जेसीज सप्ताह शुरु, वाकाथानमा दुई सय बढी सहभागी


धरान । धरान जेसीजको सामुदायिक विकास कार्यक्रमअन्र्तगत जेसीज सप्ताह शुरु भएको छ । छोटो दुरीको च्यारिटेवल हिडाई ( वाकाथान )कार्यक्रम मार्फत सोमबार सप्ताहको शुरुवात भएको छ ।  धरान ४ छाताचोकस्थित पुरानो अस्पतालबाट शुरु भएको वाकाथानमा २ सय बढीले सहभागीता जनाएका थिए ।
बालबालिका, युवा, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं समाजसेवीहरुले डेढ सय रुपैया तिरेर वाकाथानमा भाग लिएका थिए । सप्ताह एवं वाकाथानको उद्घाटन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले गरेका थिए । छाताचोकबाट शुरु भएको वाकाथान प्रतिष्ठानको दशहरा हलमा पुगेर टुंगिएको थियो । सबैले करिब ४ किलोमिटर दुरी हिडेर पुरा गरेका थिए । वाकाथान पुर्वाञ्चलमा पहिलो पटक आयोजना भएको हो ।
नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम ‘उज्यालो घर, उज्यालो अनुहार’ अभियानलाई सहयोग गर्न सप्ताहअन्र्तगत वाकाथान कार्यक्रम आयोजना गरिएको संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए । उज्यालो घर, उज्यालो अनुहार अभियानमार्फत डडेलधुरा जिल्लाको विकट गाउँमा रहेको सय घरमा प्रतिघर तीन वटा सौर्य टुकी निःशुल्क प्रदान गर्ने योजना छ । वाकाथानका सहभागीले तिरेको रकम त्यही अभियानलाई सहयोगार्थ पठाइनेछ । धरान जेसीजका अध्यक्ष प्रेमराज शाक्यले सहयोग रकम जुटाउनुसँगै स्वास्थ्यप्रति सर्वसाधारणमा चेतना जगाउनको लागि पनि वाकाथान आयोजना गरिएको बताए । ‘फण्ड रेइज त हुन्छ नै, हिड्दा स्वास्थ्यलाई पनि फाइदा पुग्छ भन्ने सन्देश पनि फैलाउने उद्देश्य हो’–उनले भने ।
सप्ताहव्यापी कार्यक्रमअन्र्तगत विभिन्न नौ वटा कार्यक्रम आयोजना गरिने धरान जेसीजले जनाएको छ । जसमा मंगलबार धरान १६ स्थित सियोन स्कुलमा निःशुल्क आँखा तथा शरीर स्वास्थ्य परीक्षण हुनेछ भने बुधबार जनता प्राविमा छात्रवृत्ति वितरण कार्यक्रम र रेडक्रस हलमा भजेन्द्र स्मृति वक्तृत्वकला प्रतियोगिता गरिने सप्ताहव्यापी कार्यक्रमकी मुल संयोजक रोजिना अधिकारीले जानकारी दिइन् । उनका अनुसार बिहिबार बीपी प्रतिष्ठानको सेमिनार हलमा चित्रकला प्रतियोगिता हुनेछ भने १ नम्बर मैदानमा मैत्रीपुर्ण फुटबल आयोजना हुनेछ । यस्तै, शुक्रबार एम्स एकेडेमीमा हेल्दी बेबी प्रतियोगिता, शनिबार एम्समै प्राथमिक उपचार तथा विज्ञान प्रविधि तालिम हुनेछ । सोमबार सिद्दीनेवा परिषदमा ४० औं बार्षिकोत्सव तथ जेसीज सप्ताह समापन समारोह हुने उनले बताइन् ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे