कोशीमा मनसुन र्याफ्टिङको मजा(फोटोफिचर)
मनसुन सक्रिय छ । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । बेला बेला कोशीले आफ्नो रौद्ररुप यतिबेला नै देखाउने हो । कोशीले धेरैलाई उठिबास बनाएको छ । धेरैको ज्यान लिएको छ । हत्तपत्त कोही पनि मनसुनको बेला कोशीसँग नजिकिन चाहदैनन् । प्रकृतिभन्दा वलियो मानिस हुनै सक्दैन ।
मानिसलाई जे नगर्नु भनेको हुन्छ, उसले त्यही गर्नुपर्छ । शनिबार एक्स्ट्रीम धरानको मिटिङमा कोशीमा र्याफ्टिङ जाने कुराले शुरुमा त झसङ्ग भए । यस्तो बर्खाको बेला पनि र्याफ्टिङ ! त्यो पनि सप्तकोशीमा ! र, पनि सोमबार(साउन ११ गते) चतराघाटदेखि र्याफ्टिङ जाने निर्णय गरियो ।

एक्स्ट्रिम धरान, साहसिक पर्यटनसम्बद्ध संस्थाका अगुवाहरु मिलेर गठन गरेका हुन् । र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, धराने ट्रेकर, एङलिङ, रोयल इष्टर्न इन्फिल्डर्स(बुलेट राइडर), मोडिफिकेशन धरान, गल्फलगायत झण्डै दर्जन संस्था छन् । एक्स्ट्रीम र प्रालिको सहकार्यमा कोशीमा पहिलो पटक मनसुन र्याफ्टिङ हुदैथियो । यसलाई ‘हाई वाटर’ र्याफ्टिङ वा अफ सिजन र्याफ्टिङ पनि भनिदो रहेछ । बर्खा(असार) लागेपछि तमोरमा र्याफ्टिङ बन्द हुन्छ । त्यसको विकल्पमा कोशीको तल्लो तटिय क्षेत्रमा र्यापिड नभएकोले मनसुनमा पनि र्याफ्टिङ गराउन सकिन्छ कि ! परीक्षण हुन बाँकी थियो ।
धरानबाट बिहानै ५ बजे हिड्ने भनेपनि तीन घण्टा ढिलो भयो । चतराघाटमा नास्ता खाएर वोटमा चढ्दा घडीको सुईले करिब एघार बजाइसकेको थियो । हेल्मेट, लाइफ ज्याकेट लगाएर पाइडल हातमा लिएपछि गाइड साइलाले ब्रिफिङ गरे । तीन जना गाइड बाहेक १५ जना टोली थियौं । दुईटा वोटमा बाडियौं । एउटामा साइला लिडर भए । अर्कोमा हामीलाई सेतु अर्थात जीवन सिलवालले गाइड गर्ने भए । सेतुसँग विगत १५ बषको अनुभव छ । तर, मनसुनको हाई वाटर र्याफ्टिङ सबैको लागि पहिलो अनुभव थियो ।
कोशी निक्कै उर्लिएको छ । सधै सङलो वहने कोशीको रुप फेरिएर धमिलो छ । तरपनि दुवै किनारको हरियालीले मनलाई हरियै बनाइरह्यो । कोशी जति उर्लिन्छ, छालमाथि वोट पनि उसैगरि मच्चिएर अघि बढ्दा रोमाञ्चित हुन थाल्यो । केही समयअघिको डर एक्कासी कता हरायो । तमोरमा जस्तो ठुला र्यापिड भने कतै देखिएन । धमिलो पानी नै सही, साथीहरुले मन थाम्नै सकेनन् । दुवै वोटबाट फुत्तफुत्त फाल हानेर पौडीन थाले । लाइफ ज्याकेट छदैछ, के को डर । घरि घरि गाइड सेतुले नदीको बीच भागतिर नजान पनि सुझाइरहे । फोटोे मात्रै खिचेर मन अडिएन । पौडिन आउदैन, र पनि कोशीमा फालहाने । लाइफ ज्याकेटको मद्दतले पौडिने प्रयत्न गरे ।
कोशीको भंगालो फाटेर बीच बीचमा धेरै वटा टापु बनाएको सुनेको छु । कोशीले बनाएको ती टापुहरु कस्ता होलान् ? जिज्ञासा थियो । ती मध्ये श्रीलंका टापुमा किंवदन्ती झै लाग्छ । कोशीको बीचमा त्यहाँका मानिसहरु कसरी बसेका होलान् ? धेरै अघिदेखिको इच्छा भएपनि पुग्न पाएको छैन । मनसुन र्याफ्टिङले ती टापुहरुलाई नजिकबाट नियाल्ने मौका मिल्यो । तर, कुन टापुको नाम के हो ? पत्तो भएन । श्रीलंका टापु कतिबेला पार भयो त्यो पनि सुइको नै पाएनौं । कोशीको रुप र यसले मच्चाएको वितण्डालाई यति नजिकबाट पहिलो पटक हेर्दै थिए । कटान रोक्न ठाउँ ठाउँमा तटबन्ध छ । र पनि, मानिसलाई अझै त्रास छ । तटबन्ध माथिबाट कोशीलाई नियालीरहेकाहरु थुप्रै थिए । किनारमा काठको ठुटा गाडेर तारले बारेको थियो, त्यहाँ झास,ठुटाहरु अड्किएर कटान रोक्छ भनेर हुनुपर्छ । केटाकेटीहरु विना डर कोशीमा फालहान्दै पौडिएको दृष्य रमाइलो थियो । कोशीले बगाउदै ल्याएको रुखका ठुटा, दाउरा संकलन गर्दै गरेको, माछा मार्दै गरेको दृष्य पनि शहरीयाको लागि त नौलौ नै हो । एक ठाउँ कोशी बीचको टापुमा रोकियौं । साइक्लिष्ट सन्तोष राई हिलोमा लडिबडि गर्न थाले । ‘विदेशीहरु यसैको लागि खर्च गर्छन्, हामीले त सित्तैमा पो पायौं । हेल्थको लागि धेरै राम्रो हो’–उनले यसो भनिरहदा हामी चै रमाइलो मान्दै हास्यौं । फोटो खिच्यौं ।
झण्डै तीन घण्टाको यात्रापछि प्रकाशपुरस्थित कोशी किनारमा रोकियौं । गाइड सेतुले बनाएको स्वादिलो खाना, त्यही खायौं । हामी रोकिएको ठाउँदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष शुरु हुने रहेछ । हामी त आरक्ष बीचको ‘वाइल्ड लाइफ’ नियाल्दै कोशी ब्यारेज पुग्ने लक्ष्य लिएका थियौं । त्यसैले बीचमा कतै रोकिएर अलमल नगरेको । आरक्ष खासगरी चराचुरुङ्गी र जंगली भैसी अर्नाको बासस्थान हो । यहाँ गोही, हात्ति र डल्फिनसमेत पाइन्छ । तर, आरक्षभित्र अनुमति विना जान नपाइने । नेपालीले प्रतिव्यक्ति २ सय तिरेपछि बोटिङ गर्दै जान पाइने । तर, ४ बजे आरक्षको क्षेत्र पार गरिसक्नुपर्ने सर्त आयो । घडिले दुई बजाइसकेको थियो । ब्यारेज पुग्न अझै १८ किलोमिटर बाँकी थियो । पार गर्न सकिदैन भन्ने निष्कर्षमा पुग्यौं । मनसुनको र्याफ्टिङ त्यही अन्त्य गर्ने निर्णय गर्यौं, अर्कोपटक ब्यारेजसम्मै पुग्ने वाचाको साथ ।
मनसुनसँगै गर्मी पनि असाध्यै छ । तराई र भारतबाट यो बेला धरान हुदै भेडेटारसम्म चिसोमा रमाउन धेरै पुग्छन् । ती पर्यटकलाई र्याफ्टिङमा आकर्षित गर्न सके बसाई लम्बिनेछ । हिउदमा तमोरको जस्तो खतरानाक र्यापिड पनि छैन । त्यसैले १० बर्ष उमेरकादेखि ६० बर्षका वृद्धवृद्धासम्मले पनि हाई वाटर र्याफ्टिङको मजा लिनसक्ने गाइड सेतुले बताए । एक जनाले दिनको २ हजार ५ सय तिर्नु महंगो पनि छैन । प्रालिले चतराघाटसम्म गाडीमा पुर्याउछ । मिठो खाना खुवाउछ, र गाडीमा नै धरानसम्म ल्याउछ । दुई दिन एक रातको प्याकेजमा आरक्षको रिसोर्टमा वाइल्ड लाइफसँग नजिक भएर रात बिताउन सकिने प्रालिका सञ्चालक मदन ढकालले बताए ।
..................................................................................
मदन ढकाल, प्रोपाइटर तमोर रिभर एड्भेन्चर प्रालि

............................................
जीवन सिलवाल‘सेतु’, गाइइ

...................................................
लेखमणी जिमी, अध्यक्ष एक्स्ट्रीम धरान

Comments
Post a Comment