धरानको खानेपानी आयोजनाको निर्माण कार्य शुरु, २ बर्षभित्र पानी वितरण हुने


धरान । आगामी दुई बर्षभित्र उपमहानगरबासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित धरानमा वृहत खानेपानी आयोजनाको निर्माण कार्य शुरु भएको छ । निर्माण ठेक्का सम्झौता भएको चार महिना पछि ठेकेदार कम्पनी तियाञ्जिन तुदी जेभीले शुक्रबारदेखि निर्माण कार्य प्रारम्भ गरेको हो । कम्पनीले शुक्रबार धरान १७ स्थित उदय सामुदायिक वन क्षेत्रको कुम्भीआहाल भन्ने ठाउँमा भुमिगत स्रोतको ‘प्रोडक्सन ड्रिल’ गर्दै निर्माण कार्य थालेको हो ।
आयोजनाको कन्सल्ट्याण्टसँग मिलेर निर्माण कम्पनीले जुलाई १५ देखि नै संयुक्तरुपमा सर्वेको काम भने शुरु गरिसकेको थियो । गत चैत ११ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले अबको २७० दिन अर्थात १५ जुलाई २०१७ भित्र सम्पुर्ण निर्माण कार्य सकेर धरानबासीलाई खानेपानी वितरण शुरु गरिसक्नुपर्नेछ । खानेपानी आयोजना एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालन भइरहेको एकीकृत सहरी विकास आयोजनाअन्र्तगतको हो ।
‘प्रोडक्सन ड्रिल’ शुरु गर्नुअघि शुक्रबार बिहान आयोजनाको विरोध गरिरहेको संघर्ष समितिसँग भद्र सहमति भएपनि मात्रै निर्माण कार्य थालिएको हो । यसअघि भएको एघार बुँदे सहमतिको बुँदा ७ मा अनुगमन समिति नबनेसम्म निर्माण नगर्ने उल्लेख थियो । एक साताभित्र राजनीतिक दल, संघर्ष समितिसँग उपमहानगरपालिकाले समन्वय गरेर अनुगमन समिति गठन गर्ने भद्र सहमति भएपछि निर्माण कार्य थालनी गर्न सम्भव भएको हो । निर्माण कम्पनीका प्रतिनिधि निर्माण गोउलीले धरानबासीको साथ, सहयोग भएमा तोकिएको समयभित्रै खानेपानी वितरण शुरु गर्ने दृढता व्यक्त गरे । ‘धरानबासीको साथ, सहयोग चाहिन्छ । पाइप विछ्याउन, भौतिक संरचना बनाउन कतैबाट बाधा विरोध भएन भने १५ जुलाई २०१७ देखि नै पानी घर घरमा पुर्याउछौं’–उनले भने ।
कुम्भीआहाल र कुमारखत सामुदायिक वन क्षेत्रमा यसअघि पनि टेष्ट ड्रिलिङ सफल भइसकेको छ । कुम्भीआहाल क्षेत्रको भुमिगत स्रोतको पानीलाई धरान ११ र १७ वडाको निम्ति वितरण गरिनेछ । निर्माण कम्पनीले कुमारखत र हाँसपोशा वन क्षेत्रमा थप ४ वटा प्रोडक्सन ड्रिल गर्नेछ । ‘२ सय ७० दिनमा टंकी, पाइपलाइन, रिजर्ब वेयर, ट्रिटमेन्ट प्लान्टलगायत सबै निर्माणको काम सक्नुपर्नेछ, र ९ महिनासम्म कम्पनी आफैले सञ्चालन गरेर पनि देखाउनुपर्नेछ’–कन्सल्ट्याण्ट बिडिएका निर्देशक एवं वाटर सप्लाई इञ्जिनियर अनिल नेपालले भने–‘उहाँहरुको १४ दिनको कामको प्रगति हेर्दा तोकिएको समयमै सबै काम सकिन्छ भन्ने आशा छ ।’

आयोजनाका अनुसार धरानलाई ५ क्षेत्रमा विभाजन गरेर रिजर्ब वेयर राखिनेछ र त्यहीबाट त्यस क्षेत्रमा खानेपानी वितरण गर्ने सिस्टम(प्रणाली) हुनेछ । जसले गर्दा कुनै एक ठाउँको सिस्टममा खराबी आउदा विगतमा जस्तो पुरै विरतण प्रणालीमा अवरोध पुग्ने छैन । आयोजना कार्यान्वयन इकाईका व्यवस्थापक राजु पोख्रेलका अनुसार धरान १७ रेल्वे, धरान १३ फुस्रे, हालको खानेपानी संस्थानको कार्यालयमा एउटा एउटा रिजर्ब वेयर रहनेछ भने धरान १४ विजयपुरमा २ वटा रहनेछ । मापदण्डअनुसार पानी वितरण गर्न फुस्रेमा एउटा फिल्टर पनि रहनेछ । आयोजनाको कुल लागत खर्च १ अर्ब ४८ करोड ७३ लाख १७ हजार ५ सय ६५ रुपैया छ । एडिबिमार्फत नेपाल सरकारले ५० प्रतिशत अनुदान, नगरविकास कोषले ३५ प्रतिशत ऋण दिएको छ भने १५ प्रतिशत बजेट उपमहानगरपालिकाको सहभागीता हुनेछ । आयोजनाले सन् २०३१ सम्मको धरानको जनसंख्यालाई दैनिक १६ घण्टा पानी वितरण गर्ने लक्ष्य राखेको छ । प्रतिदिन एक करोड ९७ लाख लिटर पानी संकलन हुने अनुमन छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे