदै धरान बजारको कोशी राजमार्गमा पुग्दा सडक खुला थियो । सधै त त्यहाँ जथाभावी पार्किङ र ओहोर दोहोर गर्ने गाडीको लस्कर हुन्थ्यो । सडकमा ठुला गाडी र मोटरसाइकलकै राज चल्छ । पैदल यात्री र साइकललाई भने जहिल्यै खतरा । तर, आमहडतालले गर्दा सडक सुनसान छ । कुनै डर, त्रास विना मजाले साइकल गुडायौं । धरानमा साइकल सिटीको अवधारणा आएपछि सडक बनाउदा साइकल लेन पनि बनाउनुपर्छ भन्ने आवाज पनि नउठेको होइन । तर, कार्यान्वयन भएको छैन । बन्दमा मात्रै होइन, साइकल लेनमा सुरक्षित भएर साइकल चलाउने दिन चाडै आओस् ।
छाता चोकबाट अघि बढ्दै गर्दा म छोडिए । धेरै पछि साइकल चलाएकोले होला चाडै गलेजस्तो पनि भयो । तर, राष्ट्रिय खेलाडी(सन्तोष)ले मलाई साथ दिए । उनले कुन गियरमा चलाउदा सहज हुन्छ भन्दै टिप्स दिए । घरि घरि मलाई एक हातले पछाडिबाट पनि ठेलेर मद्दत गरे । धरान १३ अमरहाटस्थित अमर सेवा समाजको कार्यालयअघि रोकियौं । सातौंको लागि खेलको स्टार्टिङ प्वाइन्ट त्यही रहेछ । पाँच जना जुनियर साइक्लिष्ट(खेलाडी) किरण राई, विवेक चौधरी, सन्देश गुरुङ, अभिषेक राई र कौशल राई प्रतियोगिता जस्तै गरि अघि जाने भए । एक ल्याप सक्दा कति किलोमिटर होला, उनीहरुबाट नै जिपिएस म्यापिङ हुदैथियो ।
जुनियर भाइहरु हिडेपछि बाँकी टोली पनि उकालियौं । अमरहाटबाट ढुंगा बिछ्याएको ठाडो उकालो बाटो छ । त्यो बाटोमा आफ्नै साइकल हुदा पुगेको थिए । यति उकालो छ कि थोरैले मात्रै पायडल चलाउन सक्यौं । राष्ट्रिय खेलाडी(सन्तोष) निक्कै बोलाइलो छन् । उनका हरेक कुरा रमाइलो लाग्छ । मलगायतले साइकल डोर्याउदै गरेको देखेपछि ‘नेभर गिपअप’ भन्दै आइपुगे । मुश्किल त उनलाई पनि भएकै छ । तरपनि ‘राम्री श्रीमति हुनेले श्रीमति, छोराछोरी हुनेले छोराछोरी सम्झनु, मेरो त भर्खर छोरा भा छ, उसैलाई सम्झन्छु’ भन्दै उकालिए । साइकल डोर्याउनेहरुले हाँस्दै बाटो छोडिदियौं ।
उकालो सकिएपछि पञ्चकन्या जंगल जाने रोड भेटियो । अब भने सबै पाइडल मार्न थाल्यौं । पञ्चकन्या मन्दिरअघि रोकियौं । त्यहाँ पाथीभारा युमाको मन्दिर पनि छ । भक्तजनहरु आउने जाने क्रम चलिनै रहेको छ । जंगलको बीचमा मन्दिर, सितल हावा । कस्तो आनन्द । एकैछिन अघि पायडल मार्दा तातिएको शरीर एकाएक शान्त र सितल भयो । त्यहाँ राष्ट्रिय खेलाडी सन्तोषले साइक्लिङको क्रममा साइकल बिग्रदा के गर्ने भनेर टिप्स दिए । ‘साइक्लिङमा मजा छ, त्यही भएर त पुष्कर दाई ११ बर्षसम्म संसार डुले’–उनले यसो भन्दा हाँसो चल्यो ।
पुष्कर दाई आमाले दिनु भएको सय रुपैया लिएर साइकलमा संसार डुल्न निस्केका थिए । त्यतिबेला टिभि, पत्रपत्रिकामा पढेको थिए । पछि उहाँको पुस्तक संसारलाई पाँच फन्को पनि किनेर पढे । सन् १९९८ अगष्टदेखि २००९ अगष्टसम्म १५० देश साइकलमा डुलेका । उनकै भनाईमा साइकल चलाउदा दैनिक १ लिटर पेट्रेलको खर्च बच्छ । मासिकरुपमा सरदर ३ हजार रुपैया बच्छ । यसले २ वटा खाना पकाउने ग्याँस सिलिण्डर आउछ । एक लिटर पेट्रेलले फाल्ने कार्बनडाइअक्साइड खपत गर्न ८ वटा रुख चाहिन्छ । ‘त्यसैले एक दिन साइकल चलाउदा ८ वटा रुख रोपे जस्तै हो’–पुष्कर दाईले भने ।
