जनप्रतिनिधि नहुदा कर्मचारीलाई समस्या

धरान । निर्वाचित जनप्रतिनिधि नहुदा सेवाग्राहीहरुको नगरपालिकाप्रति नकरात्मक धारणा रहेको भन्दै जतिसक्दो चाडो स्थानीय निकायको निर्वाचन भए मात्रै समाधान हुने कर्मचारीहरुले औल्याएका छन् । धरान उपमहानगरपालिकाको आर्थिक बर्ष ०७१/०७२ को यथार्थ आय व्याय सार्वजनिक एवं बार्षिक प्रगति समिक्षा गोष्ठीमा प्रशासन शाखाले प्रमुख समस्याको रुपमा सेवाग्राही नगरपालिकाप्रति नकरात्मक धारणा रहेको उल्लेख गरेका थिए ।
वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहिन हुनु मुख्य कारक रहेको धारणा राखे । ‘केही सेवाग्राहीहरु गेटबाट भित्र पस्दा नै आज झगडा गर्नुपर्छ भन्ने मानसिकता बोकेर आउनुहुन्छ । यो सब स्थानीय निकायको चुनाव नभएर हो, स्थानीय निकायमा जनताको प्रतिनिधि आउने बित्तिकै यी समस्या समाधान हुनेछ’–प्रशासकीय अधिकृत खतिवडाले भने । उनका अनुसार ती नकरात्मक धारणा बोकेका सेवाग्राहीसँग लामो विवाद हुने र सम्झाई बुझाई गर्नमा नै धेरै समय खेर जाने गरेको पनि गुनासो पोखे । कतिपय त आवश्यक कागजपत्र नबोकी आएर पनि रिसाउदै झगडा गर्ने गरेको पनि उनले खुलाए ।
जनशक्ति धेरै अभाव हुदा हुदै पनि वलबुताले भ्याएसम्म छिटोछरितो नै सेवाग्राहीलाई सेवा दिन आफुहरुले कुनै कसुर बाँकी नराखेको पनि उनको जिकिर थियो । सरकार फेरिए पिच्छे स्थानीय विकास मन्त्रीले यथार्थ कुरा नबुझी स्थानीय निकायमा व्यापक भ्रष्टचार छ भन्ने अभिव्यक्ति दिने गरेकोले पनि आमजनतामा गलत सन्देश पुगेकोले समस्या सृर्जना भएको उनले बताए । ‘सरकार फेरिएपछि मन्त्री ज्युहरुले स्थानीय निकायमा व्यापक भ्रष्टचार छ भनिदिनुहुन्छ, त्यसले पनि जनतालाई स्थानीय निकायप्रति गलत धारणा बनाइदिन्छ र त्यसले समस्या उत्पन्न गराइरहन्छ’–उनले थपे ।
धरान उपमहानगरपालिकाले झण्डै तीन बर्षअघिदेखि जनसरोकार मञ्च नामको संस्थाबाट व्यापक विरोधको सामना गर्नुपरेको थियो । मञ्चले वडा वडामा समिति विस्तार गरेर त्यसमा आवद्ध नगरबासीलाई नगरपालिकाको विरोधमा उतार्ने गरेको थियो । एकीकृत सम्पत्ति कर, एकीकृत शहरी विकास आयोजनाअन्र्तगतको खानेपानी आयोजनालगायत मुद्दामा विरोधमा उत्रिएपनि नगरपालिका, राजनीतिक दल, अन्य सामाजिक संघसंस्था, नागरिक समाजलगायत एक ठाउँमा उभिए पछि मात्रै मञ्चको विरोधको गतिविधिहरु मत्थर हुन थालेको छ ।
प्रशासकीय अधिकृत खतिवडाले आर्थिक बर्ष ०७१/०७२ मा प्रशासन शाखा, कानुन उपशाखा, नगरप्रहरी उपशाखाबाट भएको कामहरु प्रस्तुत गरेका थिए । यसैगरि, शहरी विकास शाखा प्रमुख सुरज श्रेष्ठले नक्सापास तथा सिफारिशहरुको स्थिति, सार्वजनिक निर्माण तथा मर्मत योजना संख्याको स्थिति, भौतिक प्रगतिको स्थितिबारे जानकारी गराए ।
धरानको सेउती र सर्दु खोलासँगै नगरभित्रको खहरे खोलामा आउने बाढी र पहिरोबाट हुने क्षति मुख्य चुनौती एवं समस्या रहेको उनले खुलाए । सार्वजनिक जग्गा तथा खोलाको क्षेत्र अतिक्रमित हुनालो समस्या निम्तिएको उनको भनाई छ । ‘एउटा अध्ययनले मानव वस्ती ठुलो संख्यामा रहेकोले खहरले नै धेरै क्षति पुर्याउने देखिएको छ । खोला साँगुरिएको छ र बाढी आउदा धेरै क्षति हुनसक्छ’–उनले उपाय बताउदै भने–‘सुरक्षित स्थानान्तरण, नदी संरक्षणमा स्रोतको उचित व्यवस्थापन, नदी र बस्तीबीच बफर जोन, खहरे खोलाको किनारमा साइकल लेन, सेउतीको किनारमा वाइपास रोड र सर्दु खोला किनारमा शहरी वन वा शहरी खेती गर्न सकिन्छ ।’
यसैगरि, कार्यक्रममा आर्थिक प्रशासन प्रमुख भेषराज अधिकारीले आर्थिक, खानेपानी आयोजना कार्यान्वयन इकाईका व्यावस्थापक राजु पोख्रेलले आयोजनाबारे, कर प्रमुख खगेन्द्र खतिवडाले कर र समाज विकास शाखाका प्रमुख सुनिल नेपालले आफ्नो शाखाको विविध पक्षबारे जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित नगरबासी एवं सेवाग्राहीहरुले राखेको जिज्ञासाहरुलाई सम्बन्धित शाखा प्रमुखले जवाफसमेत दिएका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे