मदन भण्डारी फाउण्डेशनले विवाद


धरान । एमाले अध्यक्ष केपी ओली गुटको संगठन(एनजिओ)कोरुपमा चिनिएको मदन भण्डारी फाउण्डेशन गठनसँगै सुनसरीमा विवाद पनि बढेको छ । सुनसरीमा ओली पक्षले फाउण्डेशन गठनलाई तीब्रता दिएसँगै पार्टीभित्रैबाट विरोध पनि भइरहेको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा फाउण्डेशन गठनको घोषणा भएको एकसाता नबित्दै १० जना सदस्यहरुले आफुहरु नरहेको बताएका छन् । फाउण्डेशनमा आफुहरु नरहेको घोषणा गर्नेहरु एमाले क्षेत्रीय कमिटि, नगर कमिटि र वडा कमिटिका पदाधिकारीहरु छन् । उनीहरुले बिहिबार साँझ एक विज्ञप्ती जारी गरेर फाउण्डेशनमा नाम राखेर गठन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त संस्थामा आफुहरु नरहेको प्रष्ट्याएका हुन् । संयुक्त विज्ञप्ती निकाल्नेहरुमा एमाले सुनसरी १ नम्बर क्षेत्रीय उपाध्यक्ष नरेश इवारम, क्षेत्रीय सदस्य राम सेवा, क्षेत्रीय सदस्य रत्नकुमारी थापा, नगर कमिटि सचिवालय सदस्य भद्रमान गुरुङ, धरान १२ वडा कमिटि अध्यक्ष टंक राई, पुर्वनगर कमिटि सदस्य रत्न कटवाल, धरान ३ वडा कमिटि अध्यक्ष आशाकुमार श्रेष्ठ, नगर कमिटि सदस्य तिलक राई(राजकुमार), गोविन्द महत र अलंकार काफ्ले रहेका छन् ।
एमालेका स्वर्गीय महासचिव मदन भण्डारीको नामसँग जोडेर मदन भण्डारी फाउण्डेशन गठन गरिएको र संस्थाको १ नम्बर क्षेत्रीय समितिमा आफुहरुको पनि नाम रहेकोप्रति विज्ञप्तीमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । समिति गठन प्रकृया त्रुटीपुर्ण रहेको, उक्त संस्था एमालेको कुनै पनि भातृ संगठन नभएको साथै सम्बन्धित क्षेत्र वा तहको कमिटिमा कुनै औपचारिक छलफल र गृहकार्यसमेत नभएकोले भन्दै उनीहरुले फाउण्डेशनमा आफुहरु नरहेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले १ नम्बर क्षेत्रीय सदस्य राम सेवाले आफुहरुलाई अतिथि भनेर कार्यक्रममा बोलाएर एकैचोटी नाम वाचन गरेर फाउण्डेशन गठन भएको घोषणा गर्दा आफु आश्चर्यमा परेको बताए । ‘अतिथि भनेर बोलाएकोले गएको थिए, तर ठाडो नाम वाचन गरे । त्यति बेलै विरोध गर्न खोजे पनि परिस्थित सहज थिएन’–असन्तुष्टी जनाउदै सेवाले भने–‘संरक्षक केपी ओली, अध्यक्ष विद्या भण्डारी रहेको संस्था हो । पार्टी गुट, उपगुट किन सृर्जना गर्ने ? त्यसैले सल्लाह गरेर नै सबैले विज्ञप्ती निकालेका हौं ।’
एमालेका एक स्थानीय नेताका अनुसार अध्यक्ष ओली गुटले आफ्नो वलियो उपस्थिति बनाउन फाउण्डेशनको नाम प्रयोग गरेर पार्टीभित्रै गुटबन्दी सृर्जना गरिरहेकोले नेता, कार्यकर्ताहरु सबै असन्तुष्ट छन् । फाउण्डेशन गठनबारे केन्द्र तहमा नै ओली गुटले पार्टीको समानान्तर कमिटि गठन गरेर गुटबन्दी गरेको भन्दै आलोचना पनि भइरहेको छ । ‘फाउण्डेशन पार्टीको कुनै निकाय वा संगठन हो भने जिल्ला, क्षेत्रीय समिति गठन हुदा पार्टी कमिटि र नेताहरुसँग सर सल्लाह, छलफल हुनुपर्ने हो कि होइन ? कुनै सल्लाह बिना नै ओली गुटका मान्छे भेला हुदै पार्टीको समानान्तर कमिटि जस्तो फाउण्डेशन गठन गर्दै हिड्ने ?’–नाम नखुलाउन आग्रह गर्दै ती नेताले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे