विद्यार्थी सुंख्या घटेपछि अंग्रेजीबाट पढाई


धरान । सेउती खोला किनारको खोरिया बस्ती । जहाँ अधिकांश गरिब सुकुम्बासीहरु बस्छन् । तिनका छोराछोरी घरनजिकैको जनता प्राविमा पढ्न जान्छन् । जति नै गरिब भएपनि आफ्ना सन्तानले राम्रो शिक्षा पाउन् भन्ने अभिभावकको चाहना हुुन्छ । त्यो चाहनाको मारमा भने समुदायले नै स्थापना गरेको जनता प्राविले खेप्यो ।
आफ्ना सन्तानलाई अंग्रेजी माध्यमबाट पढाउने चाहनाले आगनकै स्कुल उनीहरुको रोजाईमा पर्न छाड्यो । आफैले स्थापना गरेको स्कुलको साटो स्थानीयले धमाधम आप्mना छोराछोरी बोर्डिङ स्कुलमा भर्ना गर्न थाले । बर्षेनी विद्यार्थी संख्या घट्न थालेपछि विद्यालय पनि चिन्तित भयो । अन्ततः अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न प्राविले उपाय निकाल्यो, अंग्रेजी माध्यमबाट अध्यापन शुरु गर्ने । चालु शैक्षिक सत्रदेखि धरान १५ स्थित यो स्कुलले कक्षा १ बाट अंग्रेजी माध्यमबाट पढाई शुरु गरेको छ । शुरुवाती महिनामा नै यसको सकरात्मक प्रभाव पनि पर्दैछ । यो खबरले अभिभावकहरुले विद्यालयको पढाईप्रति निक्कै चासो दिन थालेका छन् ।
‘गरिब नै भएपनि अभिभावकहरुले छोराछोरी बोर्डिङतिर लैजान थाले, सरकारी स्कुलले पनि बोर्डिङसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो’–विद्यालयका प्रअ केशरबहादुर कार्कीले भने–‘त्यसैले यो शैक्षिक सत्रदेखि कक्षा १ बाट अंग्रेजी माध्यमबाट पढाई शुरु गरेका छौं, अहिले अभिभावकहरु पनि अंग्रेजीमा पढाई हुन्छ रे भन्दै निक्कै चासो दिनथाल्नुभएको छ ।’ प्रअ कार्कीका अनुसार बोर्डिङ आर्कषणले गर्दा समुदायको स्कुलमा बर्षेनी विद्यार्थी घटिरहेको छ । गत बर्ष भन्दा यो बर्ष ५० प्रतिशत विद्यार्थी कम भएको उनले बताए । गत बर्ष सय जना विद्यार्थी भएकोले यो शैक्षिक सत्रमा मात्र ५० को हाराहारीमा विद्यार्थी संख्या छ ।
अंग्रेजी माध्यमबाट पढाई शुरु गर्न विद्यालयलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिक्रमा विद्यार्थी परिवारले कक्षा १ लाई आवश्यक पुस्तक सहयोग गर्यो । जिल्ला शिक्षा कार्यालयले २ जना शिक्षकलाई अंग्रेजी माध्यमबाट पढाउने प्रशिक्षण गराईदियो भने हरेक बर्ष क्षमता अभिवृद्धि तालिम दिने भएको छ । यो बर्ष कक्षा १ मा ९ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । विद्यालयका अनुसार यो स्कुलमा अचेल खोलामा गिटी कुट्ने ज्यादै निम्न आर्थिक अवस्थाका परिवारका सन्तान मात्रै पढ्न आउछन् । ज्याला मजदुरी नै गर्ने भएपनि अन्यले भने बोर्डिङमा नै छोराछोरी पढाउने गरेको शिक्षिका रिता कार्कीले बताइन् । ‘गरिब नै भएपनि छोराछोरीको भविष्यको लागि भन्दै सकेसम्म बोर्डिङ नै पढाउन खोज्छन्, नसक्नेका मात्रै यहाँ पढाउन आउछन्’–उनले भनिन्–‘यही स्कुलमा अंग्रेजीमा पढाई हुदा गरिबलाई धेरै राहत पुग्छ ।’
विद्यालयका अनुसार पहिला वास्तै नगर्ने स्थानीय अभिभावकहरु पनि अंग्रेजीमा पढाई हुने सुनेपछि निक्कै चासो दिन थालेका थिए । अंग्रेजी माध्यमको पुस्तक पनि विद्यार्थीले पाएपछि बोर्डिङको जस्तै रैछ भन्दै अचम्म मान्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन राईले बताए । अंग्रेजी माध्यमको पुस्तक र पढाईले विद्यार्थी खुशी छन् भने अभिभावकहरु सकरात्मक भएको उनको भनाई छ । ‘अंग्रेजीमा कसरी पढाउछन् भनेर अभिभावकहरु हेर्न आउछन् । सरकारी स्कुलमा पनि बोर्डिङकै जस्तो किताब भयो, पढाई पनि त्यस्तै होस भन्दै कामना गर्छन्’–अध्यक्ष राईले भने ।
ज्यादै निम्न आर्थिक अवस्थाका सुकुम्बासी परिवारका सन्तान शिक्षाबाट बञ्चित नहोस् भनेर ०५२ सालमा युनिसेफको सहयोगमा उक्त वस्तीमा अनौपचारिक वाल शिक्षा शुरुवात भएको थियो । विद्यार्थीहरुको संख्या बढेपछि स्थानीयले बासको टाटीले बारबेरा गरेर स्कुल बनाए । पछि सम्यक शिक्षा समुहको पहलमा पक्की भवन बनेपनि अन्य पूर्वाधार र सुविधाबाट भने विद्यालय अझै पनि बञ्चित छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे