जिल्ला खेलकुद समितिको नवनियुक्त पदाधिकारीको पदस्थापन
धरान । राष्ट्रिय खेलकुद परिषदद्धारा नवनियुक्त सुनसरी जिल्ला खेलकुद विकास समितिको पदाधिकारीको आइतबार पदस्थापन गरिएको छ । धरान १०स्थित समितिको कार्यालय एवं कवर्डहलमा एक कार्यक्रम गरी नवनियुक्त पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।
परिषदले साउन १२ गते समितिको अध्यक्षतामा धनप्रसाद राईलाई नियुक्त गर्ने निर्णय गरेको थियो भने कोषाध्यक्षमा भेषराज कार्की र सदस्यहरुमा सन्दीप चौधरी, ममता राई, वसन्त कुँवर र तिला कुँवरलाई नियुक्त गरेको थियो । उपाध्यक्ष र अन्य ३ सदस्य भने नियुक्ती हुन बाकी नै छ । अध्यक्ष एमालेबाट नियुक्त गरिएका हुन् । राजनैतिक भागवण्डाबाट नियुक्ती हुने भएकोले उपाध्यक्ष र अन्य तीन सदस्य खाली राखिएको हो । समितिको कार्यकाल चार बर्षको रहनेछ ।
पदस्थापन समारोहलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष राईले राष्ट्रिय, अन्र्तराष्ट्रिय खेलाडी, प्रशिक्षक र विज्ञहरुको राय सुझाव लिएर आफ्नो कार्यकालको कार्ययोजना बनाएर अघि बढ्ने घोषणा गरे । पहिलो प्राथमिकतामा आगामी मंसिरमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारीमा जिल्लालाई सक्रिय बनाउनु रहेको उनले बताए । सातांैलाई सफल बनाउन र समापन समारोह धरानमा हुने निश्चित भइसकेकोले समापनलाई पनि भव्य बनाउनु आफ्नो पहिलो लक्ष्य हुने उनले बताए । ‘सातौंको लागि पूर्वाधार तयार गर्न राखेपसँग समन्वय र सल्लाह निरन्तर गर्नेछौं, जिल्लालाई खेलकुदमय बनाउन ठोस कार्ययोजना पनि तयार गरेर मात्रै अघि बढ्छौं’–उनले भने । विभिन्न भौतिक संरचनाहरु स्थानीयस्तरको सहभागीतामा मात्रै निर्माण अघि बढाउन परिषदसँग पहल गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

Comments
Post a Comment