त्यतिमात्रै कहाँ हो र, उहाँ त १७ बर्षअघि पनि १७ बर्षकै हुनुन्थ्यो रे ! मानिसलाई गर्मी हुदा निस्कने पसिना बाहिरि लेयर(तह)को मात्रै हो रे । साइक्लिङ गर्दा निस्कने पसिना भित्री बोसो पग्लेर निस्केको । यसले शरीरलाई ज्यादै फाइदा पुर्याउछ, स्वास्थ्य रहन । पौडी पछि धेरै कसरत हुने खेल साइक्लिङ नै हो । पुष्कर दाईबाट यति साइकल महात्म्य सुनि सकेपछि आज टन्नै बोसो गग्लिएछ भनेर मन त्यसै रमायो ।
जिपिएस म्यापिङसहित जुनियर भाईहरु आइपुगे । रुट एक ल्याप सक्दा ५.२ किलोमिटर देखायो । त्यसपछि हाम्रो यात्रा शुरु भयो, जंगलभित्रको सिंगल ट्रयाकमा । यसलाई जंगल सफारी पनि भनिन्छ । घास दाउरा गर्न जानेहरुले बनाएको सानो गोरेटोमा साइकलको चक्कालाई गुडाउनु त्यो पनि उकालो र ओरालोमा । कम्ता आँट चाहिन्छ ? त्यसै साइक्लिङ(माउण्टेन बाइक)लाई साहसिक खेल भनिएको होइन । ठाउँ ठाउँमा उत्रिएर डोराउनु पर्यो । चराचुरुङ्गीको चिरबिर आवाज, अलिक पर्तिर सेउती खोला सुसाइरहेछ । हामी घरि साइकल डोर्याउदै त घरि पायडल मार्दै साना विरुवासँग हेलिदै अघि बढ्छौं । जिउ तातिएको छ, तर छिन छिनमा वहने सितल हावाले आनन्द दिलाउछ ।
जंगलको सिरानमा ऐतिहासिक दरबारको भग्नाावशेष छ । हामी ठिक गढी मुनि सुस्तातौं । यो दरबार तत्कालीन विजयपुरे राजा बुद्धिकर्णको भएको मानिन्छ । वि.स.१८३१ साउन २२ मा गोर्खाली र लिम्बुबीच ऐतिहासिक सन्धी भयो भने १८३३ मा राजा बुद्धिकर्णको हत्या गरिएको इतिहास छ । तर, यो दरबारको संरक्षण कसैबाट हुन सकेन । पुरात्तात्विक महत्वका त्यहाँका ठुला इटाहरु चोरियो । दरबारस्थलमा पुग्न नसकेपनि स्मरण गर्दै हामी तलबाटै ओरालो झर्यौं । तस्बिर खिच्यौं । झण्डै पाँच घण्टे यात्रा सकिने क्रममा थियो । मेरै असावधानीले एक ठाउँ पछारिए । बाटोको साइडमा ठुलो ढुंगा थियो । पायडल नउचाल्दा त्यहाँ ठोकियो र लडे । तर, ठुलो चोट लागेन । सम्झिए, मोटरसाइकलबाट यसरी नै लडेको भए ? ज्यानै जानसक्थ्यो ।
मलाई भानुचौकबाट बन्दको तस्बिर लिनुथियो । साइकलमै हामी पुग्यौं । घण्टाघर, भानुभक्तको सालिक र सुनसान सडकको तस्बिर कैद गरे । हिड्ने बेला एक जना बन्दकर्ता आएर साइकल डोराउदै जाउ, नत्र ठिक हुदैन भन्दै धम्क्यायो । म त छक्क परे । बन्दमा साइकल पनि निषेध ? जबकी बन्दकर्ताहरु मोटरसाइकलमै उनीहरुले निषेध गरेको क्षेत्रमा गुडिरहेको छ । केहीबेर प्रतिवाद गरेर हामी बाटो लाग्यौं । संविधान बन्ने संघारमा छ, अब देशमा दिगो शान्ति, स्थिरता आउला कि भनेको त फेरि बन्द, हड्तालको श्रृंखला शुरु भयो । यसको अन्त्य कहिले होला ? समुन्नत नेपाल कहिले बन्ला ? र आमजनताले साइकलमा आनन्दले डुल्ने दिन आउला ।

..................

                                पुष्कर शाह
                          विश्व साइकलयात्री
: धराने युवाहरुमा साइक्लिङप्रतिको रुचि देखेर खुशी छु । यसले मनोरञ्जन मात्र दिदैन, स्वास्थ्य पनि बनाउछ । यो खेल पनि हो । युवाहरुलाई विकृतितर्फ जानबाट पनि रोक्छ । एसएलसी परीक्षा पास हुदा अढाई लाखको मोटरसाइकल किनिदिने चलन छ । त्यसको बदलामा ५० हजारको साइकल किनिदिनुस् र २ लाख बैक खातामा जम्मा गरिदिनुस् । साइकल चलाउदा दुर्घटनाबाट पनि तपाईका छोराछोरी बच्छन् ।
........................................
                                                      सन्तोष राई, 
                                           साइक्लिङ, राष्ट्रिय खेलाडी
: धरान टुरिज्मको लागि एकदमै राम्रो ठाउँ हो । धरान वरीपरि र आसापासबाट प्रकृति, खोला, डाँडापाखा र वस्ती देखिन्छ । धरान बजार पनि हेर्न सकिनेरहेछ । धरानले साइकल पर्यटनलाई अघि बढाउनुपर्छ । साइक्लिङले युवाहरुलाई भातृत्वको भावना जगाउछ । जुनसुकै पेशा, वर्ग र समुदायको होस्, साइक्लिङमा डिडेपछि उ मात्र साइक्लिष्ट हुन्छ र चाडै साथी बनिहाल्छ ।
............... .....
                                          फरेन्न लिम्बु
                                प्रोपाइटर, राइडर्स एण्ड एमटिबि जोन
: धरानमा साइक्लिष्टहरु बढिनै रहेको छ । शुरुमा ४, ५ जनासँग मात्रै माउण्टेन बाइक थियो । अहिले ६०, ७० जनासँग छ । नियमितरुपमा २५, ३० जना साइक्लिङमा गइरहन्छन् । यहाँ इष्टर्न ट्रेल, टक्स माउण्ेटन बाइक र हामी प्याकेजमा पनि विभिन्न रुटमा लैजान्छांै । प्याकेजमा जानेहरु पनि बढ्दैछन् । यहाँका भाईहरु नेशनल इभेन्टमा पनि भाग लिइसकेका छन्, र खेलाडीहरु पनि बढ्दैछ । धरान साइक्लिङको गोल्डेन हब हुनसक्छ
.....................
                                       योरस राई, साइक्लिष्ट
: मसँग साइकल छ । एक महिनादेखि साइक्लिङ गरिरहेको छु । हरेक बेलुका जान्छु, कहिले कही बिहान पनि । कम्तीमा ७ किलोमिटर साइक्लिङ गर्छु । प्रायः १०, १२ किलोमिटर डुल्छौं । मोटो जिउ छ, अहिले हल्का हुदैछ । एक सय १० किलो थिए, एक महिनामा ७ किलो घटिसके । पहिला बिहान टाउको दुख्ने, अल्छी लाग्ने हुन्थ्यो । अहिले त्यस्तो हुदैन ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे